रङ्गशाला महायज्ञमा उठेको रकम फाउन्डेसनलाई हस्तान्तरण

अन‌ि यो पनि

रामपुर । चितवनमा निर्माणाधीन रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन माघ १९ गतेदेखि २७ गतेसम्म गरिएको बृहत् धनधान्याचल महायज्ञमा उठेको सहयोग रकम रङ्गशाला निर्माणको संयोजन गरेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिएको छ ।

महायज्ञ मूल समारोह समितिका संयोजक विजय सुवेदी, प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सोमबार एक समारोहका बीच सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

महायज्ञमा बोलकबोल भएको ६९ करोड ४० लाख ५६ हजार ९ सय १९ रूपैयाँ ६८ पैसा रकममध्ये नगद संकलन भएको ७ करोड १४ लाख ५६ हजार ६ सय ८४ रूपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

प्रदेश र स्थानीय तहले घोषणा गरेको ५१ करोड ९२ लाख ६५ हजार २ सय ६३ रूपैयाँ रकम उठ्न बाँकी छ । महायज्ञमार्फत २८ हजार दाताले रङ्गशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । उनले ७ वर्षदेखि १ सय २ वर्षसम्मका नागरिकले दान गरेको बताए ।

महायज्ञमा निजी क्षेत्र, संघसंस्था र नागरिकका तर्फबाट १७ करोड ४६ लाख रूपैयाँ सहयोगको घोषणा गरिनुका साथै प्रदेश सरकारले प्रदान गर्ने ३० करोड रूपैयाँ बहुवर्षीय टेन्डर प्रक्रियाअन्तर्गत रहेर काम अघि बढाइने महायज्ञ मूल समारोह समितिका संयोजक विजय सुवेदीले बताए ।

भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले २ करोड २२ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

संकलित कुल रकमको अधिकांश हिस्सा सरकारी सहयोग रहेको र रङ्गशालालाई अब दानलाई अनुदानमा बदल्न गाह्रो हुने भएकोले नेपालको ऐन कानुनअनुसार संघीय मन्त्रिपरिषद्को निर्णयबाट अनुदान दिन मिल्ने भए पनि प्रदेश र स्थानीय सरकारले अनुदान स्वीकृत गर्न नसक्ने देखिएको हुँदा धेरैजसो सरकारी कार्यालयले भौतिक संरचना बनाई फाउन्डेसनलाई हस्तान्तरण गर्न सक्ने संयोजक सुवेदीले बताए ।

उनले महानगरपालिकाबाट प्रदान गर्ने रकमका सम्बन्धमा केही कानुनी जटिलता उत्पन्न भएकाले त्यसलाई समाधान गर्दै रङ्गशाला निर्माणका लागि खर्च गरिने बताए । उनले दिल खोलेर दान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद पनि दिए । महायज्ञमा पाँच हजारभन्दा बढी दान गर्नेहरुको स्मारिका र अन्यको वेबसाइटमा नाम र रकम उल्लेख गरिने सुवेदीले बताए ।

उनले तत्काल समिति विघटन भइनसकेको भन्दै रकम उठाउन र रङ्गशाला निर्माणमा सहयोग पु¥याउन असार मसान्तसम्म काम गर्ने जानकारी दिए ।

सो हस्तान्तरण कार्यक्रममा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले दाताहरुलाई महायज्ञमा बोलेअनुसारको रकम सहयोग गर्न आग्रह गरे । उनले बन्दाबन्दीका कारण रङ्गशाला निर्माणको काम प्रभावित भए पनि भित्रभित्रै काम गरिरहेको बताए ।

जनस्तरबाट निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यअन्तर्गत डेढ महिनामै मैदानको ८० प्रतिशत काम सकिनुका साथै कोरोनाको विश्वव्यापी महामारीको कारण केही ढिलाइ भए पनि काम नरोकिएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताए ।

उनले केही महिनामा नै प्यारापिटबिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउन्ड तयार हुने गरी काम युद्धस्तरमा अघि बढेको बताए । आयोजना समयमै सम्पन्न गर्नका लागि आर्थिक अभाव हुन नदिन फाउन्डेसनलाई कबोल रकम समयमै दिएर सहयोग गर्न उनले आग्रह गरे ।

सो अवसरमा प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी तथा महायज्ञ मूल समारोह समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया