धर्तीबाट बिलाए लीलाराज विष्ट

अन‌ि यो पनि

मान्छेहरु किताबमा लेखेका अक्षर पढेर वा जानेरमात्रै विद्वान् कहलिन्छ भन्ने भ्रममा बाँचेका छन् भन्नका लागि प्रमाणका रुपमा नेपालमा पटकपटक मन्त्री भएका एक जना लीलाराज विष्ट नामका नागरिक हुनुहुन्थ्यो, उहाँ वैशाख महिनाको अन्तिम दिन काठमाडौँमा बित्नुभो । ८७ वर्षको उमेरमा बित्नुभएका उहाँको पालामा शिक्षादीक्षाको नामोनिशान थिएन भन्दा हुन्छ । बनारसतिरबाट दुई–चार अक्षर पढेर आएकाहरुले सामान्य कखरा पढाउने कुरा बेग्लै थियो, होइन भने नेपालमा कापी, कलम, किताब, स्कुल र शिक्षक थिएनन् । यी सबै नभएपछि पढ्ने विद्यार्थी हुने कुरै भएन । यसरी हेर्दा लीलाराज विष्टले स्कुल र कलेजमा विद्यार्थीको रुपमा टेक्न त पाउनु भएन नै, पछि मन्त्री र बडाहाकिमको रुपमा प्रमुख अतिथि भएर विद्यार्थीलाई पुरस्कार बाँड्नचाहिँ थुप्रै स्कुल र कलेजमा टेक्नुभएको भने पक्कै हो ।
मैले थाहा पाएसम्म लीलाराज विष्ट औधी चलाख, मेहनती र विवेकशील मान्छे हुनुहुन्थ्यो ।

उतिबेला पञ्चायती व्यवस्था सञ्चालक राजालाई यस्तै मान्छेको जरूरी थियो । राजाहरुले आफ्नो आवश्यकता पूरा गर्न विष्टजस्ता मान्छेलाई खोजीखोजी पञ्चायत प्रवेश गराएको बुझ्न कठिनाइ हुन्न । राजा महेन्द्र र वीरेन्द्रले औधी मन पराएका विष्टसँग मेरो परिचय पुण्यप्रताप राणाले गराउनुभएको हो । भेँडाको साथी भेँडा, बाख्राको साथी बाख्रा, बच्चाको साथी बच्चा, इमानदारको साथी इमानदार र बेइमानको साथी बेइमान भनेझैँ राजनीतिज्ञको साथी पनि राजनीतिज्ञ नै हुन्छन्, भलै राजनीतिक विचारमा मेल नखाएको अवस्था नै किन नहोस् । अब राजनीतिक विचार नै मिलेको अवस्थामा त मित्रता झनै गहिरो हुने कुरा स्वाभाविक हो । पञ्चायतकै राजनीतिक खेलाडी भएको हुँदा पुण्यप्रताप राणा, लीलाराज विष्ट, मुक्तराज पन्त, रेशमबाबु श्रेष्ठहरु लीलाराजको घर भरतपुरमा प्रायः भेला हुन्थे ।

राजनीतिक छलफल र बहस हुन्थ्यो । विगत २१ वर्षदेखि चितवनबाट प्रकाशित भइरहेको नारायणी टुडे राष्ट्रिय मासिकको वरिष्ठ सल्लाहकार हुनुको नाताले राणाले मलाई विष्टसँग परिचय गराउनुभएको थियो । पत्रकारमा पनि आआफ्नो विषय हुन्छ । कसैको क्षेत्र स्वास्थ्य, कसैको खेल, कसैको व्यापार, कसैको अर्थ र वाणिज्य, कसैको कला–संस्कृति त कसैको राजनीति र कूटनीति । मेरो लाइनचाहिँ राजनीति र कूटनीति भएको हुँदा मेरो सम्बन्ध देशभित्रका प्रायः सबै राजनीतिक दलका नेता र कार्यकर्तासँग हुनु स्वाभाविक हो र मेरो सम्बन्ध आज पनि यही खालको छ । भेटघाट बाक्लिँदै जाँदा सम्बन्ध पनि गाढा हुँदै गयो । कुराकानी हुने, खाजासाजाको बन्दोबस्त पनि हुने, हामीलाई विष्टको घर निकै पायक पथ्र्यो । विष्टको चितवनका राजनीतिज्ञहरुसँग पनि निकै राम्रो उठबस थियो । कांग्रेस, कम्युनिस्ट समर्थक नेता तथा कार्यकर्ताहरु आइरहन्थे । पञ्चायतमा काम गरेका उनका साथीहरु पनि आउँथे । चारतारे जर्नेलदेखि लिएर सेनाबाट निवृत्त अफिसरहरु आउँथे । नवराज सुवेदी, डा. प्रकाशचन्द्र लोहनीहरुसँग टेलिफोनमा उहाँ निकै लामो कुराकानी गर्नुहुन्थ्यो । केशरबहादुर बिष्ट त उहाँलाई दाइ नै भन्नुहुन्छ । भरतपुर आउँदा चियापान नगरी प्रायः उहाँ फर्किनुहुन्न भन्ने पनि मलाई विष्टले बताउनुभएको थियो ।

काठमाडौँ छँदा उहाँले थुप्रै पत्रकारसँग संगत गर्नुभएको रहेछ, तर पञ्चायत ढलेपछि प्रायः उहाँ चितवन बस्नुभयो । सबैभन्दा ज्यादा संगतचाहिँ मैसँग भएको हो । अन्तरवार्ताका लागि अनुरोध गर्दा उहाँ मेरो विचार पुरानो भो, मिति सकिएको ओखती काम लाग्दैन भन्दै मुस्कुराउनुहुन्थ्यो, तर राजनीतिक विश्लेषण भने उहाँ दमदार गर्नुहुन्थ्यो । उहाँहरु पुराना घटनाहरुको व्याख्या गर्नुहुन्थ्यो, म भने वर्तमानलाई प्रमाण मानेर भोलि यसो हुने संकेत हो भन्थेँ । मेरो राजनीतिक भविष्यवाणी धेरै हदसम्म मिल्थ्यो, यहीकारण हो मलाई विष्टले खुबै माया गर्नुहुन्थ्यो । कहिलेकाहीँ मैले ताकपर्दा झोल पदार्थ पनि खाने गरेको कुरा कसैले सुटुक्क भनिदिएको रहेछ । यति भएपछि उहाँलाई के चाहियो र ! पुराना शासकहरुको एउटा तरिका के हुन्थ्यो भने सोमरस खुवाएर मनभित्रका कुराहरु बाहिर निकाल्ने ।

उहाँले कुनै दिन खानुपर्छ है भन्नुभो । मैले सहमतिमा मुन्टो हल्लाइदिएँ । एकदिन उहाँ खन्याउने मचाहिँ खाने गर्दैगर्दा मैले नेपालका राजनीतिक दल, छिमेकी देशहरुको नेपाललाई हेर्ने दृष्टिकोण र राजतन्त्रबारे निकै मह¤वपूर्ण कुरा बताइदिएँ । त्यो दिनदेखि विष्ट मेरो फ्यान हुनुभएछ । प्रायः प्रत्येक दिन फोन गर्न लाग्नुभयो । राजदरबारबाट मलाई भोज खान बोलाइएको कारण पनि पछि थाहा पाएँ । उहाँले नै सिफारिस गर्नुभएको रहेछ । म दरबारबाट भोज खाएर आएपछि त मलाई धेरैले राजावादी पत्रकार भन्न थालिहाले ।

एकदिन ठूलै कुरा भो । उहाँ र म दुई जनामात्रै थियौँ । मैले अलिअलि चढाइसकेको थिएँ । एकातिर माओवादी बन्दुक पड्काउने, अर्कोतिर सात राजनीतिक दल सडक आन्दोलन चर्काउने, राजाले पुराना विचारकाहरुलाई मन्त्रिमण्डलमा सामेल गरेको अवस्था, राजा ज्ञानेन्द्रलाई अमेरिकी राष्ट्रपतिले अमेरिका भ्रमणमा भेटका लागि समय दिन नमिल्ने कुरा, दरबार हत्याकाण्डले राजसंस्थाको जरो तलैदेखि हल्लाएको अवस्था, पुराना पञ्चहरुमा एकआपसमा मनमुटाव र उतिबेलाका युवराज पारसको उद्दण्ड क्रियाकलापसमेतलाई मध्यनजर गर्दै मैले अब राजसंस्थाको आयु समाप्त हुने संकेत पाएको बताएँ । लीलाराज विष्ट मेरो कुरा सुनेपछि कुर्सीबाट जुरूक्कै उठ्नुभो र झर्केर योचाहिँ अल्लि सम्भव छैन भन्नुभो । उहाँ झर्केर उठ्दा झोल पदार्थको असर पनि तुरून्तै कम भयो । मैले फेरि भनेँ, “गिरिजाप्रसाद कोइरालालाई बिच्काउनुले पनि धेरै खराबी गरेको छ हजुर, कोइराला त निकै उपल्लो हैसियत राख्ने नेता हुनुहन्छ, कम्तीमा उहाँ नरिसाएको भए राजावादीहरुलाई आशा गर्ने ठाउँ बाँकी रहन्थ्यो ।” मेरो त केवल राजनीतिक विश्लेषणमात्रै थियो । म आज पनि विश्लेषणमात्रै गर्छु, कतै ढल्किन्नँ । फेरि पनि विष्टको चित्त बुझेन । म फर्किएपछि उहाँले देशका प्रायः सबै उहाँसँग सम्पर्क भएका उपल्ला राजनीतिक विश्लेषकहरुसँग मैले बताएको विषयमा कुरा गर्नुभएको रहेछ । धेरैले खतरा त भएको तर राजसंस्था नै मासिन्छ भन्नेचाहिँ कल्पना गर्न सकेका रहेनछन् । भोलिपल्ट उहाँ मसँग केही नरम हुनुभयो । मैले राजा आफैँ वा राजाको प्रतिनिधि, माओवादी पक्ष र सात राजनीतिक दलहरुबीच प्रत्यक्ष गोलमेच सम्मेलनबाट एउटा निष्कर्ष निकाल्दा समग्रमा देश र जनताको जित हुन सक्छ पनि भनेँ । त्यो मेरो तर्कसँगचाहिँ उहाँ थोरै सहमत हुनुभएको थियो ।

एकदिन त्यस्तो समय आयो, कसैले नपत्याएको र नसोचेको घटना घट्यो । नेपालबाट राजसंस्थाको अन्त्य भएको घोषणा गरियो । मेरो राजनीतिक भविष्यवाणी मिलेको महसुस गरेपछि लीलाराज विष्टले मसँग अझै निकटको सम्बन्ध राख्ने चाहना व्यक्त गर्नुभयो । यही सम्बन्धकै कारणले हो अरु समूह देउसीभैलो खेल्न आउँदा दुई–चार हजार दिने, तर पत्रकारको समूह आउँदा दस–बीस हजार दिने गर्नुहुन्थ्यो । एकदिन यस्तो पनि घटना भएको छ । मेरो एक जना मेहनती पत्रकार साथीलाई छोरो जापान पढ्न पठाउन एक लाख रूपैयाँ नपुगेर आपत परेको रहेछ । धेरैतिर अनुरोध गर्दा पनि जुटाउन नसकेको मलाई बताउनुभएपछि मैले भोलि कुरा गरौँला भनेँ । विष्टकहाँ गएर फिर्ता दिन नसक्ने अवस्थाको साथीलाई एक लाख रूपैयाँ चन्दा दिनका लागि अनुरोध गरेँ । मुसुक्क हाँसेर उहाँले हुन्छ भोलि बोलाउनु भन्नुभयो । भोलिपल्ट साथीको हातमा एक लाखको बन्डल राखिदिनुभयो । तिर्न नसके नतिर्नु पनि भन्नुभयो । जापान जानुअघि साथीले छोरालाई विष्टको घरमा लिएर आउनुभयो । उहाँले ल बाबु राम्रो प्रगति गर्नू भन्नुभयो । मैलेचाहिँ ती युवकलाई बाबु यति दुःख गर्ने बुबालाई कहिल्यै हेलाँ नगर्नु है भनेँ । उनले हुन्छ भन्ने बचन दिए ।

उहाँको पञ्चायती राजनीतिक क्रियाकलापबारे मलाई उतिसाह्रो मेसो छैन । म त धेरैपछिमात्रै जन्मिएको हुँ । सत्य, त्रेता, द्वापर हुँदै अहिले हामी कलियुगमा छौँ । कलियुगका मान्छे र सत्ययुगका मान्छेबीच तुलनै हुन सक्दैन भन्ने कुरा मलाई राम्रैसँग थाहा छ । मान्छेमा गुण र दोष हुन्छ । कसैमा गुण ज्यादा होला त कसैमा दोष ज्यादा होला । मान्छेको दोष खोज्नुभन्दा गुण खोज्दा बेस हुन्छ भन्ठान्छु म । पाहुनाको रुपमा आएकालाई हाँसेर स्वागत गर्ने, मेरो पालो सकियो अब मेरो विचारले काम गर्दैन भन्न सक्ने र कुनै अप्ठ्यारोमा परेको पत्रकारलाई यो युगमा फिर्ता गर्न नपर्ने गरी एक लाख रूपैयाँको धनराशि दिनसक्ने लीलाराज विष्टको त्यो गुण भने म जीवनभरि सम्झिने छु । हरेक मान्छे एकदिन मर्छ यो सत्य हो । विष्टले पनि संसार छाड्नुभयो । प्रायः दैनिक राजनीतिक विषयमा छलफल गर्ने हामी पाँच जनामध्ये पुण्यप्रताप राणा, रेशमबाबु श्रेष्ठ र लीलाराज विष्ट बित्नुभो । अब मुक्तराज पन्त र म बित्न बाँकी छ । को कहिले बित्छ कसैलाई थाहा हुन्न, तर भौतिक शरीरको अन्त्य त अवश्यम्भावी छ । मान्छेहरुले भन्ने गरेको स्वर्ग कतै छ भने उनको स्वर्गमा बास होस् । हार्दिक समवेदना !

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया