लकडाउनमै विकास निर्माणका काम

अन‌ि यो पनि

खैरहनी । चितवनको खैरहनी नगरपालिकामा लकडाउनमै विकास निर्माणको काम भइरहेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरे पनि सो रोगबाट बच्न सुरक्षा अपनाउँदै विकास निर्माणको काम भइरहेको खैरहनीका मेयर लालमणि चौधरीले बताए ।

संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र नगरपालिका तथा वडागत योजनाहरुको काम भइरहेको मेयर चौधरीको भनाइ छ । तर कालोपत्रे निर्माणको काम भने सम्पन्न हुन नसक्ने उनले बताए ।

नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठका अनुसार नगरमा पूर्वाधार विकास निर्माण कार्य ४५२ वटा रहेको छ । जसमध्ये अधिकांश सम्पन्न हुने उनले बताए । शुक्रवारसम्म २१० वटा योजनाहरुको काम सम्पन्न भइसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । अन्य योजनाहरु भने सम्झौता भएर निर्माणका क्रममा रहेका छन् ।

खैरहनी वडा नम्वर ३ को वडा कार्यालय अगाडिको सडकमा ७५ लाख बराबरको आरसिसी ढलको काम भइरहेको छ । जसमा बागमती प्रदेश सरकारको ५० लाख र खैरहनी नगरपालिकाको २५ लाख रुपैयाँ समावेश छ । त्यस्तै नगरपालिका परिसरमा निर्माणाधीन सभाहलको काम पनि तीव्र भइरहेको छ ।

कुल ६७ लाख ९१ हजारको लागतमा सभाहल निर्माण भइरहेको हो । आगामी नगरसभा सोही हलमा आयोजना गर्ने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको नगरपालिकाकी अनुगमन समिति संयोजकसमेत रहेकी उपमेयर सुनिता थपलियाले बताइन् ।

त्यस्तै वडा नम्वर १ र ९ को वडा कार्यालय भवनको काम पनि तीव्र भइरहेको छ । खैरहनी ५ गौचरणमा मैदानमा पर्खाल लगाउने र फोहोर मैला व्यवस्थापनका लागि भवन निर्माणको काम पनि भइरहेको छ । संघीय सरकारको ४० लाख र नगरपालिकाको ३२ लाख ५३ हजार लगानी छ । जहाँ फोहोरको वर्गीकरण गरेर फोहोर व्यवस्थापनको काम हुनेछ ।

त्यस्तै खैरहनी ६ मा तरकारी तथा फलफूल संकलन तथा बिक्री केन्द्रको काम पनि भइरहेको नगरपालिकाले जनाएको छ । खैरहनी १० मा बूढीराप्ती खोलामा पुल निर्माण यसैवर्ष सम्पन्न भइसकेको छ भने खैरहनी ३ को पटिहानी पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नगरमा संचालित योजनाहरुको निर्माणसँगै अनुगमन पनि भइरहेको छ ।

नगरपालिका उपमेयर तथा अनुगमन समिति संयोजक सुनिता थपलियाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत पुरूषोतम शर्मा, पूर्वाधार विकास समिति संयोजक होमकुमार पुन, सदस्य टीकादत्त इटनीलगायत प्राविधिकको टोलीले निरन्तर रुपमा अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

निषेधाज्ञाको असर : चितवनका दुग्ध किसानलाई डेढ महिनामा ११ करोड ७ लाख घाटा

चितवन ११ असार । चितवनमा दोस्रो लहरको कोरोना भाइरसको जोखिमसँग गरिएको निषेधाज्ञाका कारण यहाँका किसानले ११ करोड भन्दा बढीको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया