संक्रमित राखिएको आइसोलेसन कक्षमा ‘न झूल छ, न पङ्खा’

अन‌ि यो पनि

भरतपुर । कोरोना संक्रमित पोजेटिभ भए पनि लक्षण नदेखिएकाहरुलाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । तिनै उपचाररत संक्रमितमध्येका एक हुन्, धादिङका २० वर्षीय युवा ।

जेठ २८ गते संक्रमण भएको पत्ता लागेपछि उनलाई रेडक्रसग्राममा बसिरहेको क्वारेन्टाइनबाट उठाएर कोरोना आइसोलेसनमा ल्याइयो ।

आफूमा संक्रमण भएको थाहा भएपछि थप उपचार र हेरचाहका लागि उनी कोरोना अस्पताल ल्याइएका थिए । तर, अस्पतालको व्यवस्थापन देखेर उनी तीनछक खाए ! चढ्दो गर्मीमा ठूलो भवनभित्र पङ्खाको सहाराबिना बस्नुपर्दाको पीडाले उनलाई थप चिन्तित बनायो । रोगको भन्दा अरु सुविधा अभावले तनाव दिएको उनको भनाइ छ ।

कोरोना विशेष अस्पतालमा पङ्खा र झूलजस्ता सामान्य वस्तुहरुको पनि अभाव देखेर उनी थप पीडित बने । उनले तत्कालै कालिका नगरपालिका–६ का वडा अध्यक्ष विनोद रेग्मीलाई फोन गरी गुनासो राखे ।

‘क्वारेन्टाइनजत्तिको पनि अस्पतालमा सेवासुविधा रहेनछ, म त आत्तिएँ भन्दै फोन आयो’, संक्रमितको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष रेग्मीले भने, ‘सामान्य पूर्वाधार पनि नभएको ठाउँमा केकसरी उपचार होला भनेर म आफैँ चिन्तित बनेँ ।’

संक्रमितको गुनासो आएपछि आफूले सिडियो, सहायक सिडिओ, जिल्ला समन्वय प्रमुखलाई जानकारी गराएको वडा अध्यक्ष रेग्मी बताउँछन् । सामान्य सुविधा पनि नभए आफूले वडाकै क्वारेन्टाइनमा ल्याएर राख्ने चेतावनी दिएको उनले बताए । आइसोलेसन वार्डमा बसेको २४ घन्टापछिमात्रै उनले जेठ २९ गते दिउँसो एउटा पङ्खा र झूल पाए । उनले त वडा अध्यक्षलाई गुनासो गरेपछि पाए, तर छेउमै बस्ने अर्का संक्रमित साथीको हालत फेरि उस्तै । भरतपुर–५ का ती संक्रमितलाई पनि झूल र पङ्खा छैन ।

‘गर्मी भएर पसिना बढी आउन थालेपछि शीतलता खोज्दै म भएको ठाउँमा उनी आउँछन्’, ती संक्रमित युवाले भने । स्वास्थ्यकर्मीहरुले बिहान–बेलुका दुईपटक ज्वरोको नाप लिने गरेको उनले बताए ।

सक्दो सेवा दिएका छौँ : मेसु

भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले अग्लो भवन भएकाले सिलिङ पङ्खा राख्न गाह्रो भएको र भित्ते साना पङ्खाहरुको व्यवस्था गरिएको उनले बताए । पचास जना बिरामीलाई पुग्ने झूल अस्पतालमा पूर्वव्यवस्थापन गरिएको उनको भनाइ छ । ‘भनेजस्ता सबै सुविधा कोरोना विशेष अस्पतालमा छैन’, मेसु डा. तिवारीले भने, ‘भरतपुर अस्पतालमा केही भए पनि राम्रो सुविधा भएकाले अब यतै सबै बिरामीको उपचार गर्ने/गराउने हो कि भन्ने छलफलमा जुट्दैछौँ ।’ कोरोना विशेष अस्पतालमा सेवासुविधा पूर्ण नभएकाले भरतपुर अस्पतालमा सार्ने तयारी भएको उनले बताए ।

‘केही वस्तु तथा सेवा अवरोध हुनेबित्तिकै बनाउन पनि समस्या छ, जो पायो त्यही मान्छे उक्त संक्रमित राखिने अस्पतालमा जान मान्दैनन्’, उनले भने । साथै, उनले संक्रमितलाई खाना ल्याइदिने विषयमा पनि आफन्तबाटै सहजीकरण गर्न छलफल भइरहेको बताए ।

प्रतिकृया

मुख्य समाचार

निषेधाज्ञा खुकुलो भएसँगै गाँजाको ओसारपसार बढ्यो

–अमृत चिमरिया हेटौँडा । मकवानपुर लागूऔषध गाँजा उत्पादनको हब मानिने जिल्ला हो । मकवानपुरको कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाका क्षेत्रमा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया