रूकुम घटनाका दोषीलाई कारबाहीको माग

अन‌ि यो पनि

ज्योतिनगर । दिव्य मिलिजुली दलित कल्याण संस्था भरतपुर–२६, चितवनले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रूकुम पश्चिममा भएको अमानवीय घटनाको दोषीलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

संस्थाले भरतपुर–२६, ज्योतिनगरमा आइतबार आयोजना गरेको सभामा बोल्दै वक्ताहरुले घटनाको घोर भत्र्सना गर्दै कारबाहीको माग गरेका हुन् ।

सभामा बोल्दै संस्थाका पूर्वअध्यक्ष बाजिराम परियारले संवैधानिकरुपमा वर्जित भइसकेको जातीय विभेदजन्य सामाजिक अपराधलाई प्रश्रय दिँदै आजको सभ्य एवं उन्नत समाजमा केटाकेटीबीच भएको अन्तरजातीय प्रेमलाई दबाउन दलित भएकै कारणले ज्यानै गुमाउने गरी घटना घटाउनु अत्यन्तै निन्दनीय भएकोे बताए ।

संस्थाका संस्थापक व्यवस्थापक गोपीलाल सेञ्चुरीले यस घटनाले संविधान र मानवअधिकारकै उपहास गरेको भन्दै यसले विश्व समुदायमा नेपाली समाजलाई लज्जित गरेको बताए । उनले अन्तर्राष्ट्रिय कानुनहरुले समेत सबै प्रकारका विभेद दण्डनीय बनाइरहेको परिप्रेक्ष्यमा जातकै कारण सामूहिक हत्या गर्नु र गर्न प्रोत्साहन गर्नु घोर अमानवीय तथा दण्डनीय अपराध रहेको बताए ।

घटनाले संविधान र लोकतन्त्रको उपहास गरेको भन्दै विगतमा पनि दलित युवायुवतीको श्रृङ्खलाबद्ध हत्या गरिएको संस्थाका उपाध्यक्ष रनबहादुर विकले बताए ।

सभामा बोल्दै संस्थाकी सचिव दिलु गजमेरले ज्यान गुमाएकालाई सांस्कृतिक शहीद घोषणा गर्न एवं पीडित परिवारलाई उचित क्षतिपूर्ति, शान्ति सुरक्षा, सम्पूर्ण घाइतेको उपचार उपलब्ध गराउन माग गरिन् । वैज्ञानिक युगमा पनि जातीयताको आधारमा मानिसको हत्या गरिनु निन्दनीय कार्य भएको उनले बताइन् ।

संस्थाकी पूर्वसचिव आरती विकले जातीय भेदभावको कारणले यस्ता अत्यन्त क्रूर र अमानवीय घटनाप्रति घोर भत्र्सना गर्दै त्यसमा संलग्न वडाध्यक्षलगायतलाई हदैसम्मको कानुनी कारबाहीको माग गरिन् ।

कुनै प्रलोभन र राजनीतिक आस्थाका आधारमा दोषीलाई उन्मुक्ति हुने वातावरण सिर्जना भए सशक्तरुपमा चरणबद्ध आन्दोलनको तयारी गर्नुेपर्ने वातावरण सिर्जना गर्न बाध्य हुने दलित नेतृ कल्पना नेपालीले बताइन् । चौरजहारी हत्या प्रकरणले राज्यप्रणालीमाथि नै दलित समुदायको आशा र भरोसा गुम्दै गइरहेको भरतपुर–२६ की वडा सदस्य सीता परियारले बताइन् ।

जुनसुकै विभेद, अपमान, दमन, शोषण, उत्पीडन सम्पूर्ण दलित समुदायमाथिको प्रहार भएको उल्लेख गर्दै त्यस्ता समस्या सिङ्गो मुलुक र मानवजातिको समस्या भएको उनले बताइन् ।

सभाध्यक्षसमेत रहेका संस्थाका अध्यक्ष गिरिबहादुर परियारले उक्त हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे । साथै, न्यायको पक्षमा भएका आन्दोलनहरुमा संस्थाको तर्फबाट ऐक्यबद्धतासमेत उनले जाहेर गरे ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया