देशको लोरी (आजको कविता)

अन‌ि यो पनि

जतिखेर
आस्थाको जीर्ण दरबारमा बसेर
अर्ती दिँदै श्री ६ राजाहरु
समृद्ध नेपाल र कोही पनि
भोको नहून् भन्ने सारांशका
गुलिया कविता लेखिरहेका थिए
ठीक त्यतिखेरै
देशभित्र
सुत्केरी भोका भएका
दीनहीन र अकिञ्चनहरुले
दालमोठ र चिउरामा रात काटेका
पानीमात्रै पिएर सास अड्याएका
अनेकन खबरहरु
पत्रिकामा आइरहेका थिए ।

नीरोको देशका
हामी नागरिक
पसिना पिउँछौँ
रगतले नुहाउँछौँ
तर पनि दुई छाक खान पुग्दैन यहाँ
हामी मजदुर
सहरमा गाँस र बास नपाएपछि
घर जान प्रचण्ड घाममा
हज्जारौँ किलोमिटरको पैदलयात्रा गर्छौं
त्यसैबेला सहरका प्रिय नगरपिताहरु
जो कथित हाम्रै वर्गका हुन्
भनिन्छन् भन्न त
सुरसाले मुख बाएका बेला
देश र विश्वभरि नै
अनिकाल छाएका बेला
हामीमा जनता देख्दैनन्
मतदातामात्रै देख्छन्,
हामीले राहत पाउन पनि
अब सहरका मतदाता हुनैपर्ने भयो
राजधानी सिल भएको
नाटक गर्छ ‘विदूषक’ सरकार
तर सदस्य मन्त्री नै
द्विअर्थी संवाद बोल्छन्
एउटा भन्छन्–
उपत्यका सिल गर्नुपर्छ अब
अर्का खोक्छन्–
अब लकडाउन नखोले विद्रोह हुन्छ
कसका कुरा पत्याऊँ
कसका भनाइ विश्वास गरुँ ।

उहिल्यै उहिल्यै हाम्रो देशको
सिमाना मिचिन्थ्यो
तर अहिले देशको ठूलो भूभाग नै
हड्पिइएको छ छिमेकीबाट
१८ वर्षदेखि बनाएको बाटो
उद्घाटन हुँदामात्रै थाहा पाउने
मुख्य धारका भनिएका
टिभी र अखबारहरु
राष्ट्रको तलबभत्ता डकार्ने तमाम
‘झोले हनुमान’ जासुसहरु
यतिका वर्ष कहाँ निदाए ?
यतिका वर्ष किन चुप लागे ?

दुवै छिमेकी अब शत्रु भएका छन्
दुवैतिरबाट चेपेका छन्
सङ्कल्प गरेर
हामीले फेरि अर्कोपल्ट
हामीभित्रैबाट
एउटा इमानदार जङ्गबहादुर
जन्माउनु परेको छ
जसले कम्तीमा
आमाको इज्जत बचाओस्
र ससाना नानीहरुलाई
निर्बाध लोरी सुनाउने
वातावरण बनाओस् ।

वर्तमानमा शासनको लगाम लिएका
आठपासे र दसपासे हुँडारहरुले
विदेशबाट स्वदेश फिर्ती हुन पनि दिएनन्
हाम्रा कर्मशील दाजुभाइहरुलाई
रगत–पसिनासँग साटेको रेमिट्यान्सबाट
महँगा–महँगा गाडी चढ्ने
नेता हुने
देश लुट्ने
आज विदेशका राजदूतहरु
मरे बाँचेको कुनै खुट खबर छैन
लाखौँलाख जनताहरु
स्वदेश फर्कन चाहन्छन्
हज्जारौँहजार जनताहरु
दशगजामा लाइन लागेका छन्
घरको सँघार टेक्न
पैसा तिरेर
महाकाली तरिरहेछन् बबुराहरु
गरिब दाचुर्ली र बेतडेलीहरु बिचरा !
तर सरकारसँग
न योजना छ
न त चाहना छ
थुरथुर काँप्दै
पाइन्ट र सुरूवालमा सुसु गरिरहेछन्
घर र विदेशमन्त्रीहरु !
कि जनताहरु देश फिरेपछि
हाम्रो कुर्सी रहँदैन भनेर
डरले आँधीको पिँडालु भएका छन् ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया