रहर (कथा)

अन‌ि यो पनि

सुब्बिनीले विवाहको पाँचौँ वर्ष पुग्दा नपुग्दै भटाभट तीनवटी छोरी बाजेबज्यैका पोल्टामा हालिदिएकी त हुन् नि, तर स्वर्गको ढोका खोल्न नातिकै मुख देख्नुपर्छ भनेर करकर गर्दागर्दै, यो अलच्छिनीले हुन्न बाबु अर्को बिहे गर भनेर छोरालाई सम्झाउँदासम्झाउँदै, जोइटिङ्ग्रे मोरोको हुती भए पो भनेर धारे हात लगाउँदालगाउँदै दुवै बूढाबूढी परलोक भएको पनि गोडा पाँचेक वर्ष पूरा भएपछि सुब्बिनी फेरि एम्बुलेन्स चढेर क्वाँक्वाँ गर्दै अस्पताल गइन् । गर्भमै कुपोषण भएर जन्मेको भ्रूणको अस्पतालमै न्वारान गराएर उनी ठमठमती हिँडेर घर आउँदा छिमेकीले सोधे– बच्चाको नाम के राख्यौ नि ? ‘जानकी’, उनी छोटो उत्तर दिएर भित्र पसिन् ।

सुब्बिनीका छोरीहरुले काकाघरको भाइलाई तिहारको टीका लगाउँदै पछिपछि तीजमा भाइले कोकसलाई लिन कहिले कहिले कहाँ कहाँ जाला, दरमा के–के ख्वाउला भनेर औँला भाँच्दाभाँच्दै उनीहरुले पाँच, दस, एघार, बाह्र पढिसकेका थिए ।

गएको भदौमा चारवटी दिदीबहिनी मिलेर भाइको जन्म दिवस मनाउन भव्य तयारी गरे । झालर बत्ती, सोली (टोपी), झिर्झिरे, केक पाउरोटी सबैको बन्दोबस्त अघिल्लो दिन नै भइसकेको थियो ।

त्यसदिन बिहानै भाइलाई अंकमाल गरेर शुभकामना दिन, नुहाइधुवाइ गराउन दिदीहरु कुलेलम ठोकेर काकाघर भाइलाई छोप्न बिस्तरामै

पुगे । भाइको बिस्तरा खाली थियो । दिदीहरुले यताउता खोजे, देखेनन् ।

‘बिहान बिहानै मेरो कोठामा के–के छामछाम छुमछुम गर्दैछौ, ए छँड़ुली हो ?’ काकीले हेर्दै नहेरी हकारिन् ।
‘आमा, भाइ खोइ त ?’ ठूलीले सोधी ।

भाइ अघिल्लै साँझ उसको मामाघर गएको रहेछ, जन्मदिन मनाउन ।

‘आएर लगी उसैकी माइजूले, उतै मनाउने रे त्यो के जाति, पर्दैन तिमेरूले बिनासित्ति खर्च गर्न, गर्छन् उसैका मावलीले’, केटीहरु एकै सासमा घर पुग्दासम्म काकीआमाको भजन सकिएको थिएन । दिदीबहिनी दिनभरि रोएरै बसे, खाना पनि खाएनन् ।

साँझ एक्कासि चोकको पसलेले ठूलो झिलझिले, पाकेटमा केक र पाउरोटी बोकेर आएपछि सुब्बिनीले पनि मन थाम्न सकिनन्, सुब्बा पनि खुब रोए । भाइको नामको केक र पाउरोटी रातेले ल्यापल्याप लुपलुप परून्जेल पनि सबै रूँदै थिए । सुब्बाको घरमा साँझ चुल्हो बलेन, बल्यो त केवल एकजोर बत्ती पूजा कोठामा भाइको नाममा दिदीहरुको आँसुले भिजाएर ।

मधुरो नीलो बत्ती भित्तामा बलिरहेको थियो । छोरीहरु पल्लो कोठामा स्वाँक्कसुँक्क गरिरहेका थिए । सुब्बिनीलाई निद्रा थिएन न त सुब्बा नै निदाउन सकेका थिए ।

‘हजुरले माग्दा मैले कहिल्यै नाइँनास्ती गरिनँ, आज म माग्छु हजुरले नाइँ नभन्नू’, सुब्बिनीको शिर सुब्बाको छातीमा अडिएको थियो । उनको बायाँ हात सुब्बाको दायाँ हत्केलामा थकाइ मारिरहेको थियो भने दायाँ हात आफ्ना खसमको केश सुमसुम्याउन व्यस्त थियो ।
‘बहुलाउन लागिस् कि क्या हो ? चालीस काटिस्, बिर्सिइस्’, सुब्बाले सम्झाउन खोजे ।

‘बहुलाएकी छैन र बिर्सेकी पनि छैन । छोरीहरु आज त जेनतेन सुत्लान्, तर यो दिन उनीहरुको जीवनमा पटकपटक आउँछ । बरू, हामीलाई यो मौका अर्कोपटक अर्को महिनाबाट नआउन पनि सक्छ । त्यसैले, हजुरले मेरो बिन्ती मान्नुस् । मैले आजसम्म हजुरले भनेको मानेँ, आज हजुरलाई मेरो एक बिन्ती छ, अनि म कहिल्यै केही माग्दिनँ । आज छोरीहरुको आँसुले मलाई जित्यो, हजुर मलाई जित्न दिनुस् ।’

सुत्नुअघि सुब्बाले तातो दूध पिए, सुब्बिनीले घटघट चिसो पानी पिइन् ।

जेठको अन्तिम साता कोरोना भाइरसको महामारीका बीच बडेमानको डोको अघिल्तिर बोकेर सुब्बिनी फेरि एकपटक एम्बुलेन्समा चढेर क्वाँक्वाँ गर्दै चौबीसकोठीतिर हुइँकिइन् । छोरीहरु घरमा बसेर आमालाई खाना र फेरफारका कपडाको चाँजोपाँजो मिलाउँदै थिए । पल्लो कोठाबाट सान्नानी दिदी दिदी ! भन्दै हातमा मोबाइल लिएर दगुर्दै दिदीहरु भएको ठाउँमा पुगेर हक्कानिँदै भनी, ‘आमाले…भ्… भ्….भ्….भ्… भाइ पाउनुभयो !’

कसैका कानले विश्वास गर्न मानेनन् । स्यानीले मोबाइल पल्टाई, भिडियो कल थियो । उता उनीहरुका सुब्बाबा आफ्नी सुब्बिनीको अर्धमृत शरीर सुमसुम्याई रहेका थिए । छेवैमा एउटा शिशु कपडामा लुटुपुटु भएर खेलिरहेको थियो । सुब्बाको सेटमा छोरीहरुको संयुक्त आवाज गुन्जियो, ‘बा, आमाले के पाउनुभयो ?’

‘भ्… भ्… भ्… भाइ’ उनी यत्ति भनेर भक्कानिँदै दृश्यबाट बिलाए ।

मोबाइल सुब्बिनीको चिउँडैनेर खस्यो । ‘खै खै, हेरौँ’ वार्डमा छोरीहरुको आवाज गुन्जियो ।

सुब्बा बाहिरिई सकेका थिए । सुब्बिनीका आँखाले एक हलको मेलो सिंच्ने अश्रुधारा बगाएर बगरझैँ ओभाना भए । यता, मोबाइलमा आवाज आइरहेको थियो, ‘खै न भाइलाई हेरौँ ।’

[email protected]

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया