खाद्यको प्रतिवेदन : दुईवटा मुद्दा दर्ता, २६ नमुनाको अनुसन्धान हुँदै

अन‌ि यो पनि

भरतपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनले आर्थिक वर्ष ०७६/७७ को दोस्रो चौमासिकसम्मको बजार अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । खाद्य प्रविधिले चालू आवको फागुन मसान्तसम्ममा १५२ वटा फर्महरुको अनुगमन तथा निरीक्षण गरेको छ । चैत पहिलो सातासम्म खाद्यले केही फर्महरुको अनुगमन गरे पनि चैत ११ देखि लकडाउन भएपछि बजार अनुगमन प्रभावित भयो ।

यस अवधिमा खाद्य ऐन–२०२३ विपरीत कार्य गरेको कसुरमा दुईवटा मुद्दा दायर भएको छ । न्यून गुणस्तरको तोरी र सूर्यमुखी तेल उत्पादन गरेको कसुरमा खाद्यले खैरहनी–६ स्थित ओमकार आयल इण्डष्ट्रीविरूद्ध पुस २० गते जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको हो । मुद्दाको फैसला भइसकेको छैन । ओमकारका प्रोप्राइटरलाई पाँच वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक प्रदीप काफ्लेले जानकारी दिए ।

त्यस्तै, न्यून गुणस्तरको मकैको च्याँख्ला बिक्रीवितरण गरेको कसुरमा भरतपुर–१६ स्थित लुना फुड प्रोसेसिङ एण्ड मार्केटिङ प्रालिविरूद्ध पुस २० गते नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको उनले जानकारी दिए । लुना फुडसँग १ हजार रूपैयाँ जरिवाना मागदाबी गरिएको छ । मुद्दाको फैसला भने भएको छैन । पुरानो केस भएकाले पुरानै ऐनअनुसार मुद्दा दायर गरिएको उनको भनाइ छ ।

खाद्य पदार्थका ७८ वटा नमुनाको गुणस्तर परीक्षणका लागि हेटौँडा पठाइएकोमा ५० वटाको मात्रै रिपोर्ट आएको हो, जसमा नौवटा नमुना कैफियत भेटिएका थिए । डेरी घिउ, सिन्के चाउचाउ, चियापत्ती, प्रशोधित सूर्यमुखी तेल, सोया सस् र अल्कोहलिक वेभरेजको रिपोर्ट कैफियत आएको हो । दाना पदार्थका ८ वटा नमुनाको गुणस्तर परीक्षणका लागि पठाइएकोमा अहिलेसम्म रिपोर्ट आएको छैन ।

नयाँ र पुराना गरी अझै २६ वटा नमुनाको अनुसन्धान हुँदैछ । ‘खाद्यको कार्यालय स्थापना भएपछि नौवटा नमुनामा कैफियत भेट्याँै’, उनले भने, ‘कैफियत भेटिएका पुराना नमुनाहरुको पनि तीन चरणमा गरेर अनुसन्धान गरिरहेका छौँ, कतिपय फाइलहरु पूर्ण छैनन् भने कतिपय फर्महरु नै भेटिएका छैनन् ।’ खाद्यको कार्यालय स्थापना भएको करिब डेढ वर्ष भयो ।

कैफियत भेटिएका २६ वटा नमुनामध्ये दुईवटाको मुद्दा दर्ता अन्तिम चरणमा पुगेको उनले बताए । पाँचवटाको अनुसन्धान भइरहेको छ भने सातवटा नमुना बाहिरी जिल्लाका छन् । बाहिरी जिल्लाका उत्पादनहरु भएकाले प्रारम्भिक अनुसन्धान सकेर सम्बन्धित जिल्लामा नै मुद्दा दर्ताका लागि पठाइएको उनले जानकारी दिए । ‘पुराना १२ वटा नमुनाको प्रमाण जुटाउने र बयान लिने काम भइरहेको छ, लकडाउनका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन’, उनले भने ।

नौ होटललाई कारबाही

राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा खाद्यले आइतबार प्रतिवेदन सार्वजनिक गरेको हो । खाद्यले दोस्रो चौमासिकसम्ममा खाद्य स्वच्छता कायम नराख्ने नौवटा होटललाई कारबाही गरेको छ ।

खाद्य स्वच्छता कायम नगर्ने ६ वटा होटलको किचन बन्द गराइएको खाद्य प्रविधिले जनाएको छ । स्थानीय निकायको समन्वयमा तीनवटा होटललाई भने जनही पाँच हजार रूपैयाँ जरिवाना तिराइएको खाद्य निरीक्षक प्रदीप काफ्लेले बताए ।

त्यस्तै, बिनादर्ता सञ्चालित एउटा आइसक्रिम उद्योग बन्द गराइएको र कमजोर पूर्वाधारमा सञ्चालन भइरहेको एउटा सस् उद्योगलाई २१ दिनसम्म उत्पादन बन्द गराइएको उनले बताए ।

अखाद्य पदार्थ नष्ट

खाद्यले १४० वटा होटल तथा रेस्टुरेन्टहरुको अनुगमन एवम् निरीक्षण गरेको छ । त्यस्तै, ८३ वटा खाद्य उद्योगहरुको अनुगमन भएको छ ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएको तीन सय लिटर हल्का पेय पदार्थ र जुस, पटकपटक प्रयोग गरिएको ७० लिटर फ्राइड तेल, लेबल नभएको १५० लिटर चूक अमिलो र अस्वाभाविक फोहोरी स्थानमा तयार गरिएको ३६ किलो मासु, तरकारी र ४० प्लेट नष्ट गरिएको खाद्य निरीक्षक प्रदीप काफ्लेले जानकारी दिए ।

फोहोर ठाउँमा बनाइएको ५० किलो मिठाई, उपभोग्य मिति सकिएको १५० प्याकेट मसला, उपभोग्य मिति सकिएको २० डब्बा फुड कलर र फ्लेवर र लेबल नभएको एवम् उपभोग्य मिति सकिएको ३०० प्याकेट पाउरोटी, चकलेट र चिप्सलगायतका अखाद्य पदार्थ नष्ट गरिएको खाद्यले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया