चितवनमा स्वतःस्फूर्त लकडाउनको अवज्ञा

अन‌ि यो पनि

भरतपुर । चितवनमा दिनहुँजसो लकडाउनको अवज्ञा गर्नेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । सरकारले चैत ११ गतेदेखि लकडाउनलाई जारी राखेको छ, तर मानिसहरु घरबाहिर निस्कने क्रम बढ्दै गइरहेको छ ।

आइतबार चितवनको मुख्य बजार नारायणगढ, भरतपुरमा बाक्लै चहलपहल देखिएको थियो । निजी सवारीसाधन प्रशस्तै गुडेका थिए । बजारमा मोटरसाइकल प्रशस्तै देखिन्थे । अत्यावश्यकमात्रै होइन अन्य केही व्यवसायहरु पनि खुलेका थिए ।

कोरोना भाइरस महामारी रोकथामका लागि लगाइएको लकडाउनको क्रमशः उल्लङ्घन गर्नेहरुको संख्यामा वृद्धि भएको छ । रोजीरोटीलाई नै समस्या पर्न थालेपछि मानिसहरु आफ्नो काम वा व्यवसायमा फर्कन सुरू गरेका छन्, जसका कारण बजारमा चहलपहल बढ्दै गइरहेको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसायीहरु आजित भएर व्यवसायहरु सञ्चालन गर्न थालेको जानकारी दिए । उनले भने, ‘धेरै गाह्रो भइसक्यो, लकडाउन लम्बिदै गयो भने स्वतःस्फुर्त व्यवसायीहरुले आफ्नो व्यवसाय चलाउँछन् । बाँच्न नै गाह्रो भइसक्यो ।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा हरेक व्यवसाय १० देखि ४ बजेसम्म खोल्नलाई ज्ञापनपत्र दिए पनि हालसम्म कुनै जानकारी आएको छैन ।

उवासंघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले व्यवसायीहरु आजित भएर छिटफुट व्यवसायहरु चलाउन थालेको बताउँछन् । उनी भन्छन्, ‘अब लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्छ, यसरी सधैँभर लकडाउन जारी राख्नुहुँदैन ।’

फेन्सी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष बालकृष्ण कँडेलले रोजीरोटीकै समस्या पर्न थालेपछि छिटपुट व्यवसायहरु खुल्न थालेको जानकारी दिए । उनले भने, ‘व्यवसायी आजित बनेका छन्, लकडाउन भएको तीन महिना हुनलाग्यो, ठूलो समस्या भइसक्यो ।

प्रशासनको विरूद्धमा जान नचाहँदा पनि बाध्यता भइसक्यो ।’ उनका अनुसार रोजीरोटीको समस्या पर्न थालेपछि व्यवसायीहरुले स्वतःस्फूर्त केही समयका लागि पसल खोल्न थालेका छन् ।

मालपोत कार्यालय आइतबारदेखि चल्न थालेका छन् । अन्य कार्यालय तथा व्यवसाय सञ्चालनमा आउन थालेपछि सडकमा सवारी चाप बाक्लो थियो । सरकारले जनजीवन सामान्य बनाउने मोडालिटी नल्याउने हो भने लकडाउनको अवज्ञा बढ्दै जाने देखिन्छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एक सयभन्दा कम कोरोना संक्रमित भएको जिल्लामा छोटो दूरीको यात्रुवाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ, तर मन्त्रिपरिषदबाट स्वीकृत भएको छैन ।

चितवनमा अघिपछिको तुलनामा आइतबार स्वतःस्फूर्त मानिसहरुको चहलपहल बढेपछि आइतबार साँझ प्रशासनले कडाइ गरेको थियो । ‘आइतबार अचानक चहलपहल देखियो, साँझबाट कडाइ गर्न थाल्यौँ, सरकारबाट लकडाउनलाई खुकुलो बनाउने विषयमा कुनै जानकारी आएको छैन’, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले भने, ‘लकडाउन जारी छ, कुनै मोडालिटी परिवर्तन भएको छैन, सबैलाई घरभित्र बस्न र अत्यावश्यक व्यवसाय तोकिएको समयमा चलाउन र अन्य व्यवसाय बन्द गर्न आग्रह गरेका छौँ ।’

लकडाउनको उल्लङ्घन हुनथालेपछि सबै वडादेखि टोलसम्मलाई लकडाउनलाई कडाइ गर्न सन्देश पठाइएको उनले बताए । उच्चस्तरीय समितिले एक सयभन्दा कम सक्रिय कोरोना केस भएका जिल्लामा जेठ २५ गतेबाट सवारी खुलाउने प्रस्ताव गरेको थियो, त्यही प्रस्तावलाई आधार बनाएर चहलपहल बढेको सूचना अधिकारी सिंखडा बताउँछन् । उनी भन्छन्, ‘त्यो प्रस्तावमात्रै हो, मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ, हामीलाई लकडाउनलाई खुकुलो पार्ने विषयमा कुनै जानकारी आएको छैन, लकडाउन जारी रहन्छ ।

घरबाहिर निस्कँदा सावधानी नअपनाए जोखिम बढ्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले घरबाहिर निस्कँदा सावधानी नअपनाए कोरोनाको जोखिम बढ्ने बताए । उनले भने, ‘सामाजिक दूरी राखिएन भने त जोखिम बढ्छ ।’

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...