पत्रकारका लागि ‘कोरोना बिमा’

अन‌ि यो पनि

भरतपुर । केही दिनयता सरकारले लकडाउनलाई खुकुलो बनाए पनि कोरोना भाइरसको जोखिम भने कम भएको छैन । कोरोनाको जोखिममा रहनेहरुमध्ये स्वास्थ्यकर्मीपछि पत्रकार पनि अग्रपंक्तिमै पर्छन् । त्यसैले, चितवनका प्रायः सञ्चारमाध्यमहरुले आफ्ना कर्मचारीको सुरक्षाका लागि ‘कोरोना बिमा’ गरिदिएका छन् भने केहीले गर्न प्रक्रिया अगाडि बढाइरहेका छन् ।

क्रियाशील पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघले नै कोरोना भाइरसको जोखिमलाई कम गराउन र थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले सबै सञ्चारमाध्यमहरुलाई आफ्नो संस्थामा कार्यरत कर्मचारीको अनिवार्य कोरोना बिमा गराउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार केही सञ्चारमाध्यमले बिमा गराएका छन् भने केही प्रक्रियामा छन् ।

चितवन पोष्टलाई प्राप्त समाचारअनुसार पत्रकार महासंघ चितवन शाखाबाट मात्रै ६९ जनाको कोरोना बिमा भएको छ । अध्यक्ष राधेश्याम खतिवडाका अनुसार सञ्चारमाध्यमले नगरेका र केही छुटेका क्रियाशील पत्रकारहरुका लागि पत्रकार महासंघले नै बिमा गराइदिएको हो । ‘आफ्नै मिडिया हाउसबाट पनि नसमेटिएका तर क्रियाशील पत्रकारहरुका लागि हामीले महासंघबाटै बिमा गरिदिएका छौँ’, उनले भने, ‘छिटपुट भएकालाई फेरि गराउँछौँ ।’

महासंघको तथ्याङ्कअनुसार चितवनबाट २३ वटा एफएम रेडियो, पाँचवटा दैनिक पत्रिका, पाँचवटा टेलिभिजन, २४ वटा अनलाइन र १३ वटा साप्ताहिक पत्रिका प्रकाशन÷प्रसारण हुँदै आएको छ । ती सबै सञ्चारमाध्यममा कार्यरत क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको संख्या यकिन नभए पनि कम्तीमा ३५० जना रहेको महासंघको अनुमान छ ।

‘पत्रकार महासंघमा हाल २३६ जना साधारण सदस्य हुनुहुन्छ’, अध्यक्ष खतिवडाले भने, ‘नयाँ सदस्यताका लागि ७० वटा निवेदन प्राप्त भएका छन् ।’ तर, महासंघको सदस्यता प्राप्त गर्न महासंघले तोकेको मापदण्ड नपुगेका पत्रकार तथा सञ्चारकर्मीहरुको संख्या पनि धेरै नै रहेको उनको भनाइ छ ।

कोरोना बिमा गर्ने सञ्चारगृहहरु

चितवनबाट सञ्चालित सञ्चारगृहहरुमध्ये कालिका मिडियाबाट ३२, एटुजेड समाचार डटकमबाट ७, सफल खबर डटकमबाट ६, तामाङ पत्रकार संघ चितवनबाट ७, रेडियो भरतपुरबाट १० जना, रेडियो त्रिवेणीबाट ६ जनाको कोरोना बिमा भएको छ । पत्रकार महासंघको निर्देशनअनुसार चितवनमा सबैभन्दा पहिले कालिका मिडियाले कोरोना बिमा गरेको थियो । त्यसपछि अन्य मिडिया हाउसहरुले पनि बिमा गर्न थालेका हुन् ।

कुरिनटारमा रहेको इच्छाकामना एफएमले भने सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)सँग पाँच जना कर्मचारीको नाम सिफारिस गरेर पठाएको रेडियोले जनाएको छ । राष्ट्रिय दलित पत्रकार मञ्च चितवनले पनि बिमा प्रक्रिया बढाइरहेको मञ्चका अध्यक्ष अमिर रामदामले बताए । यस्तै, सिनर्जी एफएम प्रालिले पनि १० जनाको कोरोना बिमा गर्ने तयारी गरिरहेको एफएमका स्टेसन म्यानेजर रामकान्त पौडेलले जानकारी दिए ।

चितवन पोष्ट दैनिकबाट पनि छुटेका कर्मचारीहरुको बिमा प्रक्रियामा गइसकेको बताइएको छ । दैनिकका प्रबन्ध निर्देशक गोविन्द अर्यालका अनुसार समाचार कक्षमा कार्यरत पत्रकारहरुका लागि पत्रकार महासंघबाट बिमा भए पनि अन्य कर्मचारीलाई कार्यालयबाटै बिमा गर्न प्रक्रिया अगाडि बढाइएको हो । सौराहा अनलाइनका लागि पनि ६ जनाको नाम सिफारिसमा परेको अनलाइनका अध्यक्ष राजेन्द्र आचार्यले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया