आत्महत्याको भयावह स्थिति

अन‌ि यो पनि

कोरोना भाइरसको सन्त्रास र ८० दिन लामो लकडाउनका बीच सर्वसाधारणमा मानसिक समस्या बढाएको छ । सरकारले लकडाउनको विकल्प खोज्न नसक्दा कोरोना भाइरसका कारणभन्दा पनि गरिबी र भोकमरीका कारण मर्नुपर्ने अवस्था आउने संकेत देखिएको छ । लकडाउनको यस अवधिमा आत्महत्या र अपराधका घटना ह्वात्तै बढेका छन् । क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेका, आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका खबरहरु सार्वजनिक भएबाट यसको पुष्टि हुन्छ । लामो लकडाउनका कारण अहिले आममानिसहरुको दैनिक जीवनमा असर पुगेको छ । श्रमिकदेखि श्रमजीवीसम्मलाई पेट पाल्ने चिन्ताले सताएको छ । कैयौँ मानिसको खाइपाइ आएको जागिर खोसिएको छ, तलबको सुनिश्चितता छैन भने भविष्यप्रतिको चिन्ताले सताएको छ । मजदुर वर्गहरु हातमुख कसरी जोर्ने भन्ने चिन्ताले अत्तालिएका छन् । यी विविध परिणतिहरुका कारण पछिल्लो समय मानिसलाई आत्मदाह गर्नुपर्ने अवस्थासम्म पु¥याएको प्रस्टै छ । विश्व स्वास्थ्य संगठनमा समेटिएका १८३ देशमध्ये नेपाल आत्महत्या हुने देशको ८१औँ स्थानमा छ । कोरोना कहरका बीच सामान्य समस्यामा पनि आत्महत्या नै रोज्ने प्रवृत्तिका कारण नेपालमा आत्महत्या गर्नेहरु बढ्ने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार गत चैत ११ गतेदेखि जेठ २५ गतेसम्म एक हजार एक सयभन्दा बढीले आत्महत्या गरेका छन् । प्रहरीको तथ्याङ्कलाई आधार मान्दा नेपालमा दैनिक १६ भन्दा बढीले आत्महत्या गरेको देखिन्छ । यो आफैँमा भयावह स्थिति हो । पछिल्लो समय समाजमा अनेकौँ घटना देखिन र सुनिन थालेका छन्, यसको कारण लकडाउनको असर नै हो । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन नपाओस् भनेर सरकारले प्रारम्भिक उपायका रुपका लकडाउन लागू गरेको हो । तर, सरकारले यसैलाई अन्तिम विकल्प मानेर अघि बढ्दा अहिले समाजमा त्यसको बहुआयामिक प्रभाव देखिन थालेको छ । लामो लकडाउनका कारण समाज र समग्र अर्थतन्त्रमा पारेको प्रभावबारे सरकार बेखबर छैन । तर, जनताका यावत् समस्यालाई नजरअन्दाज गर्दै सरकारले लकडाउन लाद्दा साना व्यवसायीहरु पलायन भइसकेका छन् भने ठूला उद्योगी व्यवसायीहरु सङ्कटमा परेका छन् । गत वर्षको एसइई परीक्षासमेत दिन नपाएका विद्यार्थीहरुको करिअरमा धक्का पुग्ने देखिएको छ । किसानले उत्पादन गरेका बाली थन्क्याउन तथा तरकारी, फलफूल बजारसम्म लैजान नपाएर मर्कामा परेका छन् । पछिल्लो समय चौतर्फी क्षेत्रमा सङ्कट उत्पन्न हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पारिसकेको छ ।

सरकारको आर्थिक सर्वेक्षणले आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण गर्दा विश्व बैंकको अध्ययन प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सीमित रहने उल्लेख गरेको छ । यसबाट नेपालको अर्थतन्त्रमा परेको प्रभाव सहजै अनुमान गर्न सकिन्छ । दीर्घकालीन असर पार्ने समस्या लकडाउनका कारण निम्तिएकाले आत्महत्याको घटना पनि बढाएको हुनुपर्छ । लकडाउनयता हजारौँ व्यवसायीमा डिप्रेसनको समस्या उत्पन्न भइसकेको बताइन्छ । उनीहरु बैंकको व्याज र किस्ता कसरी तिर्ने चिन्ताले सताइएका छन् । बैंकका असल ऋणीहरुसमेत आफ्नो सम्पत्ति लिलाम भई सडकमा पुगिने हो कि भन्ने भयले मानसिक तनावमा छन् । मनोचिकित्सकहरुले कोरोनाका कारण ठूलो संख्यामा व्यवसायीहरुमा डिप्रेसनको समस्या देखिएको जनाएका छन् । कोरोना महामारीका बीच जारी लकडाउनले आर्थिक सङ्कट, रोजगारी गुम्ने, व्यवसाय डुब्ने, भविष्यको अनिश्चितताजस्ता कारण मानसिक रोगी बढेको र त्यही अनुपातमा आत्महत्या गर्ने दरसमेत बढेको मनोचिकित्सकहरुको भनाइ छ । यस्तो अवस्थामा सरकारले लकडाउन बढाएरमात्रै बसेर हुँदैन । लकडाउनको अवधिमा गर्नुपर्ने कर्तव्यको पनि बोध गरी यस्तो अवस्थाबाट मुलुकलाई चाँडै निकास दिनेतर्फ कदम चाल्नुपर्छ । कोरोना महामारीको कहरबाट जनजीवनलाई पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ भन्ने दृष्टान्त विभिन्न देशहरुले प्रस्तुत गरिसकेकाले सरकारले तिनै मुलुकको अनुसरण गरी प्रभावकारी भूमिका निर्वाह गर्नु जरूरी देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया