महामारीमा विद्यालयको पठनपाठन

अन‌ि यो पनि

पृष्ठभूमि

हाम्रो उत्तरी छिमेकी चीनको वुहानमा गत वर्ष पौष महिनामा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमण नेपालमा माघ महिनामै देखा प¥यो भने तीन महिनामै विश्वव्यापी बन्न पुग्यो । विश्वका कुनै पनि मुलुक यसबाट अछूतो रहेनन् । दैनिक हजारौँको संख्यामा संक्रमण र मृत्युको तथ्याङ्क सुन्नु, पढ्नु हाम्रो नियति नै बन्यो । नेपालमा परीक्षणको दर केही बढेसँगै र भारतबाट नोपालीहरु स्वदेश फर्केसँगै संक्रमणको दर बढ्दै गई संक्रमितको संख्या ४००० को हाराहारीमा पुगिसक्यो भने मृत्यु हुनेको संख्यासमेत डेढ दर्जनको हाराहारीमा पुग्यो । एकातिर नेपालमा अझै प्रभावकारी र पर्याप्त परीक्षण भएन भन्ने व्यापक जनगुनासो रहेको छ भने अर्कोतिर जति परीक्षण बढ्दै गयो उति नै संक्रमण थपिने कुरा विज्ञहरुले बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनले २०७६ फागुन मध्यतिर नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको सूची प्रकाशन गरेपछि नेपाल सरकारले यससम्बन्धी तयारी र सजगता अपनाउन विभिन्न योजनाहरु लागू गर्दै जाने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामान्यतया चैत्र महिनाको मध्यतिर सुरू हुने विद्यालयस्तरका वार्षिक परीक्षाहरु चैत्र ५ गतेभित्र सक्नुपर्ने निर्देशन जारी गर्दै क्रमशः चैत्र ६ गते सुरू हुने एसइई परीक्षा चैत्र ५ गते स्थगित ग¥यो भने चैत्र ११ गतेदेखि त लकडाउन (बन्दाबन्दी)को आदेश जारी गर्दै क्रमशः वैशाख ८ गतेदेखिको कक्षा १२ र वैशाख २१ गतेदेखिको कक्षा ११ का परीक्षाहरु समेत स्थगित भए, जसबाट करिब १४ लाख विद्यार्थीहरुको परीक्षा अन्योलमा रहेको छ । सामान्यतया वैशाख महिनाको पहिलो हप्ताबाट सुरू हुने नयाँ शैक्षिक सत्रको पठनपाठन कार्य हालसम्म सुचारू हुन सकिरहेको छैन भने अब कहिले विद्यालय खुल्छ र पठनपाठन सुचारू हुन्छ भन्ने कुरासमेत अन्योलमै रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्दै महामारीका कारण माध्यमिक शिक्षा परीक्षा स्थगित भएकोमा लाखौँ विद्यार्थीमा अन्योल रहेकोले सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रबन्ध मिलाउने र आवश्यक नीतिगत व्यवस्थासहित भर्चुअल कक्षाको समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्षअन्तर्गतको पठनपाठन सञ्चालनको काम अघि बढाइने भन्ने उद्घोष गरेसँगै जेठ १८ गते मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ समेत जारी गरेकोले अब स्थगन भएका परीक्षाको नयाँ तालिका वा उचित निर्णयसँगै स्थानीय तहको व्यवस्थापनमा महामारीकै बीचमा विद्यालयस्तरको पठनपाठन सञ्चालन हुनुपर्ने देखिन्छ ।

कोरोना संक्रमण र क्षति बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा अधिकांश आमविद्यार्थी तथा अभिभावकहरु त्रासमा रहेका छन् । यसै क्रममा लकडाउनलाई सहजीकरण गर्दै मानवीय दैनिकीलाई सहज गर्नुपर्ने आमजनताको माग तथा विज्ञहरुको सुझावलाई मध्यनजर गरी सरकारसमेत सहजीकरण गर्ने मनस्थितिमा रहेको देखिन्छ । अन्य कुरामा सहजीकरण हुँदा विद्यार्थीहरुले पढ्न पाएनन् भने उनीहरुमा कोरोनाको त्रास कायम रहिरहन्छ र शैक्षिक वर्षसमेत खेर जान सक्छ । शैक्षिक वर्षको धेरै ढिलो विद्यालय खोलेर गरिएको पढाइ सिकाउनेभन्दा पनि कोर्ष सक्नेमात्र हुन सक्छ, जसले विद्यार्थीहरुको भविष्यमै प्रश्नचिन्ह खडा गर्न सक्छ । तसर्थ, निर्देशिकाको मर्मअनुसार आषाढ १ गतेदेखि प्रत्येक पालिकाको व्यवस्थापनमा उपयुक्त वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्नु आजको आवश्यकता हो ।

कसरी प्रयोग गर्न सकिन्छ वैकल्पिक विधि

निर्देशिकाको दफा २ मा प्रविधि र वैकल्पिक प्रणाली शब्दलाई शिक्षण सिकाइमा प्रयोगमा आउने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइन माध्यम, परियोजना पाठहरु, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायतका अध्यापन सुचारू राख्ने विधि सम्झनुपर्दछ भनी परिभाषित गरेकोले अब स्थानीय तहले कुन प्रविधि आफ्नो पालिकामा सम्भव छ भन्ने कुरा यकिन गर्न सर्वप्रथम सर्वेक्षण गर्नु/गराउनुपर्ने देखिन्छ । त्यसपछिमात्रै पालिकालाई कति विद्यार्थीहरुको कुन प्रविधिसँग पहुँच छ र कतिसँग कुनै पनि प्रविधिको पहुँच छैन भन्ने कुराको यकिन गर्न र प्रविधि छनोट गर्न सहज हुन्छ ।

चितवन जिल्लाको कुरा गर्नुपर्दा सामुदायिक विद्यालयहरुमा करिब ४० प्रतिशत र संस्थागत विद्यालयहरुमा करिब ६० प्रतिशत विद्यार्थीहरुमा इन्टरनेटको पहुँच, सरदर ८० प्रतिशत अभिभावकहरुमा टेलिभिजन र ९० प्रतिशत अभिभावकहरुमा एफएम रेडियोको पहुँच भएको अनुमान गर्न सकिन्छ । यसरी हेर्दा वैकल्पिक विधिको छनोट गर्दा इन्टरनेट, एफएम रेडियो र टेलिभिजन तिनवटै विधिलाई सँगसँगै लैजान सके प्रभावकारी हुने देखिन्छ भने एफएम रेडियो र टेलिभिजनलाई छुटाउन मिल्ने देखिँदैन । जसका लागि पालिकास्तरबाट अध्ययन गरी जिल्लास्तरीय संयन्त्रवाट एफएम रेडियो र केन्द्रबाट टेलिभिजनलाई प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्दछ । शिक्षकहरुको व्यवस्थापनका लागि जिल्लाभरबाट विषयगत शिक्षकहरु छनोट गरी शिक्षक पुल बनाई जिम्मेवारी विभाजन गर्न सकिन्छ ।

रेडियोको प्रयोग (कम्तीमा चारवटा एफएम रेडियो व्यवस्था गर्नुपर्ने)

पूर्वप्राथमिक तह र प्रयोग गरेर देखाउनु नै पर्ने विषयबाहेक अन्य विषयहरुलाई पहिलो चरणमा जिल्लागतरुपमा समयसारिणी बनाएर प्राथमिक र माध्यमिक तह (कक्षा ४, ५, ६ र ७ को पहिलो समूह र कक्षा ८, ९, १० र एसइई दिने विद्यार्थीहरु समेतको दोस्रो समूह)लाई छुट्टाछुट्टै कम्तीमा दुईवटा एफएम रेडियो स्टेसन अंग्रेजी माध्यमलाई र दुईवटा रेडियो नेपाली माध्यमलाई व्यवस्था गरी परिचालन गरी बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ५ घन्टा (४५ मिनेटका ६ पिरियड, प्रत्येक पिरियडको बीचमा ५ मिनेट बे्रकसमेत गरी) व्यवस्था गर्न सकिन्छ । जसमा प्रत्येक कक्षालाई दैनिक १ पिरियड पाठ्यक्रमअनुसारको पठनपाठन गर्न सकिन्छ भने बाँकी २ पिरियड कक्षा आलोपालो गरेर अध्यापन गर्न सकिन्छ । जसबाट सबै कक्षालाई दैनिक एक पिरियड, अल्टरनेट दिनमा आलोपालोको १ पिरियड तथा अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गर्दा सबै विद्यार्थीहरुले दैनिक ३ पिरियडको लाभ लिन सक्छन् ।

टेलिभिजनको प्रयोग (कम्तीमा दुईवटा टेलिभिजनको व्यवस्था गर्नुपर्ने)

एफएम रेडियोको तुलनामा टेलिभिजनको प्रयोग जिल्लागतरुपमा अल्लि जटिल छ, किनकि स्थानीय केबुलको व्यवस्था गर्नुपर्ने हुन सक्छ । यसका लागि केन्द्रले नै व्यवस्था गर्न सके देशभरका विद्यार्थीहरु लाभान्वित हुन सक्छन् । जिल्लामै व्यवस्था गर्नुपर्ने भएमा पूर्वप्राथमिक तह (नर्सरी, केजी, एक, दुई र तीन कक्षा) र प्रयोग नै गरेर देखाउनुपर्ने विषयका लागि जिल्लामा कुनै २ टेलिभिजन च्यानल ( नेपाली र अंग्रेजी माध्यमका लागि छुट्टाछुट्टै)को व्यवस्था गरी दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म, ५ घन्टा (४५ मिनेटका ६ पिरियड, प्रत्येक पिरियडको बीचमा ५ मिनेट बे्रकसमेत गरी) व्यवस्था गर्न सकिन्छ । जसमा पूर्वप्राथमिक तहका ५ वटा कक्षालाई दैनिक एक–एक विषय अंग्रेजी र नेपाली माध्यमबाट र प्रयोग गरेर देखाउनुपर्ने सबै कक्षाका विषयका लागि आलोपालो १ पिरियड गरी पठनपाठनको व्यवस्था गर्न सकिन्छ ।

इन्टरनेटको प्रयोग

अहिलेको सबैभन्दा प्रभावकारी वैकल्पिक प्रविधि इन्टरनेट हो । जसमा अनलाइन, अफलाइन कुराकानी गर्न, लिखित सञ्चार आदनप्रदानलगायत विद्यार्थीसँग शिक्षकको दुईतर्फी सञ्चार गर्न सकिन्छ । तर, सबै अभिभावकहरुमा इन्टरनेटको पहुँच नभएकोले माथि उल्लेखित रेडियो र टेलिभिजनको प्रयोग गर्ने विधि लागू गर्दै गर्दा इन्टरनेटको प्रयोगलाई पनि छोड्नुहुँदैन र सँगसँगै लैजानुपर्दछ । जसको व्यवस्थापन विद्यालय स्वयंले गर्न सक्छन् । आफ्ना अभिभावकहरुको अवस्था र प्रविधिमा भएको पहुँचलाई अध्ययन गरी जुम, गुगल मिट, फेसबुक पेज, म्यासेन्जर, भाइबर, ह्वाट्स एप आदिबाट पठनपाठन गर्न÷गराउन सक्छन् भने मिदासलगायतका शैक्षिक साइटहरुबाट समेत लाभ लिन सक्छन् । जसमा रेडियो, टेलिभिजनको प्रयोगमा भएका अस्पष्टताहरु समेत निवारण गर्न सक्छन् भने रेडियो, टेलिभिजनको प्रयोगबाट अध्यापन गर्दा दिइएका गृहकार्यहरु हेर्न र सच्याउन पनि सक्छन् ।

अभिभावक—विद्यालय सम्पर्क

लकडाउन खुकुलोभएसँगै विद्यालयमा शिक्षकहरु नियमित आउने, शैक्षिक योजना बनाउने र विद्यार्थीहरुलाई उपलब्ध प्रविधिबाट सहजीकरण गर्ने गर्नुपर्दछ । त्यस्तो समयमा माथिका कुनै पनि प्रविधिमा पहँुच नभएका वा हुन नसकेका अभिभावकहरुले विद्यालयमा सम्पर्क गर्न सक्छन्, शिक्षकसँग सुरक्षित दूरी कायम गरी अन्तरक्रिया गर्न सक्छन्, बालबालिकाका लागि गृहकार्य आदि लैजान सक्छन् भने तयार भएको गृहकार्य बुझाउन पनि सक्छन् । त्यसका अतिरिक्त विद्यालयमा रहेका शिक्षकहरुले इन्टरनेटको पहुँच भएका विद्यार्थीहरुलाई विद्यालयबाटै सहजीकरणसमेत गर्न सक्छन् ।

नियमित पठनपाठन

हाम्रो देशमा हालसम्मको शिक्षण प्रणालीलाई हेर्दा माथिका जेजति उपायहरु छन् तिनीहरु सबै पूरक उपायहरुमात्रै हुन सक्छन्, एक–दुई महिना चल्न सक्छन् तर शिक्षाको स्तरलाई सुधार गर्न विद्यालय खोलेर नियमित पठनपाठनको अर्को विकल्प छैन । तसर्थ, स्वास्थ्य र सुरक्षाको ख्याल गर्दै नियमित पठनपाठनका लागि विद्यार्थी, अभिभावक, शिक्षक सबै शारीरिक, मानसिक र भौतिकरुपले तयार हुनु नै पर्दछ । जसमा अभिभावकहरुले आफ्ना बाबुनानीहरुको बानी घरैदेखि सुधार गर्दै केही सुविधा थप गरिदिनुपर्दछ भने विद्यालयहरुले समेत हिजोको पूर्वाधार र व्यवहारमा सुधार गर्न आवश्यक देखिन्छ, जस्तैः

— हाल नेपालभर करिब ३ हजार विद्यालयहरुमा क्वारेन्टाइन रहेकोले वैकल्पिक प्रविधिबाट पठनपाठन गर्दैगर्दा विद्यालयहरुको क्वारेन्टाइन सिप्mट गरी, हटाई सेनिटाइज गर्नुपर्दछ ।
— प्रत्येक विद्यालयमा कम्तीमा एक जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्दछ ।
— विद्यार्थीहरुलाई पञ्जा, मास्क, यथासम्भव फेस सिल्ड, झोलामा सेनिटाइजर र पानीको बोतल, चम्चासहितको खाजाको व्यवस्था मिलाई विद्यालय ल्याउने र लैजाने व्यवस्था स्वयंले मिलाई दिनुपर्दछ भने ज्वरो, रूघाखोकी, थकान आदि जस्ता कुनै लक्षण भएमा विद्यालय पठाउन हुँदैन ।
— विद्यालय खुल्नासाथ पहिलो चरणमै सबै विद्यार्थीहरुलाई एकैसाथ विद्यालयमा प्रवेश गराउँदा सामाजिक दूरी कायम गर्न कठिन हुने हुँदा प्रत्येक कक्षाका जोर–बिजोर रोल नम्बरलाई आलोपालो गरी हप्ताको ३ दिन विद्यालय आउने र ३ दिन घरमै अध्ययन गर्ने प्रणाली लागू गर्नुपर्दछ ।
— विद्यालय प्रवेश गर्नुभन्दा पहिला ज्वरोको जाँच, संक्रमणको लक्षणको अवलोकन गरी ठीक भएमा मात्र विद्यालय प्रवेश गराउने र प्रवेश गर्र्नासाथ साबुनपानीले हात धुने व्यवस्था, शौचालयलगायत कक्षाकोठाको सरसफाइ र आवधिक सेनिटाइजेसन गरी विद्यार्थी–विद्यार्थीबीचको दूरी (एक बेञ्चमा दुई जनामात्रै) कायम गरेर बस्ने व्यवस्था विद्यालयले मिलाउनुपर्दछ ।
— विद्यालयको सवारीमा विद्यार्थी ओसारपसार गर्न पहिलो चरणमा त्यति सम्भव देखिँदैन, तैपनि गर्नु नै परेमा पनि सिट संख्याको आधामात्रै ओसारपसार गर्नुपर्दछ भने सवारीको आवधिक सेनिटाइजेसन र सवारीभित्र प्रवेश गर्नुभन्दा पहिला पनि संक्रमणका लक्षणको निगरानी पनि आवश्यक छ ।
— विद्यार्थीहरुलाई घरबाटै खाजा ल्याउने अनिवार्य व्यवस्था र सम्भव नभएमात्रै विद्यालय क्यान्टिनमा प्याकेट खाजा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्दछ भने खाजा खाँदासमेत भौतिक दूरीलाई ख्याल गर्नुपर्दछ ।
— शिक्षक र विद्यार्थीहरुबीचमा पनि भौतिक दूरी कायम गर्दै अध्यापन गर्ने, सिकाउने बानीको विकास गर्नुपर्दछ भने शिक्षकहरुलाई अनिवार्यरुपमा फेस सिल्डको व्यवस्था हुनुपर्दछ ।
— विद्यार्थीहरुको शौचालय, धारा, क्यान्टिन आदिमा हुन सक्ने असुरक्षित भीडभाडलाई मध्यनजर राखी आलोपालो प्रणाली लागू गर्नुपर्दछ भने व्यवस्थापन पक्षले सूक्ष्म अवलोकन गरिरहनुपर्छ ।
— स्थिति सामान्य नहुञ्जेलसम्म विद्यालयमा हुने बिहानको प्रार्थना सभा, खेलकुद, भीडभाड हुने अतिरिक्त क्रियाकलापहरु पूर्णरुपले बन्द गर्नुपर्दछ भने योगा, प्राणायाम आदि सिकाउनुपर्छ ।

(लेखक सेवानिवृत्त प्रहरी अधिकृत तथा लाइसियम स्कुल रत्ननगरका प्रबन्ध निर्देशक हुन् ।)

[email protected]

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया