नारायणी सामुदायिकसँग प्रशासनले माग्यो स्पष्टीकरण

अन‌ि यो पनि

भरतपुर । कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयले नारायणी सामुदायिक अस्पतालसँग स्पष्टीकरण मागेको छ । कोरोना संक्रमति पुष्टि हुना साथ नारायणी सामुदायिकले आइसियूमा रहेका बिरामीलाई भरतपुर अस्पताल पठाएको थियो । संक्रमितको भरतपुर अस्पतालमै निधन भएको थियो ।

‘संक्रमितको मृत्युको विषय, अस्पताल रिफरको प्रसङ्ग, स्वास्थ्यकर्मीको सुरक्षा र उपचार पद्धतिको विषयलाई लिएर नारायणी सामुदायिकलाई पत्र पठाएर जवाफ मागेका छौँ’, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘यसलाई पत्र या स्पष्टीकरण जे भने पनि हामीले जवाफ मागेका हौँ ।’ प्रजिअ भट्टराईले मंगलबार पत्र पठाएर जवाफ मागेको बताए । उनले भने, ‘हालसम्म (बुधबार साँझसम्म) पत्रको कुनै जवाफ आएको छैन, प्रतीक्षामा बसिरहेका छौँ ।’

संक्रमित बिरामीलाई नारायणी सामुदायिकले कुनै समन्वय नगरी भरतपुर अस्पताल पठाएको मौखिक जानकारी आफूलाई आएको प्रजिअ भट्टराईले जानकारी गराए । उनले भने, ‘तर मौखिक कुराले मात्र आधार भएन, यो विषय पत्रको जवाफ आएपछि भन्न सकिन्छ, मलाई लाग्छ, यस विषयमा छिट्टै अस्पतालले जवाफ पठाउँछ र आधिकारिक धारणा थाहा लाग्छ ।’

नारायणी सामुदायिक हस्पिटलले जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको जनाएको छ । हस्पिटलका अध्यक्ष डा भक्तमान श्रेष्ठले प्रशासनबाट पत्र आएको स्वीकार गरे । उनले भने, ‘प्रशासनले जिज्ञासा राखेर पत्र पठाउनु स्वभाविक हो, यसको जवाफ हामी एक/दुई दिनमा पठाउँछौँ ।’ उनले कोरोना संक्रमित बिरामीलाई रिफर, स्वास्थ्य सुरक्षालगायतको विषयलाई प्रश्न सोधिएको बुझिएको बताए ।

सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका भरतपुर ११ का ६८ वर्षीय पुरूषको मंगलबार बिहान मृत्यु भएको थियो । अध्यक्ष डा श्रेष्ठले भने, ‘संक्रमितको उपचार निजी अस्पतालले गर्नै पाउँदैन, कानुन लाग्छ । त्यही भएर भरतपुर अस्पताल पठाइएको हो ।’ उनका अनुसार कोरोना संक्रमितको उपचार गर्ने निजी अस्पताललाई अधिकार छैन । उनले भने, ‘उपचारको क्रममा संक्रमितको नारायणी सामुदायिकमा मृत्यु भएको भए मुद्दा लाग्थ्यो, त्यसकारण संक्रमितलाई नचाहँदा नचाहँदै भरतपुर अस्पताल पठाउन बाध्य भएका हौँ ।’

अध्यक्ष डा श्रेष्ठका अनुसार यतिबेला नारायणी सामुदायिकमा केही बिरामीमात्र छन् । डाक्टर नै संक्रमित भएपछि उपचार गर्न न बिरामी न डाक्टर कोही पनि आएका छैनन् । नारायणी सामुदायिकमा ओपिडीसमेत चलाइएको छैन ।

‘केही बिरामी अझै अस्पतालमा छन्, उनीहरुलाई डिस्चार्ज गरेर पठाएपछि अस्पताल सफासुग्घर गरी सम्भवतः आउँदो आइतबारबाट पूरा सञ्चालन गर्ने सोँच बनाएका छौँ’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यतिबेलासम्म प्रशासनले पठाएको पत्रको जवाफ दिइसक्नेछौँ ।’

उनले नारायणी सामुदायिकको आइसियूमा बसेका अन्य बिरामी र केही डाक्टर र नर्सको कोरोना रिपोर्ट नेगेटिभ आएको बताए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख नारायणी सामुदायिकसँग सम्बन्धित रहेको आठवटा स्याम्पलको नतिजा नेगेटिभ आएको र त्यो को कसको हो पुष्टि हुन बाँकी रहेको बताए । उनले भने, ‘यो परीक्षणले आइसियूको बिरामीको संक्रमितबाट सरे नसरेको थाहा हुँदैन, किनभने दिन पुगेको छैन ।’

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया