पश्चिम चितवनमा कोरोनाको त्रास

अन‌ि यो पनि

जीतपुर । सरस्वती उच्च मावि जीतपुरको क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यसआसपासको क्षेत्र पूर्णरुपमा सिल गरिएको छ । क्वारेन्टाइनमा रहेका २२ जनामा गरिएको पिसिआर टेस्टमा ३ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।

वडामै संक्रमण भेटिएपछि जोखिम न्यूनीकरणका निम्ति जीतपुर बजार पूर्णरुपमा सिल गरिएको बजार व्यवस्थापन समिति जीतपुरका अध्यक्ष सन्दीप गदालले बताए ।

बजार प्रवेश गर्ने मुख्य चोकहरुमा निर्वाचित वडा सदस्य र बजार व्यवस्थापन समितिका सदस्यहरुको टोलीले कडा निगरानी गरिरहेको छ । बजार क्षेत्रसँगै वडा कार्यालय पनि ३ दिनका लागि बन्द गरिने जानकारी दिँदै वडाध्यक्ष आशबहादुर कुमालले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र संयमता अपनाउन वडावासीलाई आह्वान गरेका छन् ।

रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्कने क्रम जारी रहेकोले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । गत जेठ २० गतेबाट भारतको हैदरावादबाट सुनौली नाकामा आइपुगेका आफ्ना वडावासीहरुलाई उद्धार गरिरहेको २८ नं वडाले भारतबाट फर्कनेको संख्या बढ्न थालेपछि क्वारेन्टाइन थप गर्ने योजना पनि बनाएको छ ।

२८ नं वडामा अहिले ५ वटा विद्यालयका क्वारेन्टाइनमा भारतबाट फर्किएका ६२ जनालाई राखिएको छ । उद्धार भएका सबैलाई सरस्वती उच्च मावि जीतपुर, सिसाबास आधारभूत विद्यालय पर्साबजार, लौखरी आधारभूत विद्यालय गोलाघाट र अन्द्रौली आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म वडा नं–२८ का क्वारेन्टाइनमा मात्रै ५९ जना रहेको र ३ जना क्वारेन्टाइन अवधि पूरा गरी परीक्षणपश्चात् घर फर्किएका छन् ।

यस्तै, इलाका प्रहरी कार्यालय चनौली, चनौली बजार व्यवस्थापन समिति, वडा नं–१८ र २० को संयुक्त बैठकले वडा नं–१८ र २० अन्तर्गत रहेको चनौली बजार सिल गर्दै बजार क्षेत्रभित्र पर्ने औषधि र भेटेरिनरी सेवाबाहेक अन्य बैंक, वित्तीय संस्था, सहकारीलगायत सम्पूर्ण पसल, उद्योग, कार्यालय बिहीबार राति १२ बजेदेखि जेठ ३२ गते राति १२ बजेसम्म बन्द गरिएको वडा नं–१८ का वडाध्यक्ष दीपक लामाले बताए ।

गुञ्जनगर माविको क्वारेन्टाइनमा रहेका १ जना र शारदा माविको क्वारेन्टाइनमा रहेका १ जनाको पिसिआर टेस्टमा कोरोना पोजेटिभ भेटिएपछि वडा सिल गरिएको छ ।

भरतपुर वडा नं–२० मा अहिले १३ जना क्वारेन्टाइनमा बसिरहेका छन् । भीमनगर माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरु सबै भारतबाट आएका हुन् । सो वडामा ४ जना होम क्वारेन्टाइनमा रहेको वडा अध्यक्ष मणिलाल तामाङले जानकारी दिए ।

होम क्वारेन्टाइनमा बस्नेहरु सबै नेपालकै विभिन्न स्थानबाट आएको समेत उनले बताए । उनका अनुसार सोमबार एक २४ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको छ ।

भरतपुर–१६ ले विदेशबाट घर फिर्ता आएका २४ जनालाई भरतपुर महानगरको समन्वयमा १४ दिने क्वारेन्टाइनमा राखेको छ । पुरानो गाविस भवनमा २ महिलासहित १४ जना, वडाकै मातहतमा रहेको रेडक्रस भवनमा ७ पुरूष, चारपाते युवा समाज विजयनगरमा १ महिला, २ पुरूषलाई राखिएको छ । हालसम्म पुरानो गाविस भवनमा १५ सिट, रेडक्रस भवनमा ७ सिट र चारपाते युवा समाज विजयनगरमा १३ सिट क्षमताको बेड तयार गरिएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।

यस्तै, भरतपुर महानगरपालिका–१७ को क्वारेन्टाइनमा पछिल्लो समय १० जना व्यक्तिहरु बसिरहेका छन् भने ५ जना होम क्वारेन्टाइनमा छन् । लगौडा प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भारतबाट आएका वडा अध्यक्ष ललितमान तामाङले जानकारी दिए । उनले होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भने नेपालभित्रकै विभिन्न जिल्लाबाट आएको बताए ।

भरतपुर–१९ को क्वारेन्टाइन भवनमा भारतबाट आएको १९ वर्षे एक युवामा कोरोना पोजेटिभ देखिएको छ । भरतपुर वडा नं–१९ मा अहिले १३ जना क्वारेन्टाइनमा रहेका छन् भने ३ जना होम क्वारेन्टाइनमा छन् । शारदानगर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका उनीहरु अधिकांश भारतबाट आएका हुन् । १३ जनामध्ये ९ जना भारतबाट आएका छन् भने बाँकी अन्य नेपालकै विभिन्न जिल्लाबाट आएका वडा अध्यक्ष कर्णबहादुर गुरूङले बताए ।

सो क्वारेन्टाइनमा एक बालक, ३ महिलासहित हाल १३ जना बसेका छन् । उनीहरु करिब ४ वर्षदेखि ५५ वर्षसम्मका छन् । क्वारेन्टाइनमा सोमबार एक जनामा कोरोना पुष्टि भएसँगै भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको उनले बताए ।

भरतपुर वडा नं–२१ मा अहिलेसम्म १२ जना क्वारेन्टाइनमा बसेका छन् । १ जना महिलासहित १२ जना श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालयको भवनमा बनाइएका क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा बसेकाहरु ११ जना भारतबाट आएका र १ जना गोर्खाबाट आएका बताइएको छ । ती १२ जनामध्येको आरडिटी टेस्ट नेगेटिभ आएपछि मंगलबार बिदाइ गरिएको वडा अध्यक्ष चित्रसेन अधिकारीले जानकारी दिए ।

भरतपुर वडा नं–२६ मा अहिले ५ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ जना होम क्वारेन्टाइनमा रहेका छन् । आदर्श मावि दिव्यनगरमा बनाइएको क्वारेन्टाइनमा रहेका ५ जना सबै भारतबाट आएका हुन् । क्वारेन्टाइनमा करिब ३० देखि ५० वर्षसम्मका व्यक्तिहरु रहेका छन् । सो क्वारेन्टाइनमा बसेकाहरुलाई वाइफाइलगायतका सेवासुविधाहरुको व्यवस्था गरिएको वडा अध्यक्ष ज्ञानप्रसाद खनालले बताए ।

भरतपुर वडा नं–२७ मा अहिले १३ जना क्वारेन्टाइनमा रहेका छन् भने होम क्वारेन्टाइनमा कोही नभएको वडा अध्यक्ष गोविन्द तामाङले जानकारी दिए । जानकी माध्यमिक विद्यालय मेघौलीमा बनाइएको क्वारेन्टाइनमा ३ महिलासहित १३ जना रहेका हुन् ।

उनीहरु करिब २३ देखि ५५ वर्षका रहेका छन् । अहिले क्वारेन्टाइनमा बस्नेहरु सबै भारतबाट आएका वडा कार्यालयले जनाएको छ । यसअघि सोमबार एक जना १९ वर्षीय महिलामा कोराना पोजेटिभ देखिएपछि भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको वडा अध्यक्ष तामाङले बताए ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...