लकडाउनले माडीका ११ वटा पुलको निर्माण कार्य ठप्प

अन‌ि यो पनि

भरतपुर । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरू भएपछि नेपालमा जारी भएको लकडाउनका कारण माडीमा निर्माणाधीन ११ वटा पुलहरुको निर्माण कार्य ठप्प भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको लामो समयसम्मको अवरोध हटेपछि गति लिएको पुल निर्माणको काम लकडाउनपछि पुनः रोकिएको छ । नेपालमा फागुनदेखि असारसम्मको अवधिमा पूर्वाधार निर्माणको कामले तीव्रता पाउने गर्छ । चैत ११ गतेपछिको लकडाउनका कारण माडीका पुलहरुको निर्माण कार्य भने ठप्प भएको हो ।

‘लकडाउनमा पूरै काम रोकिएको छ’, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर सञ्जय ठाकुरले भने, ‘सानोतिनो योजनाका लागि पनि सुरक्षा सतर्कता अपनाएर काम गर्न भनेर परिपत्र आएको छैन । हामीले समन्वय गरेर पास दिन्छौँ काम गर भनेको चाहिँ हो, लेबर भारत गइसक्यो भनेर काम सुरू गर्न सकेनन् ।’ पुल निर्माणमा काम गर्ने कामदारहरुमध्ये ५० प्रतिशत कामदार भारतीय भएको र उनीहरु नेपाल आउन नसकेको उनले बताए ।

भारत र नेपालमा कोरोना भाइरसको महामारी सामान्य नभएसम्म भारतीय कामदारहरु आउन नसक्ने परिस्थिति सिर्जना भएको छ । भदौ अन्तिम सातादेखि नेपाली कामदारलाई नै लगाएर पुलको काम सुरू गर्न सकिने उनको भनाइ छ । ‘अब बर्खा पनि सुरू भयो, खाल्डो खन्न सकिन्न, पानी जम्छ’, उनले भने, ‘भदौ अन्तिमदेखि नेपाली कामदार लगाएर काम सुरू गराउँछौँ ।’

योजना कार्यालयले ५ वटा पुलको म्याद थप गरेको छ । घाँघर, बगई र टुनामुना पुलको २०७७ फागुन ६ गतेसम्म, परवी र पतरी पुलको २०७७ माघ २ गतेसम्मका लागि म्याद थप भएको उनले जानकारी दिए । रतनी खोला पुलको म्याद २०७८ भदौ २५ गतेसम्म छ भने भालु खोला र चितई खोला पुलको म्याद २०७८ असोज ५ गतेसम्मका लागि छ । रिमाल खोला पुल करिब डेढ वर्षअगाडि नै निर्माण सम्पन्न भएको हो । बाँदरमुढे र मुगई खोला पुलको २०७६ असार र रिउ खोला पुलको २०७६ असोजमा नै म्याद सकिए पनि अझैसम्म म्याद थप गरिएको छैन ।

‘आवश्यकताअनुसार पुलहरुको म्याद थप गरेका थियौँ, यस्तो परिस्थिति सिर्जना भयो’, उनले भने, ‘लकडाउन अवधिजतिको म्याद पुनः थपिन सक्छ, त्यसपछि पनि काम नसकिए ठेकेदारलाई जरिवाना गर्छौं ।’ फागुनदेखि असारसम्ममा पुल निर्माणको ७० प्रतिशत काम सकिने अपेक्षा गरिएको उनले बताए । रिउ खोला पुल निर्माणमा निकुञ्जले अझै पनि अवरोध सिर्जना गरिरहेको उनी बताउँछन् ।

माडीको बनकट्टा–ठोरी सडकअन्तर्गत पर्ने नौ पुलको निर्माण सम्झौता २०७४ असारमा भएको हो । चितई, भालु र रतनी खोला पुल निर्माणको सम्झौता भने २०७६ असोजमा भएको हो । माडीमा निर्माणाधीन पुलहरुमध्ये परवी पुलको भौतिक प्रगति ४० प्रतिशत छ भने चितई खोला पुलको निर्माण कार्य अझै सुरू भएको छैन । अन्य नौ पुलको प्रगति १६ प्रतिशतदेखि २७ प्रतिशतसम्म पुगेको छ ।

माडीमा निर्माण सम्पन्न भएको एकसहित १२ वटा पुल निर्माणको लागत ७२ करोड ४७ लाख ८५ हजार २८७ रूपैयाँ रहेको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया