घाँसे मैदान व्यवस्थापन गर्न हात्तीको प्रयोग

अन‌ि यो पनि

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनका लागि नयाँ प्रयोग सुरू गरेको छ । मेसिनको प्रयोग गरेर घाँसे मैदान विस्तार र व्यवस्थापनको काम सुरू गर्दै आएको निकुञ्जले यसवर्ष घाँसे मैदान व्यवस्थापनका लागि हात्तीको प्रयोग गरेको हो ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पुरानो पदमपुर क्षेत्रमा रहेको नरकट घारीमा हात्तीको प्रयोग गरेर घाँसे मैदान विस्तारको काम गरिएको हो । दैनिक २५ वटा हात्तीको प्रयोग गरी पाँच हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सौराहा सेक्टर प्रमुख गोपालबहादुर घिमिरेले जानकारी दिए ।

बाँस प्रजातिको नरकटलाई हात्तीको खुट्टाले कुल्चाएर तथा हरियो भाग हात्तीलाई खुवाएर घाँसे मैदान व्यवस्थापन गरिएको उनले बताए । वन्यजन्तुको बासस्थानको हिसाबले नरकट घारी उपयुक्त स्थान हो । सो क्षेत्र दलदल रहेकाले वन्यजन्तुलाई आवश्यक पर्ने खाना र पानीको स्रोत नरकट घारी भएकाले त्यस क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्दा उपयुक्त हुने देखिएको सहायक संरक्षण अधिकृत घिमिरेले बताए ।

हात्तीको प्रयोगले घाँसे मैदान व्यवस्थापनको काम कम खर्चिलो हुने भएकाले निकुञ्जले पहिलो चरणमा परीक्षणका लागि पाँच हेक्टर क्षेत्रमा गरिएको निकुञ्जले जनाएको छ । मेसिनको प्रयोग गर्दा जनशक्ति र इन्धनमा धेरै पैसा खर्च हुने सहायक संरक्षण अधिकृत घिमिरेले बताए ।

निकुञ्ज स्थापनाको इतिहासमै पहिलोपटक हात्तीको प्रयोग गरेर घाँसे मैदान व्यवस्थापनको काम गरेको भन्दै उनले अहिलेको प्रयास सफल भए त्यसलाई निरन्तरता दिने बताए । निकुञ्जले चालू आर्थिक वर्षमा घाँसे मैदान व्यवस्थापन र विस्तार तथा बासस्थान सुधारलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।

‘यसवर्ष परीक्षणका लागि हात्तीको प्रयोग गरिएको हो’, उनले भने, ‘प्रभावकारी ठहरिए आगामी वर्ष पनि निरन्तरता दिनेछौँ ।’ निकुञ्जले चालू आर्थिक वर्षमा ७०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान विस्तार र व्यवस्थापनको काम गरिरहेको छ । निकुञ्जले चालू आर्थिक वर्षमा ६०० हेक्टर घाँसे मैदान विस्तारको काम सुरू गरेको छ भने १०० हेक्टर साबिकको घाँसे मैदानलाई व्यवस्थापन गर्ने काम गरेको हो ।

अहिलेसम्म साबिकको १०० हेक्टर घाँसे मैदान व्यवस्थापन र ३०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान विस्तारको काम भएको सहायक संरक्षण अधिकृत घिमिरेले बताए । निकुञ्जका विभिन्न १८ वटा क्षेत्रमा भेल्दरका रुखहरु कटान गरी घाँसे मैदान विस्तारको काम गरिएको छ । निकुञ्ज स्थापनाकालमा २० हजार हेक्टर रहेको घाँसे मैदान घटेर अहिले १० हजार हेक्टरमा सीमित भएको छ, जसका कारण गैँडालगायतका वन्यजन्तुहरु आहारको खोजीमा भौँतारिनुपर्ने अवस्था आएको छ ।

घाँसे मैदानलाई पुरानै अवस्थामा फर्काउन निकुञ्जले पञ्चवर्षीय योजना बनाएर काम सुरू गरेको सहायक संरक्षण अधिकृत घिमिरेले बताए । निकुञ्जले पहिलोपटक घाँसे मैदान व्यवस्थापनका लागि निजी क्षेत्रको सहयोग लिएको छ ।

पर्यटकीय नगरी सौराहामा रहेका सामुदायिक वन, पर्यटन व्यवसायीसँग सम्बद्ध संघसंस्थाहरुले घाँसे मैदानको काम गरेका छन् । निजी क्षेत्रबाट चालू आर्थिक वर्षमा ९० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया