अस्वस्थ खानपिनबाट बचौँ

अन‌ि यो पनि

कोरोना भाइरसको विश्वव्यापी महामारी भइरहँदा संसारमा सबैभन्दा ठूलो धन स्वास्थ्य नै रहेछ भन्ने आभास सबैलाई भइरहेको छ । मानिसको शरीर स्वस्थ रहेमात्र धन कमाउन सकिन्छ । शरीर अस्वस्थ भएपछि धन खर्चेर पनि स्वास्थ्य फिर्ता गर्न सकिँदैन । अहिले पूर्णरुपमा स्वस्थ मानिस भेट्न त मुस्किल पर्छ, त्यसमाथि कोरोना प्रकोपले स्वस्थ मानिसलाई पनि मनोवैज्ञानिकरुपमा रोगी बनाएको छ । पछिल्लो समय हरेक परिवारमा एउटा न एउटा स्वास्थ्य समस्या नरहेको मानिस भेट्न गाह्रै पर्छ । त्यसकोे प्रमुख कारणचाहिँ खानपिन नै हो । आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुन नसक्दा जानी–नजानी मानिसहरुले विभिन्न किसिमका रोग निम्त्याइरहेका हुन्छन् । व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा बिक्रीवितरण गरिँदा पनि मानिसहरु रोगी बन्न पुगेका छन् । मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याउने अस्वस्थ खानेकुराको बिक्रीवितरण नियन्त्रण गर्नेतर्फ जिम्मेवार निकायले चासो देखाएको पाइँदैन । विशेषगरी, सार्वजनिक स्थल तथा मानवीय चाप बढी हुने स्थानहरुमा यस्ता खानेकुराको निर्बाध बिक्री हुने गर्दछ । स्वास्थ्यको दृष्टिले खानयोग्य नभए पनि कतिपय खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको पाइन्छ । सडकको फुटपाथ, चोक, चौबाटोदेखि चौतारासम्ममा जथाभावी पाइने खाद्य पदार्थ स्वास्थ्यवद्र्धक रहे÷नरहेकोबारे परीक्षण गर्ने परम्परा हामीकहाँ छैन ।

अस्वस्थ खाद्य पदार्थको सेवनबाट झाडापखाला, टाइफाइड, जन्डिसजस्ता संक्रमणयुक्त रोग लाग्न सक्ने चिकित्सकहरुले औँल्याएका छन् । अहिले कोरोना भाइरसका कारण जारी लकडाउनका कारण अस्पतालमा त्यति भीड छैन । तर, गर्मीको समयमा फोहोर खानेकुरा र दूषित पानीकै कारण अधिकांश रोग फैलिएको पाइन्छ । सरोकारवालाले अखाद्य पदार्थको सेवन रोक्ने अभियान चलाउन सकेको छैन । केही वर्षयता सस्तो खाजाका परिकार, चटपट, पानीपुरीलगायत साना व्यवसायीको जीवन बाँच्ने आधार नै सडकछेउमा भइरहेको पाइन्छ । सानो पुँजी हुने जोकसैले पनि यस्तो पेसा गरेर आफ्नो जीवन गुजारा चलाउन यस्ता अखाद्य वस्तुहरु बिक्री हुँदै आएका छन् । छिटो र मीठो हुने नास्ताका लागि युवा पिँढीको आकर्षण पनि हुने गर्छ । व्यापार गर्ने कतिपयलाई आफूले अस्वस्थ खानेकुरा बिक्री गरिरहेको ज्ञान नहुँदा र कतिपयले कमाइ हुने नाममा स्वास्थ्यका लागि घातक रसायनको प्रयोग गरी जथाभावी खानेकुरा बिक्री गर्ने गरिएको पाइन्छ । अहिले लकडाउनका कारण यस्ता खाद्यवस्तुको बिक्री छैन । बजार बन्द रहेका कारण मानिसहरु अस्वस्थ खाद्य पदार्थको सेवनबाट जोगिएका छन् । अहिले विभिन्न अस्पतालमा बिरामीको चाप घट्नुको कारण पनि यही हो ।

अस्वस्थ खाद्य पदार्थ नियन्त्रण गर्न सकिए धेरै व्यक्तिको जीवन स्वस्थ बन्न सक्छ । सार्वजनिक स्थानमा व्यापार गरेर जीवन धान्नेहरुलाई व्यवस्थित तरिकाले व्यापार गर्न सिकाउनुपर्छ । कतिपयले अज्ञानताका कारण अखाद्य पदार्थ बिक्रीवितरण गरिरहेका हुन सक्छन्, तिनीहरुलाई सचेतना दिलाउन सकिन्छ । कोहीले जानाजान अखाद्य रङ्ग मिसाइएका र मानव स्वास्थ्यका लागि असर पार्ने पदार्थहरु मिसाएर मिठाई तथा अन्य खाद्य परिकारहरु बिक्री गरिरहेका हुन सन्छन्, तिनलाई प्रभावकारी अनुगमन तथा गुणस्तर परीक्षण गरेर नियन्त्रण गर्न सकिन्छ । व्यवस्थितरुपमा सञ्चालन गरिएका भनिएका पसलहरुमा पनि खुलेआम जनस्वास्थ्यमा असर पुग्ने खालका खाद्य पदार्थ बिक्री भइरहेका हुन सक्छन् । त्यसका लागि अनुगमन बढाउनुपर्छ । उपभोक्ता स्वयंले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र छिटो र मीठोको पछि नलाग्ने हो भने रोग लाग्नबाट बच्न सकिन्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, पानी उमालेर पिउने, घरवरिपरि सरसफाइ गर्नेजस्ता सामान्य गतिविधिमा ख्याल राखे पनि धेरै हदसम्म निरोगी बन्न सकिन्छ । समयमै सचेत हुन सके गम्भीर स्वास्थ्य समस्या आउनुअगावै जोगिन पनि सकिन्छ । त्यसैले, स्वस्थकर खानपिनतर्फ सबैजना अग्रसर हुनु जरूरी देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया