सामाजिक परिवेशको सटीक चित्रण (कृति समीक्षा)

अन‌ि यो पनि

नेपाली उपन्यासको फाँटमा रुकु कार्की देखा परेकी छिन् । विसङ्गत जीवन नामको औपन्यासिक कृति प्रकाशित गरेकी उनको यसअघि दसवटा कृतिहरु प्रकाशित भएको देखिन्छ । रुकु कविता, बालकथा, कथा, संस्मरण र नियात्रा विधामा समेत रूचि राख्ने स्रष्टा हुन् ।

उपन्यास लेखन समकालीन नेपाली साहित्यको लोकप्रिय विधा बनेको छ । धेरैले पढ्न रूचाउछन् उपन्यास । धेरैले पढ्न रूचाउने विधा भएकाले केही वर्षयता थुप्रै औपन्यासिक कृतिहरु प्रकाशित भएका छन् । साहित्यको बजार नै उपन्यासले तताएको छ भन्दा पनि अत्युक्ति नहोला । यसो भन्नुको आशय यो हैन कि अन्य विधाले हामीलाई तताएका छैनन् । लेखकहरु उपन्यास लेख्न रूचाएका छन् । २०७० साल वैशाख महिनामा रुकु कार्की विसङ्गत जीवन नामक उपन्यास निकाल्न सफल भएकी छन् ।

प्रस्तुत उपन्यासमा मुख्यरुपमा सामाजिक यथार्थलाई कथानकको आधारभूमि बनाएको भए पनि यसमा विशेषगरी संवेदना, नारी जीवनका जटिलता, नारीहरुले सहँदै आएका उत्पीडन र जीवन भोगाइका क्रममा उनीहरुले गरेका कठोर सङ्घर्षलाई केन्द्र बनाएर लेखिएको छ । यस उपन्यासभित्र २४ वटा परिच्छेद राखिएका छन् । २०५९ देखि साहित्य सृजनामा लागेकी रुकु कार्कीले फुटकररुपमा अन्य विधामा समेत कलम चलाए पनि उनको पृथक् स्थापना उपन्यासकारको रुपमा नै रहेको देखिन्छ । २०६३ मा मधुरिमा नामक उपन्यास प्रकाशित गरेर यस क्षेत्रमा उपस्थित भएको रुकुको दोस्रो उपन्यास जीवनज्योति (२०६५) हो र यी दुवै उपन्यासहरु सामाजिक यथार्थकै धरातलमा रहेर लेखिएका छन् भने विसङ्गत जीवन नामको तेस्रो उपन्यास पनि सामाजिक यथार्थको धरातलमा रहेर लेखिएको देखिन्छ ।

प्रस्तुत उपन्यास सामाजिक यथार्थमा आधारित उपन्यास हो । उनी यथार्थको सूक्ष्म द्रष्टाका रुपमा उपस्थित भएकी छन् । चौबीस परिच्छेदको बाह्य संरचनामा आबद्ध यो उपन्यास नेपालको तराईतिरको जीवन र समाजको यथार्थ प्रतिबिम्ब हो र यस अर्थमा यो औपन्यासिक कृति आञ्चलिक उपन्यासको रुपमा पनि मूल्याङ्कित हुन्छ ।

परिच्छेद एकमा गजेन्द्रका बूढाबूढीलाई श्रीरामका बूढाबूढीले जिम्दार बाजे र जिम्दार्नी बज्यै भन्ने गरेका थिए । घर एकै ठाउँमा भएकाले उनीहरुको मिल्ती थियो । श्रीराम र गजेन्द्रको उमेर पचास–बाउन्नको थियो भने श्रीमतीहरुको उमेर पनि खासै कम थिएन भनिएको छ ।
परिच्छेद दुईमा शान्त वातावरणमा सलल्ल बगिरहेको थियो कोसी । माझीहरु जालैजाल फिँजाएर नदीछेउमा फाल्थे । प्रकृतिको यो अनुपम सौन्दर्यमा स्वेच्छाले गाई, भैँसी चरिरहन्थे । त्यहाँका वृक्ष, लता, कोसीको कलकल ध्वनि र पशुपक्षी, गोठाला, घाँसे सबैसित बखतबहादुरको परिचय भइसकेको थियो भनिएको छ ।

परिच्छेद सातमा गजेन्द्रका बूढाबूढी विवाह गर्न छोरालाई सधैँ कर लगाइरहन्थे । आमाका सपना पनि कम्ती थिएनन् । राम्री र शिल–स्वभाव भएकी कुलघरानाकी बुहारी भिœयाएर बुढेसकालमा आनन्दका साथ नातिनातिनासँग रमाई दिन बिताउने उनको चाहना थियो । दीपेन्द्रलाई भने विवाह गर्न कुुनै हतार थिएन भनिएको छ ।

उपन्यासकार रुकु कार्कीले तराईदेखि काठमाडौँसम्मको परिवेशलाई समेटेर यथार्थवादी उपन्यासका रुपमा सृजना गरेको विसङ्गत जीवन उपन्यासको शीर्षकअनुसार नै सार्थक देखिन्छ । यशोदालाई नियतिले नै अनेकौँ ठक्कर खुवाउँदै समाजसेवीका रुपमा उभ्याएको छ भने दीपेन्द्र पनि नियतिकै सिकार बनेर अन्त्यमा पश्चात्तापमा पिल्सिएको छ ।

आरती पनि नियतिकै वरिपरि घुमेकी नारी चरित्र हो । यस उपन्यासमा आएका कुनै पनि पात्रको जीवन सङ्गतिपूर्ण छैन र विसङ्गतिले मात्र भरिएको छ । यस उपन्यासको नायक दीपेन्द्र हो । नायक दीपेन्द्रमा नायकत्वभन्दा खलनायकत्वमा लक्षणहरु बढी देखिन्छन् । तापनि, अन्त्यमा यसले दुष्कर्म र अनाचारको सजाय पाएको अनि त्यो सजाय पनि नियति र प्रकृतिबाट पाएकाले दुष्कर्म गर्नेहरुलाई दैवले पनि सजाय दिन्छ भन्ने कुराको आदर्श सन्देश यस उपन्यासले छोडेको छ र उपन्यास आदर्शपरक पनि हुन पुगेको देखिन्छ ।

उपन्यासको क्षेत्रमा रुकुले आफ्नो साहित्यिक र सामाजिक चेतनालाई प्रभावकारीरुपमा प्रस्तुत गरेकी छिन् । आफ्नो जीवनको भोगाइ, अनुभूति, आफू बाँचेको समाजको यथार्थ र आफूले व्यवहार गरेका मानिसका प्रवृत्तिहरुबाट प्राप्त ज्ञानलाई रुकुको रङमा घोलेर यस उपन्यासमा नयाँ रङको सिर्जना गरेकी छिन् ।

परिच्छेद तेह्रमा दीपेन्द्रले कुलतमा फसेर यशोदालाई दुव्र्यवहार र तिरस्कार गर्न थालेको कथावस्तु रहेको छ भने यशोदाको मनोद्वन्द्व र पुरूषको नीचता पनि यसमा चित्रण गरिएको छ । चौधौँ परिच्छेदमा यशोदाले आफ्नो अतीत र घरको पीडा पशुपति आश्रममा भेटिएकी पुरानी साथी आरतीलाई भनेर सुनाएको कथानक छ ।

एक्काइस परिच्छेदमा मानवी धेरैजसो कराइरहन्थिन् र सलीनियालाई छिनछिनमा चाहिँदो नचाहिँदो कचकच गर्थिन् । त्यस भेगमा उनी घरघरै चहारेर गफ गर्न सिपालु थिइन् भनिएको छ । परिच्छेद तेइसमा दीपेन्द्रका वकिलले उनलाई तारिखमा छाड्ने विचारले खण्डन गरे भने गाविस अध्यक्ष र सलीनिया पक्षका केही मधेसी गाउँलेले दीपेन्द्रलाई थुनामा राखेर मुद्दा चलाउनुपर्छ भनेका छन् ।

यस उपन्यासको अन्तिम परिच्छेद चौबीसमा वसन्त ऋतु सुरू भइसकेको थियो । बगैँचामा फूलैफूलले ढकमक्क सुवास छाएको थियो । सामुन्ने दीपेन्द्र सुतिरहेका थिए । उनी झल्याँस्स ब्युँझिए र हेरे, सलीनिया ओछ्यानमा थिइन । कोठामा मधुरो बत्ती पिलपिल बलिरहेको थियोे भनिएको छ ।

समग्रमा यो उपन्यास राम्रै छ । सबैभन्दा लेखकको मजबुत पक्ष भनेको एउटा विषयको घाँटी अँठ्याएपछि अन्त्यसम्म पनि घाँटी नछोडी उपन्यासलाई टुङ्ग्याउनु हो । यो विशेषता थोरैमात्र साहित्यकारमा पाइन्छ । प्रायः साहित्यकारहरुले कथावस्तुलाई घुमाएर वा सान्दर्भिकभन्दा भिन्न कुरा लेखेर पुस्तकको पृष्ठ बढाउनमा केन्द्रित भएका हुन्छन् । उपन्यासका शब्दहरु सरल, सहज र अत्यन्त व्यावहारिक भएकोले जुनसुकै हैसियतका पाठकले पनि बुझ्न सक्ने र पचाउन सक्ने खालका छन् । उपन्यासका सकारात्मक पात्रहरु जो उपन्यासमा समेटिएका छन् ती सुरूदेखि अन्तसम्म कौतुहलता जन्माउन सफलमात्र नभएर एउटा पात्रले अर्को पात्रसामु सानो भएकाले मर्यादाका सुकुमार शब्दहरु पस्केर आदरपूर्वक सम्मान दर्शाउनु अर्को सफल पक्ष मान्न सकिन्छ । भाषा सरल र स्पष्टताको साथमा रोचक शैलीले यो उपन्यास निकै राम्रो मान्नैपर्छ ।

यसका पात्रहरु सबै नेपाली जनजीवनका वास्तविक पात्रहरुका रुपमा उभिन सफल भएका छन् । उपन्यासका केही कमजोरीहरु हटाएर भन्नुपर्दा विसङ्गत जीवन समाजका अन्तरसम्बन्धहरु र संरचनाहरुको सटीक प्रतिबिम्बन गर्न सफल छ । आधुनिक नेपाली उपन्यासको आरम्भ नै रूद्रराज पाण्डेको रुपमती उपन्यासबाट भएको हो । रुपमतीले अघि सारेको आदर्श उन्मुख यथार्थवादी औपन्यासिक चिन्तन–धारालाई विसङ्गत जीवनले प्रस्टसँग पछ्याएको अनुभूत हुन्छ । अन्त्यमा, उपन्यासकार रुकु कार्कीको कलमबाट नेपाली समाजका अन्य अँध्यारा पक्षको अनुशीलन गर्दै नयाँ कृतिहरु जन्मन सकोस् भन्ने अपेक्षा छ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया