नमस्कार गर्नुका सात सन्दर्भ

अन‌ि यो पनि

कतै नयाँ ठाउँमा गएर कुनै नयाँ व्यक्तिसित केही नयाँ जानकारी लिनुपूर्व हामी उसलाई नमस्कार गर्दछौँ र आवश्यक सूचना प्राप्त गर्ने प्रयास गर्दछौँ । चिनजानका, मानसम्मानका वा अन्य विशिष्ट व्यक्तिलाई भेट्दा पनि हामी नमस्कार अथवा नमस्ते भनेर सम्बोधन गर्दछौँ । विद्यालयमा विद्यार्थीहरुले गुरू–गुरूआमालाई भेट्नासाथ ‘नमस्कार’ अथवा नमस्ते भनेर अभिवादन गर्ने गर्दछन् । कुनै कार्यालयमा जाँदा हामी सम्बन्धित हाकिम वा कर्मचारीलाई नमस्तेको अभिवादन व्यक्त गर्दछौँ र मात्र कामकुरामा प्रवेश गर्दछौँ । पाहुना भएर कोही घरमा आउँदा अथवा आफू पाहुना भएर कसैका घरमा जाँदा पनि हामी नमस्ते अथवा नमस्कारको अभिवादन आदानप्रदान गर्दछौँ र अन्य विषयप्रवेश गर्दछौँ । कसैलाई स्वागत गर्नुपर्दा पनि नमस्कार सबैभन्दा पहिला गर्न मन लाग्छ । कतै कुनै व्यक्तिसितको भेटघाटका क्रममा पनि सबैभन्दा पहिला हामी नमस्कार नगरी थप कुरा अघि बढाउँदैनौँ । यसप्रकार, नमस्कारका माध्यमले एकअर्काप्रति अभिवादन गर्ने हाम्रो जुन संस्कार छ, वास्तवमा यसको विज्ञान के हो ? यसको अर्थ के हो ? नमस्ते गर्नुका रहस्यहरु के–के हुन् ? आउनुस्, आज यही विषयमा सत्सङ्ग गरौँ ।

१. अर्काको अस्तित्वको स्वीकार, स्वागत र सम्मान

नमस्कार अथवा नमस्ते गर्दा दुवै हातका औँला र हत्केला परस्परमा जोडेर दुवै हातलाई छातीमा टाँसी हलुका शिर झुकाएर मुस्कुराउँदै सुमधुर आवाजमा ‘नमस्कार अथवा नमस्ते’ भनेर भन्ने गरिन्छ । यही नमस्कारको विधि हो । नमस्ते शब्दलाई सन्धिविच्छेद गर्दा ‘नमः+ते’ हुन्छ । संस्कृतमा ते शब्दको अर्थ तपाईं भन्ने हुन्छ । नमःको अर्थ नमन, ढोग, सम्मान, अभिवादन वा झुकाइ भन्ने हुन्छ । नमस्तेको अर्थ यसरी हेर्दा ‘तपाईंको अगाडि म नतमस्तक हुन चाहन्छु, झुक्न चाहन्छु अथवा सम्मान व्यक्त गर्न चाहन्छु’ भन्ने हुन्छ । यसो हो भने व्यक्ति त्यसरी किन कसैको अगाडि झुक्नु प¥यो त ? किन नतमस्तक हुन आवश्यक छ त ? भन्ने प्रश्न उठ्छ । त्यसको उत्तर पनि यही ‘नमस्ते’भित्रै खोज्ने प्रयास गरौँ ।

नमः भन्ने शब्दलाई पनि अलग गरेर हेर्दा विशेष अर्थ निस्कन्छ । ‘नमः’ को ‘न’ र ‘म’ले बेग्लाबेग्लै अर्थलाई एकैसाथ वहन गरिरहेका छन् । ‘न’को अर्थ होइन, छैन, भन्ने हुन्छ भने म को अर्थ म, आफू भन्ने हुन्छ । ‘नमः’को एकैपटक अर्थ बोध गर्दा ‘म होइन’ भन्ने हुन्छ । अब नमःको ‘म होइन’ र ‘ते’को तपाईं भन्ने अर्थलाई एकै ठाउँमा ल्याउँदा ‘म होइन, तपाईं भन्ने हुन्छ । यसपछि नमस्तेको पूरा अर्थलाई गहिराइका साथ बुझ्दा ‘जसलाई मैले नमस्कार गरिरहेको छु, अर्थात् जो मेरो आँखाअगाडि हुनुहुन्छ, तपाईं विशेष हुनुहुन्छ । म खासमा केही होइन । मभन्दा तपाईं खास हुनुहुन्छ । तपाईंका कारण म अस्तित्वशाली हुने अवसर पाएको छु । तपाईंकै कारण मेरो गौरव बढेको छ । यसैले, म तपाईंको अगाडि झुक्छु्, नतमस्तक हुन्छु र सम्मान व्यक्त गर्दछु’ भन्ने अर्थ लाग्छ । नमस्ते र नमस्कारको अर्थ उही हो । यसरी बुझ्दा नमस्ते अर्थात् नमस्कार गरेर हामीले आफूअगाडिको व्यक्तिलाई अर्थात् नमस्कार गर्दै गरेको व्यक्तिलाई आफूलाईभन्दा धेरै सम्मान, स्वीकार र श्रद्धा व्यक्त गरिरहेका हुन्छौँ । नमस्कार गरेर हामीले आफूअगाडिको मानिसलाई स्वीकार गरिरहेको, उसको उपस्थितिलाई स्वागत गरिरहेको र उसको विशेषताका अगाडि श्रद्धा प्रकट गरिरहेको भाव व्यक्त गरिरहेका हुन्छौँ । अर्काको अस्तित्वलाई उत्तिकै श्रद्धा र प्रेमका साथ उदार भावले स्वीकार्नु यो नमस्कार गर्नुको पहिलो अर्थ हो ।

२. अरुसितको आध्यात्मिक र आत्मिक सम्बन्धको प्रयास

नमस्कार गर्ने व्यक्तिले झुकाउन त शिर नै झुकाएर नमस्कार गरेको हुन्छ, तर त्यो उसको हृदय झुक्नुको बिम्ब हो । आफूअगाडिको व्यक्ति पनि शरीरमै हुन्छ, तर पनि उसभित्रको आत्मालाई सम्मान गरिएको हुन्छ । नमस्कार यसैले एउटा आत्माको अर्को आत्माप्रतिको सम्मान हो, एउटा हार्दिकताको अर्को हार्दिकताप्रतिको निष्ठा हो । अझ यसो भनौँ नमस्कारको आदानप्रदानका माध्यमले दुई भिन्नभिन्न शरीरमा रहेका आत्माहरु नजिकिने प्रयास गरिरहेका छन्, हृदयहरु एकीकृत हुने प्रयास गरिहेका छन् । यसरी हेर्दा नमस्कार दुई व्यक्तिबीचको आत्मिक सम्बन्धलाई सुदृढ बनाउनुको सूचक हो । शरीर–शरीरबीचको सम्बन्ध त छुट्नैपर्छ, कहिल्यै पनि एकैसाथ रहन सक्दैन । दुई शरीरबीचको सम्बन्ध त एकदम क्षणिक हो, अहिले छ, भरे छैन । हिजो थियो, आज छैन । मानिसले क्षणिक सम्बन्धमा होइन, अनन्त र शाश्वत सम्बन्धमा विश्वास गर्नुपर्दछ । नमस्कार दुई व्यक्तिलाई आत्मिक एकताका माध्यमले अनन्त अनन्तसम्म एक तुल्याउने विधिको नाम हो, अथवा यसो भनौँ नमस्कार व्यक्तिव्यक्तिबीचको आध्यात्मिक सम्बन्धको प्रस्ताव हो ।

३. अध्यात्मको यात्रा

नमस्कार गर्ने व्यक्तिले कहिल्यै पनि आफूअगाडिको व्यक्तिको सुन्दर नाक अथवा मुखलाई देखेर नमस्कार गरेको हुँदैन । न त उसको जीउडाल, आँखा वा चौडा निधार देखेर नै गरेको हुन्छ । उसले त व्यक्तिभित्रको चेतनालाई अभिवादन गरेको हुन्छ, व्यक्तिभित्रको शाश्वत र आनन्दमय सत्तालाई सम्मान गरेको हुन्छ । यसैले यो विशुद्ध आध्यात्मिक यात्रा हो । एउटा आत्मादेखि अर्को आत्मासम्म पुग्ने बहाना हो । नमस्कार गर्ने व्यक्ति दिन प्रतिदिन आध्यात्मिक हुँदै जान्छ, आत्मिक र ईश्वरीय हुँदै जान्छ । उसले हरेकलाई ईश्वर देखेको हुन्छ । त्यसैले, सबैभित्र ईश्वरको दिव्य दर्शन गरेको महान् अनुभूति गर्नेहरुले नै नमस्कार गर्न सक्छन् । आफूलाई ईश्वर ठान्ने र अरुलाई भुसुना ठान्नेहरुले न कसैलाई नमस्कार गर्न सक्छन्, न त कसैको नमस्कार प्राप्त गर्न नै सक्दछन् । ती वास्तवमा नास्तिक हुन्, जसले कसैको पनि अस्तित्व स्वीकार्दैनन् । नमस्कारले हामीभित्र त्यो दैवी र चिन्मय सत्तासित सधैँ नजिक रहिरहनुपर्छ भन्ने परमबोध गराउँदछ ।

४. सकारात्मक ऊर्जाको प्रवाह र प्रसारण

हात मिलाउँदा होस्, चुम्बन गर्दा होस् वा अङ्कमाल गर्दा होस्, व्यक्तिभित्र सकारात्मकभन्दा धेरै नकारात्मक भाव पैदा हुन्छ र त्यसैअनुसारको ऊर्जा प्रसारण हुन पुग्छ । समान लिङ्गीहरुले हात मिलाउँदा, चुम्बन गर्दा वा अङ्कमाल गर्दा नकारात्मक ऊर्जा प्रसारण नभए पनि विपरीत लिङ्गीहरुले त्यसो गर्दा नकारात्मक ऊर्जाको प्रसारण हुने गर्दछ । एक जना कुनै परिचित वा अपरिचित महिलाले परिचित वा अपरिचित पुरूषसित अङ्कमाल गर्दा, हात मिलाउँदा वा चुम्बन गर्दा शरीर रातो नहुने, नकाम्ने, तरङ्ग पैदा नहुने, सासको गति नबढ्ने र मनमा अनेक कुरा नखेल्ने भन्ने हुँदैन । तर, कुनै पनि पुरूष वा महिलाले कुनै पनि पुरूष वा महिलालाई नमस्कार गर्दा त्यस्तो कुनै पनि प्रतिक्रिया शरीरमा पैदा हुँदैन । उसको भाव अत्यन्त सा¤िवक हुन्छ, पवित्र हुन्छ र निर्मल हुन्छ, किनकि नमस्ते मुद्राले जहिले पनि सकारात्मक ऊर्जामात्रै प्रवाह वा प्रसारण गर्दछ ।

बरू यदि कोही अपवित्र छ, वा कसैको भावना कामक्रोध र वासनाजन्य छ भने उसले धेरैभन्दा धेरै नमस्तेको अभ्यास ग¥यो भने उसभित्र पवित्रता बढेर जान्छ । एउटा युवाले एउटी युवतीलाई अभिवादन गर्दा हात मिलायो वा गला मिलायो भने उसको शरीरमात्रै मिलेको हुन्छ, तर नमस्कार ग¥यो भने उसले आत्मा मिलाएको हुन्छ, हृदय मिलाएको हुन्छ, उसको हृदयभित्रको चैतन्य र सौन्दर्यसित एकाकार भएको हुन्छ । संसारकी जति नै सुकै सुन्दर युवती होस्, अथवा जति नै सुकै सुन्दर युवक होस्, नमस्कार गर्दा कोही कसैका कारण उत्तेजित हुनुपर्दैन, उद्वेलित हुनुपर्दैन । यसको अर्थ नमस्कार गर्दा हामीभित्रको उत्तेजना र कामवासना पनि संयमित भएका हुन्छन्, अथवा व्यवस्थित भएका हुन्छन् ।

५. सबैलाई स्मरणको प्रयास

आज मानिससित सबै छ, तर सम्मान र प्रतिष्ठा छैन । पैसा कमाएर के गर्नु । पैसालाई सम्झन खोज्दा सबैलाई बिर्सिएको अवस्था छ । यसो बाहिर निस्कँदा दुई हात जोडेर कसैले नमस्कार गर्दैन । समय अहङ्कारको छ, कामवासनाको छ । यस्तो समयमा कसले कसलाई सम्मान गर्नु ? कसले कसलाई इज्जत गर्नु । नमस्कारको खडेरी परेको यो समयमा यदि हामीलाई कसैले नमस्कार गरेको छ भने उसलाई हामीले कहिल्यै पनि बिर्संदैनौँ । हामीले पनि यदि नमस्कार गरेका छौँ भने हामीलाई पनि सबैले सम्झन्छन्, किनकि नमस्कारका कारण हामीभित्रको ईश्वर खुसी भएको हुन्छ, हामीभित्रको अहम् तुष्ट भएको हुन्छ । अर्को कुरा, शरीरसितको सम्बन्धको कुरा मानिसले बिर्सन सक्छ, तर आत्मासित सम्बन्धको कुरा कहिल्यै बिर्संदैन । यसैले, नमस्कार सदास्मरणको प्रयास पनि हो ।

६. प्रेमको अभिव्यक्ति

मानिसहरुले प्रेम अभिव्यक्त गर्ने अनेक विधिहरु छन् । कसैले चुम्बन गरेर, कसैले, अङ्कमाल गरेर, कसैले शारीरिक सम्पर्क राखेर, कसैले उपहार दिएर त कसैले फूल दिएर प्रेमको विनिमय गर्ने पाश्चात्य संस्कृति छ । तर, हामीकहाँ प्रेम प्रकट गर्ने सबैभन्दा सुन्दर विधि छ, त्यो हो— नमस्कार । गोपिनीहरु भगवान् कृष्णलाई अत्यन्त प्रेम गर्दथे । भगवान्ले पनि प्रेम गर्नुहुन्थ्यो । एकदिन तलाउमा नुहाउँदै गरेका गोपिनीहरुका वस्त्र हरण गरेर लुकाइदिनुभयो । त्यसपछि गोपिनीहरु समस्यामा परे । भगवान्लाई फकाउनु र खुसी बनाउनुबाहेक अर्को कुनै उपाय थिएन । भगवान् पनि उनीहरुको प्रेम चाहनुहुन्थ्यो । उनीहरु पनि भगवान्लाई प्रेम नै गर्न चाहन्थे । तर, उनीहरुले भगवान्लाई चुम्बन गरेनन्, अङ्कमाल पनि गरेनन्, संसर्ग पनि गरेनन् । त्यसो भए के गरे त ? सबै गोपिनीहरुले दुई हात जोडेर प्रार्थना गरे, नमस्ते गरे । नमस्ते गरेर तिनले आफूभित्रको प्रेम परमात्मासम्म पु¥याएका थिए । त्यसपछि नै नमस्ते अर्थात् नमस्कारको संस्कार अघि बढेको हो भनेर पनि मानिन्छ ।

अङ्ग्रेजीमा ‘लस्ट’ र ‘लभ’ भन्ने दुई शब्द छन् । लस्टले काम, वासना, यौनप्र्रतिको आकर्षणलाई बुझाउँछ भने लभले प्रेमलाई बुझाउँछ । लस्ट भनेको माया हो । माया शरीरले शरीरलाई गर्दछ, तर प्रेम हृदयले हृदयलाई गर्छ । माया गर्दा एउटा शरीर र अर्को शरीर परस्परमा जोडिनु र छोइनुपर्ने हुन सक्छ, तर प्रेम गर्दा पर्दैन । प्रेम गर्दा त एउटा हृदय अर्को हृदयसित जोडिन्छ । हृदय हृदयलाई जोड्ने भनेकै नमस्कार हो, नमस्ते हो । त्यसैले, नमस्ते प्रेम प्रकट गर्ने सुन्दरतम विधि हो ।

प्रेम कहिल्यै पनि सापेक्ष हुँदैन । भए पनि ठीकै छ, नभए पनि ठीकै छ, किनकि यो आसक्ति होइन । चुम्बन गर्ने मानिसले त्यो चुम्बन गरेको दृश्य झलझली सम्झिएर बारम्बार त्यसरी नै चुम्बन गर्न पाए हुन्थ्यो भन्ने सोच्न सक्छ, तर नमस्कार गर्ने मानिसले कहिल्यै सोच्दैन । यदि सोची नै हाल्यो भने पनि उसलाई नमस्कार गर्नबाट कसैले रोक्न सक्दैन । त्यसैले, प्रेम गर्न कति सजिलो छ ! तर, माया गर्न गाह्रो छ । माया गर्न गाह्रो छ भन्नुको अर्थ शरीर र शरीरको जोडलाई सधैंँ लोकले अनुमोदन गर्न सक्दैन, तर नमस्कार सदियौँदेखि अनुमोदित छ ।

७. ज्ञान र विनम्रताको प्रदर्शन

नमस्कारको अर्थ नै ‘मभन्दा तपाईं खास र विशेष भएका हुनाले म तपाईंका अगाडि झुक्छु’ भन्ने भएका हुँदा नमस्कार गर्ने मानिस घमण्डी हुनै सक्दैन । नमस्कारले व्यक्तिभित्रको वासनालाई जसरी नियन्त्रित गर्दछ, त्यसै गरी क्रोध र अभिभानलाई पनि कमजोर बनाइदिन्छ । अभिमानी व्यक्ति सितिमिती नमस्कार गर्न चाहँदैन, किनकि नमस्कारमा अहम्लाई पीडा हुन्छ, छटपटी हुन्छ । तर, जब नमस्कार गर्दछ, व्यक्तिभित्रको सरलता मुखरित हुन पुग्छ, विनम्रता पुष्पित हुन पुग्छ । ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ भनेजस्तै व्यक्ति भित्रैदेखि जागृत हुन्छ । उसलाई आफूभित्र पर्याप्त अज्ञान रहेको महसुस हुन्छ । उसले अरुलाई पनि आफूजस्तै विनम्र देख्छ, अथवा आफूभन्दा पनि विशिष्ट देख्छ, त्यसैले झुक्दछ । विनम्र मानिसलाई सबैले मन पराउँछन् । तसर्थ, नमस्कार आफूभित्रको विशिष्ट ज्ञान र विनम्रता प्रदर्शन गर्ने अत्युत्तम तरिका पनि हो ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया