नेपालमा कोरोना भ्याक्सिन बनेको बिषयमा हल्ला बढी

अन‌ि यो पनि

प्राध्यापक डाक्टर ललितकुमार दास अहिले निकै चर्चामा छन्। यतिबेला सबैतिर चासोको विषय भएको कोरोनाभाइरस (कोभिड-१९) को उपचार गर्ने ओखती वा खोप बनेको भन्ने बित्तिकै ध्यान त तानिने नै भयो। त्यसमाथि एक नेपालीले नेपालमै औषधि बनाएको दावी गरेका छन्! यस्तो दावी एक महिनाअघि नै विभिन्न मिडियामा आएकै थियो। विश्व स्वास्थ्य संगठन डब्लुएचओले समेत यसमा चासो राखेको समाचार आएपछि  भने पछिल्लो समय उनको चर्चा झन् चुलिएको छ। हामीले यही समाचारको बारेमा फ्याक्टचेक गरेका छौँ।

हाल प्रकाशन बन्द भएको अङ्ग्रेजी दैनिक रिपब्लिकाको अनलाइन माइरिपब्लिकामा जुन ५ मा डब्लुएचओले यो खोप बारे जानकारी लिएको समाचार राखेको थियो।

समाचारमा डब्लुएचओले भिडियो कन्फ्रेन्सबाट उनले विकास गरेको खोप (भ्याक्सिन)बारे जानकारी लिएको दावी राखिएको छ। यो कस्तो कन्फ्रेन्स थियो, को को सहभागी थिए? डब्लुएचओको तर्फबाट को सहभागी थिए आदिबारे कुनै पनि विवरण समाचारमा छैन।

अन्नपूर्ण पोस्टमा पनि जेठ  २३ मा प्रकाशित समाचार फेसबुकमा भाइरल भएको छ।

यसैगरी  नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे परीक्षण प्रक्रिया शुरु शीर्षकको समाचार सेतोपाटीको फेसबुकमा शनिबार मध्यरातसम्म एक हजार पाँच सय सेयर, ७८९ कमेन्ट र १० हजार रियाक्सनका साथ भाइरल भएको छ।

सेतोपाटीको यो समाचार खासमा सरकारी समाचार एजेन्सी राससले तयार पारेको हो र स्वास्थ्यखबर लगायत अन्य थुप्रै अनलाइनहरुमा पनि आएका छन्।

त्यसैगरी सरकारी अखबार गोरखापत्रको २०७७ जेठ २४ शनिबारको अङ्कको पहिलो पेजमै एङ्कर समाचारका रुपमा ‘नेपालमा कोरोना खोप बनाएको दावी, विश्व स्वास्थ्य सङ्गठनले थप अनुसन्धानमा सहयोग गर्ने’शीर्षकमा समाचार प्रकाशित छ।

युट्युबरहरुले त खोप पत्ता मात्र लगाएका छैनन्, विश्वको ध्यान नेपालमा तानेर WHO को टोलीलाई समेत नेपाल बोलाइसकेको छ।

के हो समाचारको तथ्य?

हामीले यो विषयमा डब्लुएचओको मुख्य कार्यालयमा इमेल गरी सोध्यौँ। डब्लुएचओका प्रवक्ता डा. मार्गरेट ह्यारिसले यो विषयमा दिल्लीस्थित दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयबाट आधिकारिक प्रतिक्रिया दिइने जवाफ पठायो। उक्त कार्यालयको जवाफ आउन बाँकी छ। डब्लुएचओको नेपालस्थित कार्यालयका अधिकारीले अनौपचारिक कुराकानीमा यस्तो खोपबारे यहाँको कार्यालय बेखबर भएको जानकारी दिए।

समाचारमा लेखिएको छ-

डाक्टर दासलाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ। भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ।

हामीले यसबारे डाक्टर दासलाई मोबाइलमा सम्पर्क गरी त्यो कस्तो खालको इमेल हो भनेर सोध्दा उनले विश्व स्वास्थ्य संगठनले आफूलाई कुनै इमेल नपठाएको बताए। जबकि समाचारमा डाक्टर दासलाई नै उद्‍धृत गर्दै विश्व स्वास्थ्य संगठनले इमेलबाट औषधिलाई सुईमार्फत् दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिइएको दावी गरिएको छ।

उनले डब्लुएचओको सबै पाटो गैरेजीले हेर्नुभएको भन्दै दामोदर गैरेलाई फोन दिए। समाचारमा पनि डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्रीका रुपमा गैरेको परिचय दिइएको छ।

‘डब्लुएचओले १६ पेजको इमेल पठाएको रहेछ, के इमेल रहेछ त्यो हाम्रो इमेलमा फरवार्ड गरिदिनुस् न’ भनेर अनुरोध गर्‍यौँ।

‘त्यो भ्याक्सिनेसन सम्बन्धी प्रोटोकल हो, डब्लुएचओको वेबसाइट मै पाइन्छ होला’, उनले जवाफ दिए। हामीले इमेलै फरवार्ड गरिदिनुस् न भनेर हाम्रो इमेल दियौँ।

उनले समाचारमा भनिए जस्तो डब्लुएचओले पठाएको इमेल फरवार्ड नगरी ‘WHO guideline’ सब्जेक्ट राखी ६०१ केबीको एउटा पिडिएफ फाइल अट्याच गरी इमेल पठाए।

यो डब्लुएचओले २८ मे, २०२० मा प्रकाशन गरेको An international randomised trial of candidate vaccines against COVID-19 सम्बन्धी १७ पेजको डकुमेन्ट हो। यहाँ क्लिक गरी हेर्नुस् डकुमेन्ट यो डकुमेन्ट डब्लुएचओको वेबसाइटमै पनि छ।

डब्लुएचओबाटै आएको इमेल फरवार्ड नभएको हुनाले डब्लुएचओले १६ पेज लामो सुझाव तथा जिज्ञासा पठाएको, डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको जस्ता समाचारका दावी पुष्टि हुँदैनन्।

राससको समाचारमा लेखिएको छ-

गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ। ‘डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ,’ उनले भने।

डाक्टर दासले आफूलाई डब्लुएचओले केही नभनेको बताएको र गैरेले डब्लुएचओको इमेल फरवार्ड नगरेका कारण डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको अनि डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको जस्ता दावी पुष्टि हुन सक्दैनन्।

गोरखापत्रको समाचारमा लेखिएको छ-

कोरोना भाइरसविरुद्धको दुई प्रकारको खोप तयार पार्नुभएका डा. दासको अनुसन्धानलाई विश्व स्वास्थ्य सङ्गठनले चासो राखेर छलफलसमेत गरेको छ । नेपालसहित विश्वका ७३ देशका अनुसन्धानकर्ता र डब्ल्यूएचओका अनुसन्धान अधिकारीसँग डा. दासले मङ्गलबार भर्चुअल छलफल गर्नुभएको थियो ।
डा. दासले विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार काम भए नभएको, खोप तयार गर्नसक्ने क्षमता, कतिलाई प्रभावित गर्न सकिने, कति प्रगति भयो र सङ्गठनसँगको अपेक्षाका बारेमा छलफलमा भएको जानकारी दिनुभयो । अनुसन्धानलाई निरन्तरता दिन, देशको स्रोत प्रयोग गर्न र समस्या भए राख्नसमेत डब्ल्यूएचओका अनुसन्धान अधिकारीले भनेको डा. दासले जानकारी दिनुभयो ।

यो कस्तो खालको कन्फ्रेन्स थियो भनेर सोधेको प्रश्नको जवाफमा डा. दासले प्रष्ट पार्न सकेनन्। उनले जुन २ तारिखमा साढे ४ बजे प्रोग्राम भएको र ल्याबबाटै सहभागी भएको मात्रै बताए। डब्लुएचओका तर्फबाट को थिए भनेर सोध्दा उनले एक जना लेडिजले क्वेस्चन गर्नुभएको मात्रै बताए।

उनको भनाई अनुसार डब्लुएचओको कुनै वेबिनारमा उनी सहभागी भए जस्तो बुझिन्छ। सामान्यतया यस्तो वेबिनारको भिडियो डब्लुएचओले राखेको हुन्छ। तर उनले ७३ देशका अनुसन्धानकर्तासित भएको दावी गरिएको भर्चुअल छलफलको भिडियोको न लिङ्क दिन सके न यसबारे विस्तृत विवरण नै। त्यसैले उनको यो दावी पनि अपुष्ट छ।

‘खोप हो कि औषधि नै कन्फ्युज’

हामीले तपाईँले बनाउनु भएको भनिएको कोरोना भाइरसविरुद्धको खोप हो कि औषधि भनेर सोध्दा उनी अन्यौलमा परे। उनले भने, मैले बनाएको लिक्विड (तरल) मा छ सोलिड (ठोस) मा छैन।

उनले औषधि र खोपको फरक नै नबुझेको जस्तो देखियो।

खोपमा संक्रामक रोग लगाउने माइक्रोअर्गानिजम जस्तै खालको एजेन्ट हुन्छ। तर त्यो कमजोर वा मारिएको खालको हुन्छ। यो एजेन्टले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँदै त्यो एजेन्टलाई नष्ट गरिदिन्छ र भविष्यमा पनि चिनेर नष्ट पारिदिन्छ।

उदाहरणका लागि विक्रम संवत् ३० को दशकमा नेपालमा पनि महामारीका रुपमा फैलिएको बिफर अर्थात् स्मलपक्सको कुरा गरौँ। अनुसन्धानकर्ताहरुले यो भाइरसविरुद्ध बनाएको खोपमा मान्छेको शरीरमा जिउँदो भाइरस नै इन्जेक्ट गर्ने हुन्। तर त्यो भाइरस भारिओला भाइरस नामको बिफर लगाउने भाइरस नभएर भ्याक्सिनिया भाइरस नामको भाइरस हुन्छ। यो भाइरस भारिओला भाइरसभन्दा सानो हुने जस्तै हुने हुनाले शरीरले पर्याप्त एन्टिबडी बनाउँछ जुन बिफर भाइरससित लड्न पर्याप्त हुन्छ। यो खोप लगाउँदा शरीरमा दाग पनि बस्ने गर्छ।

खोप सर्वसाधारणलाई दिनुअघि धेरै अनुसन्धान आवश्यक हुन्छ। अहिले विश्वमा कोरोनाभाइरस विरुद्ध विभिन्न खोपको ट्रायल भइरहेको छ। यसको विस्तृत जानकारी डब्लुएचओले २ जुन, २०२० मा यहाँ राखेको छ।

डा. दासले आफूले नौ वटा मोडलको तरल खोप/औषधि बनाएको दावी गर्छन्। त्यसमध्ये तीन वटा मोडल कोरोनाका लागि र छ वटा मोडल इम्युनिटी पावरका लागि भएको भन्ने उनी ‘गोपनीयताका कारण थप भन्न मिल्दैन’ भन्दै पन्छिए।

समाचारमा उनले कोरोना भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरिएको उल्लेख छ। भाइरसलाई परीक्षणै नगरी कसरी भाइरस मर्ने दावी गर्नुभयो त भन्ने प्रश्नको उत्तरमा उनले भाइरसलाई परीक्षण गर्ने काम भाइरोलोजी ल्याबको भएको बताए। अन्य वैज्ञानिक परीक्षण भनेको के हो भन्ने प्रश्नको उत्तर पनि उनले प्रष्ट दिएनन्।

निश्कर्ष : कोरोना भाइरसविरुद्ध खोप तयार पारेको डा. दासको अपुष्ट दावी मात्र हो। उनको दावी अनुसारको कुनै परीक्षण भइसकेको छैन। यसबारे डब्लुएचओ जोडेर आएका खबर पनि अपुष्ट हो। यसको पुष्टि हुने कुनै प्रमाण न दास र उनका सहयोगीहरुले दिन सके, न हामीले नै भेट्यौँ।

साभार : nepalfactcheck.org

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया