सर्पदंश : ८४ जनामध्ये १० जनामा मात्र विषको लक्षण

अन‌ि यो पनि

भरतपुर । चितवनको भरतपुर अस्पतालबाट यसवर्ष १० जनाले सर्पदंशको उपचार पाएका छन् । सर्पको टोकाइबाट ८४ जना उपचारका लागि अस्पताल आए पनि १० जनामा मात्रै लक्षण देखिएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालका आकस्मिक विभाग (इमर्जेन्सी) प्रमुख राजकुमार ढुङ्गानाका अनुसार सर्पले टोके पनि विषको लक्षण सबैमा देखिँदैन । ‘जेठ १९ गतेसम्मको तथ्याङ्कअनुसार ८४ जनालाई सर्पले टोकेको भए पनि विषको लक्षण भने जम्मा १० जनामा देखियो’, उनले भने, ‘विषको लक्षण नदेखिएकाहरुलाई २४ घन्टा अब्जरभेसनका लागि राखेपछि घर पठाउँछौँ र लक्षण देखिएकालाई लक्षणको आधारमा उपचार गराउँछौँ ।’

लक्षण देखेरै उपचार गराउनेमा भने चितवनका एक, नवलपुरका तीन, लमजुङका एक, गोरखाका तीन र तनहुँका दुई जना रहेका छन् ।

सर्पले टोकेर लक्षण देखिएका १० जनामा पनि आठ जनालाई हर्यौ (हरियो) सर्पले टोकेको देखिएको उनले बताए । रंगको आधारमा पनि अन्य सर्पभन्दा हर्यौ सर्प चिन्न सजिलो हुने उनको भनाइ छ । हर्यौ सर्प त्यति विषालु नहुने उनले बताए । बाँकी दुईवटा भने लक्षण र बिरामीको भनाइलाई आधार मान्दा करेट वा गोमनले टोकेको हुन सक्ने उनको भनाइ छ । सर्पले टोकेपछि अस्पताल आउनेमा ३२ पुरूष र १८ महिला गरी ५० जना चितवनका मात्रै छन् । तीमध्ये एक जनालाई मात्रै लक्षण देखिएपछि उपचार गराइएको छ ।

त्यसपछि नवलपरासीबाट ९ जना पुरूष र १३ जना महिला गरी २२ जना उपचारका लागि आउँदा तीन जनाले लक्षण देखिएपछि उपचार पाएका छन् । यस्तै, गोरखाबाट दुई पुरूष र चार महिला गरी ६ जना अस्पताल आउँदा तीन जनामा लक्षण देखिएको थियो भने तनहुँबाट आएका दुई र लमजुङबाट आएका एक जनामा लक्षण देखिएपछि उपचार गराइएको अस्पतालले जनाएको छ । उपचार पाएका १० जना नै बिरामी निको भएर घर फर्किसकेका छन् । गत वर्षको तुलनामा यसवर्ष सर्पदंशको समस्या भने कम देखिएको हो ।

‘यो वर्ष लकडाउनले पनि होला, गत वर्षको तुलनामा अहिलेसम्मको तथ्याङ्क हेर्दा सर्पको टोकाइबाट अस्पताल आउनेको संख्या कम छ’, उनले भने । गत वर्ष यही सिजनमा ९२ जनाले अस्पताल आएर उपचार गरेका थिए भने एक जनाको मृत्यु भएको थियो ।

उनका अनुसार सर्पदंशको समस्या मंसिर, पुस र माघबाहेक अन्य सबै महिना हुने देखिन्छ । ‘चिसो मौसममा सर्प जमिनभित्र बस्ने हुँदा बाहिर देखिँदैन’, उनले भने, ‘अन्य महिनामा बाहिर देखिन्छ ।’ त्यसमध्ये पनि जेठदेखि भदौ महिनासम्म बढी समस्या हुने ढुङ्गानाले बताए । सर्पदंशको उपचार गर्न सरकारले सरकारी अस्पताललाई मात्रै अनुमति दिएको छ ।

सोहीअनुसार चितवनमा भरतपुर अस्पतालले मात्रै यसको उपचार गराउँदै आएको छ । अस्पतालले सर्पदंशको उपचारका लागिमात्रै आइसियूमा दुईवटा बेड, एचडियूमा दुईवटा बेड, अब्जरभेसनका लागि दुईवटा बेड र इमर्जेन्सीका लागि तीनवटा बेड छुट्टयाएको छ ।

कुनै समय भरतपुर अस्पतालको आइसियू अभाव भएमा आइसियूमा राख्नैपर्ने बिरामीलाई जिल्लाका अन्य आइसियू भएका अस्पतालमा राखेर उपचार गरिन्छ । ‘बेडका लागिमात्रै हामीले अन्य अस्पतालमा लैजान्छौँ, तर औषधि उपचार भने सरकारी अस्पतालबाटै हुन्छ’, उनले भने ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया