एक सेर सातुको दान (महाभारत–चिन्तन)

अन‌ि यो पनि

गुरूशिष्य संवादका क्रममा गृहस्थ र ब्राह्मणका धर्मको पनि चर्चा गरिएको छ । गृहस्थाश्रम सबै आश्रमको मूल मानिन्छ । ब्राह्मणले अध्ययन–अध्यापन, यजन–याजन र दान–प्रतिग्रह यी छ वृत्तिको आश्रय लिनुपर्छ । याजन, अध्यापन र प्रतिग्रह (दान लिनु) ब्राह्मणको जीविकाका साधन हुन् भने अध्ययन, यज्ञानुष्ठान र दान धर्मोपार्जनका साधन हुन् । धर्मलाई दूषित वा कलङ्कित नगरीकन व्यवहार गर्नुपर्छ । जसको बुद्धि राम्रो छैन उसलाई हजारौँ उपाय गर्नाले पनि ज्ञान प्राप्त हुँदैन भने जो बुद्धिमान् छ उसले एक चौथाइ प्रयत्नद्वारा पनि ज्ञान पाएर सुखको अनुभव गर्दछ :

सहस्रेणापि दुर्मेधा
न बुद्धिमधिगच्छति ।
चतुर्थेनाप्यथांशेन
बुद्धिमान् सुखमेधते ।।
(महाभारत १४।५०।१७)

पहिला श्रीकृष्णका माध्यमबाट अर्जुनले देखेको विश्वरुपको दर्शनपछि उत्तङ्कले देखेका हुन् । उत्तङ्कले गौतम गुरूको बाहेक अरु कुनै गुरूको सेवा गरेका थिएनन् । उत्तङ्कले गरेको गुरूभक्तिको महिमा महान् छ । सेवाभावबाट अत्यन्त प्रभावित भएर गुरूले आफ्नै पुत्रीसँग उत्तङ्कको विवाह गरिदिएका थिए । गुरूपत्नीको आज्ञाले दिव्य कुण्डल ल्याउनका लागि उत्तङ्क राजा सौदासकहाँ जान्छन् । उत्तङ्कले सौदाससँग उनकी रानीको कुण्डल माग्छन् । सौदासले भनेपछि उनी रानी दमयन्तीका सामु जान्छन् । रानीले दिएका कुण्डल लिएर फर्कंदै गर्दा बाटामा ती कुण्डलको अपहरण गरिन्छ । देवराज इन्द्र र अग्निदेवको कृपाले ती कुण्डल पुनः प्राप्त गरेपछि उत्तङ्कले कुण्डलहरु गुरूपत्नीलाई दिन्छन् ।

वसुदेवजीले सोधेपछि श्रीकृष्णले महाभारत युद्धको सारा वृत्तान्त संक्षेपमा सुनाउँछन् । महाभारतको युद्धमा अग्रसर हुने मनस्वी क्षत्रिय वीरहरुका कर्म अत्यन्त अद्भुत छन् । ती यति धेरै छन् कि विस्तारका साथ वर्णन गर्ने हो भने त सय वर्षसम्म पनि तिनलाई भनेर सकिन्न । १०औँ दिनको युद्धपछि भीष्म घायल भएका हुन् भने लगातार दुई दिनसम्म युद्ध लड्दा कर्ण मारिएका थिए । युद्धमा पाण्डवपक्षका पञ्चपाण्डव, सात्यकि र श्रीकृष्ण बचे भने कौरवपक्षका कृपाचार्य, कृतवर्मा र अश्वत्थामा तीनजना मात्र बाँच्न सफल भए । श्रीकृष्णले सबै सन्देश सुनाउँदा अभिमन्युवधको वृत्तान्त सुनाउन छुटाएकाले अभिमन्युकी माता सुभद्राको आग्रहमा श्रीकृष्णले अभिमन्युवधको वृत्तान्त सुनाउँछन् ।

वसुदेव आदि यादवहरुले अभिमन्युको श्राद्ध गर्छन् भने व्यासजीले उत्तरा र अर्जुनलाई सम्झाएर युधिष्ठिरलाई अश्वमेध यज्ञ गर्ने आज्ञा दिन्छन् । आफ्ना भाइहरुका साथ परामर्श गरी सबैलाई साथ लिएर युधिष्ठिरले धन ल्याउनका लागि प्रस्थान गर्छन् । पाण्डवहरु हिमालयमा पुगी त्यहाँ त्रिपाल लगाएर रातमा उपवासपूर्वक बस्छन् । ब्राह्मणहरुको आज्ञाले भगवान् शिव र उनका पार्षद आदिको पूजा गरेर युधिष्ठिरले त्यहाँ रहेको धनराशिलाई खनेर आफ्ना साथमा लैजान्छन् ।

श्रीकृष्णको हस्तिनापुरमा आगमन हुन्छ । उत्तराको मृत बालकलाई पुनर्जीवित गर्नका लागि कुन्तीले उनीसँग प्रार्थना गर्छिन् । परीक्षितलाई पुनर्जीवित गर्नका लागि सुभद्राले श्रीकृष्णसँग प्रार्थना गर्छिन् । श्रीकृष्ण प्रसूतिका गृहमा प्रवेश गर्छन् । उत्तराले विलाप गर्दै आफ्नो पुत्रलाई पुनर्जीवित गर्नका लागि प्रार्थना गर्छिन् । उत्तराको प्रार्थना सुनेर श्रीकृष्णले उत्तराको मृतपुत्रलाई जीवनदान दिन्छन् । कुरूकुलको वंश नाश हुँदै गएका कारण अभिमन्युको बालक उत्पन्न भएकाले यसको नाम परीक्षित् राख्नुपर्छ भनेर श्रीकृष्णले परीक्षित्को नामकरण गर्छन् र त्यसपछि पाण्डवहरु हस्तिनापुरको नजिक आउँछन् ।

श्रीकृष्ण र उनका साथीहरुद्वारा पाण्डवहरुको स्वागत गरिन्छ । नगरमा आएर पाण्डवहरुले सबैसँग भेटघाट गर्छन् । व्यासजी र श्रीकृष्णले युधिष्ठिरलाई यज्ञ गर्नका लागि आज्ञा दिन्छन् । व्यासजीको आज्ञाले युधिष्ठिरले अश्वको रक्षाका लागि अर्जुन, राज्य र नगरको रक्षाका लागि भीमसेन र नकुल तथा कुटुम्बको पालनका लागि सहदेवलाई नियुक्त गर्छन् ।

अश्वलाई शास्त्रीय विधिद्वारा छाडिन्छ । सेनासहित अर्जुनले छाडिएको अश्वको अनुगमन गर्छन् । जुन जुन देशमा पाण्डवहरुले जितेका थिए तिनै तिनै देशमा अश्व घुम्दै जान्छ । घोडाको रक्षाका लागि अर्जुनको त्रिगर्तहरुसँग मात्र होइन राजा वज्रदत्त र सैन्धवहरुका साथमा पनि युद्ध हुन्छ । आफ्नै पुत्र वभ्रुवाहनसँग अर्जुन हाँस्तै लड्छन् र अर्जुनको मृत्यु हुन्छ । अर्जुनको मृत्यु भएपछि चित्राङ्गदाले विलाप गर्छिन् । मूच्र्छाद्वारा जागेपछि अर्जुनपुत्र वभ्रुवाहनले शोकयुक्त उद्गारहरु व्यक्त गर्छन् । उलूपीको प्रयासले सञ्जीवनी मणिद्वारा अर्जुन पुनः जीवित हुन्छन् । वास्तवमा अर्जुन मरेका थिएनन्, अर्जुनकी पत्नीले मोहनीमात्र लगाएकी थिइन् ।

अर्जुनले सोधेपछि उलूपीले आपूm त्यहाँ आउनुको कारण र पुत्रसँग अर्जुनको पराजयको रहस्य बताउँछिन् । पत्नी र पुत्र दुवैसँग बिदा भएर अर्जुन पुनः अश्वको पछि लाग्छन् । अश्वले संसार परिक्रमा गर्दा अश्व रक्षा गर्ने युद्धमा कुनै पनि राजालाई नमार्नू भन्ने युधिष्ठिरको आज्ञा भएकाले अर्जुनले अश्वको रक्षाका क्रममा भएका सबै युद्धहरुमा राजाहरुलाई पराजितमात्रै गरेका हुन् ।

अश्वमेघ यज्ञका लागि तयारी गरिन्छ । विभिन्न देशहरुबाट आएका राजाहरुले अश्वमेध यज्ञको सजावट र आयोजना हेर्छन् । राजा युधिष्ठिरले भीमसेनलाई राजाहरुको पूजा गर्न आदेश दिन्छन् भने श्रीकृष्णले युधिष्ठिरलाई अर्जुनको सन्देश सुनाउँछन् । अर्जुन हस्तिनापुरमा जान्छन् र उलूपी एवं चित्राङ्गदाका साथ वभ्रुवाहनको आगमन हुन्छ । रत्न, आभूषण आदिले उनीहरुको स्वागत गरेर अश्वमेध यज्ञको आरम्भ गरिन्छ । युद्धमा मारिएका दाजुभाइहरुको मृत्युको प्रायश्चित्त हुनेछ भन्ने अपेक्षाका साथ अश्वमेध यज्ञ आयोजना गरिएको थियो ।

यज्ञको अन्तमा युधिष्ठिरले ब्राह्मणहरुलाई यथोचित दक्षिणा दिएर बिदाइ गर्छन् । ‘ब्राह्मणा हि धनार्थिनः’ (पूर्ववत् १४।८९।१०) अर्थात् ब्राह्मणहरु धनको नै इच्छुक हुन्छन्, ब्राह्मणले राज्यको चाहना राख्तैनन् । अश्वमेध यज्ञमा पृथ्वी नै दान दिने विधान छ । युधिष्ठिरको यज्ञमा आएको एउटा न्याउरी मुसाले उञ्छवृत्तिधारी वा सिला खोजेर जीवन निर्वाह गर्ने एउटा ब्राह्मणद्वारा गरिएको एक सेर सातुदानको महिमा यो अश्वमेध यज्ञभन्दा पनि महान् हुन्छ भन्ने कुरा बताउँछ ।

एकदिन एउटा ब्राह्मण परिवारकहाँ खाद्य सङ्कट निम्तिएका अवस्थामा एक सेर सातु खान लागेका बेला एकजना अतिथि आइपुगेछन् । ब्राह्मण दम्पती दुवैले आपूmले खान भाग लगाएको सातुको भोजन गराएर अतिथिको सत्कार गर्न खोजेछन् । ब्राह्मण दम्पती दुवैको भाग सातु खाँदा पनि अतिथि ब्राह्मण अघाएनछन् । त्यसपछि उनीहरुका छोराले पनि आफ्ना भागमा राखिएको सातु दिएर ब्राह्मणलाई सन्तुष्ट बनाउने प्रयत्न गरेछ । त्यसले पनि ब्राह्मण सन्तुष्ट नभएपछि बुहारीको भाग सातु पनि अतिथिलाई दिइएछ । त्यसपछि भने अतिथि ब्राह्मण तृप्त भएछन् ।

वास्तवमा त्यसरी ब्राह्मणको भेषमा साक्षात् धर्मराज नै ब्राह्मण परिवारमा अतिथि बनेर आएका रहेछन् । आफ्नै परिवारको प्राण सङ्कटमा परिरहेका बेलामा पनि ब्राह्मण परिवारले शुद्ध हृदयले एक सेर सातु दान गरेको पुण्यका प्रभावले ब्राह्मण परिवारले स्वर्गलोक प्राप्त गरेछन् । ‘यदा दानरूचिः स्याद् वै तदा धर्मो न सीदति’ (पूर्ववत् १४।९०।९२) अर्थात् जब मान्छेमा दानविषयक रूचि जागृत हुन्छ तब उसका धर्मको ह्रास हुँदैन भन्दै अतिथिस्वरुप धर्मराजले ब्राह्मण परिवारको प्रशंसा गरेका हुन् । ‘स्वर्गद्वारं सुसूक्ष्मं हि नरैर्मोहान्न दृश्यते’ (पूर्ववत् १४।९०।९४) अर्थात् स्वर्गको ढोका अत्यन्त सूक्ष्म छ, मान्छेले मोहवश त्यसलाई देख्न सक्तैनन् किनभने लोभ, राग र क्रोधलाई नजितीकन स्वर्गको ढोका ढक्ढक्याउन सकिँदैन ।

सहस्रशक्तिश्च शतं
शतशक्तिर्दशापि च ।
दद्यादपश्च यः शक्त्या
सर्वे तुल्यफलाः स्मृताः ।।
(पूर्ववत् १४।९०।९६–९७)

अर्थात् श्रद्धापूर्वक दान दिने व्यक्तिमा यदि एक हजार दिने शक्ति छ भने उसले एक सय दान गरोस्, एक सय दिने शक्ति छ भने दश दान गरोस् र जसका साथमा केही पनि छैन भने उसले आफ्नो शक्तिअनुसार जलमात्र दान गरे पनि यी सबैको फल बराबर मानिन्छ । तसर्थ आफ्नो शक्तिले भ्याएको दशांश दान गर्दै जान सके आपूmले मात्र होइन समाज, देश र विदेशले समेत दानको वास्तविक प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपुर)

[email protected]

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...