हतारमा निर्णय, फुर्सदमा पछुतो

अन‌ि यो पनि

कोरोना कहरका कारण नेपालमा जारी लकडाउन आज ७७औँ दिनमा प्रवेश गरेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या झन्डै तीन हजार ५०० को हाराहारीमा पुगिसकेको छ । एक सातायताको तथ्याङ्क हेर्दा दैनिक ३०० को हाराहारीमा संक्रमितको संख्या थपिँदै गएको देखिन्छ । संक्रमितको संख्या बढेसँगै सुदूरपश्चिम प्रदेशमा सञ्चालित क्वारेन्टाइन मृत्युस्थलजस्तै बनेको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिको निरन्तर मृत्यु हुन थालेपछि सरकारी क्वारेन्टाइनको व्यवस्थापन र बिरामीको उपचारमा सरकार उदासीन रहेको देखिएको हो । सरकारी क्वारेन्टाइनमा कोरोना परीक्षणमात्रै नभई अन्य रोगको परीक्षण र उपचार नहुँदा क्वारेन्टाइन नाममात्रैको रहेको पाइएको छ । क्वारेन्टाइनमा दिनहुँजसो व्यक्तिको ज्यान गएपछि जनस्तरमा आक्रोश बढेको छ । सुदूरपश्चिममा जेठ १८ गते बाजुरा क्वारेन्टाइनमा रहेकी दुई वर्षीया बालिकाको मृत्यु भएको थियो । उनी भारतबाट फर्केकी थिइन् । सोही दिन डडेल्धुरामा पनि भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालकको निधन भयो । यस्तै, जेठ २१ गते बैतडीमा भारतबाट फर्किएकी २० वर्षीया युवतीले ज्यान गुमाइन् । सोही दिन डोल्पाका ५८ वर्षीय पुरूषले ज्यान गुमाए । जेठ २३ गते धनगढीकी ५५ वर्षीया महिला र जेठ २४ गते बैतडीका ३० वर्षीय पुरूषको क्वारेन्टाइनमै ज्यान गएको थियो भने सोही दिन बाजुराकी ६५ वर्षीय पुरूषको पनि मृत्यु भयो । यस्तै, आइतबार डोटीको क्वारेन्टाइनमा १९ वर्षीय युवकले ज्यान गुमाए । उनी पनि भारतबाटै फर्किएको बताइएको छ ।

आइतबारसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दर्जन बढी पुगेको छ । गम्भीर प्रकृतिका रोग लागेका व्यक्तिहरुलाई सामान्य मानिससरह क्वारेन्टाइनमा राखिँदा अहिले क्वारेन्टाइन नै दीर्घरोगीहरुका लागि मृत्युस्थल बनिरहेको छ । अधिकांशको मृत्यु भएपछि गरिएको परीक्षणमा कोरोना संक्रमित रहेको पाइएको छ । क्वारेन्टाइनमा औषधिसमेत पाउन नसकेको गुनासो व्याप्त छ । पछिल्लो समय सरकारले हतारमै निर्णय गर्ने र फुर्सदमा पछुताउनु पर्ने क्रम पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायतका संस्थाले विश्वभर पिसिआर परीक्षण बढाउँदै संक्रमणको पहिचान र निदान गर्नुपर्ने चेतावनी दिँदै गर्दा सरकारले भने आरडिटीमात्रै गर्ने गरी निर्णय गरेको छ । जसले गर्दा संक्रमण अझै विस्तार हुन सक्ने भन्दै सरोकारवाला तथा स्वास्थ्य विज्ञहरुले चिन्ता प्रकट गरेका छन् । सरकारले विभिन्न विवादित निर्णय गर्ने र पछि हट्दै जाने दृष्टान्तका कारण सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका हुन् । विज्ञहरुले सरकारले ल्याएको कोरोना परीक्षण नीतिले संक्रमण झनै भयावह बन्न सक्ने चेतावनी दिँदै आएका छन् । भारतलगायत जोखिमपूर्ण क्षेत्रबाट आएकाहरुलाई परीक्षणबिना नै घर पठाउने वा हाललाई आरडिटीमात्रै गर्ने सरकारी निर्णयले समुदायस्तरमा संक्रमण फैलिने सम्भावना अधिक बढाएको छ ।

सरकारको नीतिअनुसार भारतबाट आएर क्वारेन्टाइनमा रहेकाहरुलाई पिसिआर परीक्षणबिना घर पठाउँदा पछि संक्रमण देखिएका दृष्टान्तले जोखिम बढाएको हो । सरकारले लक्षण देखिएका संक्रमितलाई दुई साता क्वारेन्टाइनमा राख्ने र थप तीन दिन कुनै समस्या नदेखिए घर फर्काउने नीति लिएको छ । शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको अन्तिम रिपोर्ट नआई छ जना संक्रमितलाई घर फर्काइयो । अस्पतालको लापर्बाहीको खबर सार्वजनिक भएपछि पुनः संक्रमितलाई प्रि–आइसोलेसनमा राखियो । सरकार निर्णय गर्न हतारिने र विरोध आएपछि निर्णयबाट पछि हट्ने दृष्टान्त सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको छ । यतिमात्रै होइन सुर्खेतमा पनि २८ वर्षीय पुरूषलाई दुई साता क्वारेन्टाइनमा राखेर आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइयो । दुर्भाग्य ! घरमा पुग्न नपाई उनको मृत्यु भयो । पछि तिनै पुरूषको स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो । क्वारेन्टाइनमा आरडिटी नेगेटिभ आएकालाई धमाधम घर पठाइँदा त्यसले कति प्रभाव पार्छ र कति जोखिमपूर्ण हुनसक्छ भन्ने शुक्रबारको घटनाले पुष्टि गरेको छ । त्यसैले, सरकारले डब्लुएचओको चेतावनीको नजरअन्दाज गर्न मिल्दैन । र, समयमै सही निर्णय गर्न सके फुर्सदमा पछुताउनु पर्दैन ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया