एकैदिन तीन स्वास्थ्यकर्मीसहित ३० जनामा संक्रमण

अन‌ि यो पनि

भरतपुर । कोरोनाबाट चितवन सुरक्षित नै छ भन्ने आमधारणालाई सोमबार आएको रिपोर्टले भताभुङ्ग पारेको छ । भरतपुरको कोरोना ल्याबले दिएको नतिजाअनुसार एकैदिन सोमबार ३० जनामा संक्रमण पुष्टि भएपछि सुरक्षित नै छ भनिएको चितवनमा त्रास फैलिएको थियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले ३० संक्रमितमध्ये २१ जना चितवन जिल्लाका मात्र छन् । उनका अनुसार पाँच जना नवलपरासीका र एक जना धादिङ जिल्लाका छन् । संक्रमितमध्ये तीन जना चितवनका स्वास्थ्यकर्मी हुन् ।

संक्रमित ३० मध्ये क्यान्सर अस्पतालमा उपचारमा रहेकी संक्रमित महिला सप्तरीकी हुन् । उनी डिस्चार्ज भइसकेकी छन् । पुरानो मेडिकल कलेजका संक्रमित बिरामीको ठेगाना खुलेको छैन ।

‘क्वारेन्टाइनमा बसेका मात्रैलाई कोरोना देखिएको भए सुरक्षित महसुस हुन्थ्यो, तर समुदायमा पनि कोरोना भेटियो’ प्रमुख तिवारीले भने, ‘तीन स्वास्थ्यकर्मी र अस्पतालका बिरामीलाई देखियो, ती त क्वारेन्टाइनमा थिएनन्, जसका कारण समुदायभित्र अझै कोरोना संक्रमित छन् भन्ने पुष्टि हुन्छ ।’ उनले स्वास्थ्यकर्मीलाई बिरामीबाट कोरोना सरेको हुन सक्ने जानकारी दिए ।

उनले पछिल्लो समय चितवनमा लकडाउनको अवज्ञा गर्ने संख्या बढ्दै गएको हुनाले अवस्था भयावह आउन सक्ने चेतावनीसमेत दिए । उनले भने, ‘हालसम्म कन्ट्याक ट्रेसिङ गर्न सक्ने अवस्था छ, तर लकडाउन उल्लंघन बढ्दै गएर समुदायमा कोरोना फैलिन थाल्यो भने कसको सम्पर्कमा को छ, कसैलाई पत्तो हुँदैन, अवस्था डरलाग्दो हुन सक्छ ।’

संक्रमित भएका तीन बिरामी र तीन स्वास्थ्यकर्मीलाई कोरोना भेटिएको हुनाले चितवनको समुदायभित्रै कोरोना छ भन्ने पुष्टि गर्ने आधार बनेको छ । संक्रमितहरुको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमित चिकित्सकमध्ये एक जनामात्र बिरामीको उपचारमा खटिएका थिए । अर्का एक जना चिकित्सक कुनै पनि हस्पिटलमा कार्यरत थिएनन् । संक्रमित भनिएकी एक जना नर्स यही जेठ २ गतेबाट काममा गएकी थिइनन् । संक्रमितका परिवारलाई क्वारेन्टाइनमा राखिएको र घर सिल गरिएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार संक्रमित स्वास्थ्यकर्मीमध्ये एक चिकित्सक नारायणी सामुदायिक हस्पिटलमा काम गर्थे । सोही अस्पतालमा आइसियू कक्षमा रहेका वृद्ध बिरामीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था स्थिर रहेको छ । संक्रमित बिरामीकै उपचारमा खटिँदा चिकित्सकलाई कोरोना लागेको आशंका गरिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमित २२ वर्षकी नर्स मनकामना अस्पतालमा कार्यरत थिइन्, तर लामो समयदेखि उनी बिदामा थिइन् । अर्का संक्रमित चिकित्सक कुनै हस्पिटलमा कार्यरत नभएका हुन् । लकडाउनमै उनी काठमाडौँ पनि गएका थिए ।

‘उनीहरु कहाँसम्म पुगे, कोबाट संक्रमित भए भन्ने विषयमा अध्ययन भइरहेको छ, विशेष गरी आइसियूमा रहेका वृद्ध बिरामीको अवस्थाबारे थप जानकारी लिन भ्याएका छैनौँ’ प्रमुख तिवारीले भने, ‘उनको अवस्था अलिकति जटिल छ, पुरानो मेडिकल कलेजका दुई जना बिरामीको अवस्था मध्यम छ । चितवनका संक्रमितमध्ये माडी र भरतपुर महानगरपालिकाका हुन् ।

पूर्वी नवलपरासीमा संक्रमित पाँच थपिए

यसैबीच पूर्वी नवलपरासीमा पाँच जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएका पाँच जनासँगै पूर्वी नवलपरासीमा संक्रमितको संख्या २२ पुगेको छ । २२ जनामध्ये १ जना निको भएर घर फर्किएका छन् ।

पूर्वी नवलपरासीमा सोमबार भेटिएका पाँच जना नयाँ कोरोना संक्रमितमध्ये ३ जना कावासोती नगरपालिकाका र २ जना गैँडाकोट नगरपालिकाका रहेका छन् । कावासोतीका ३ जनामध्ये एक जना महिला हुन् भने दुई जना पुरूष हुन् । त्यस्तै, गैँडाकोटका दुवैजना पुरूष हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार कावासोती–१ का २१ र ४० वर्षीय पुरूषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो भने कावासोती–६ का ६३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै, गैँडाकोटमा पहिलोपटक दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । गैँडाकोट–७ का ३९ र गैँडाकोट–८ का ३३ वर्षीय पुरूषमा कोरोना भाइरस भेटिएको हो । संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालय लैजाने तयारी भइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया