दुर्व्यसनको भयावह स्थिति

अन‌ि यो पनि

नेपालमा लागूऔषध दुर्व्यसनीको संख्या दिनहुँ बढ्दै गएको छ । देशभर वार्षिक औसत १० प्रतिशतले वृद्धि भइरहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले केही समयअघि गरेको सर्वेक्षणमा कडा खालको लागूऔषध प्रयोगकर्ताको संख्या करिब ५० हजार पुगेको देखाएको थियो । कडा लागूऔषध भन्नाले खैरो हेरोइन अर्थात् ब्राउन सुगरलाई बुझाउँछ । यो कतिले सीधै सेवन गर्छन् भने कतिले सुईको माध्यमबाट लिन्छन् । लागूपदार्थ तीन हजार ५०० प्रकारका हुन्छन् । नेपालमा लागूऔषधका दुव्र्यसनीमात्रै पाँच लाख रहेको एक तथ्यांकले देखाएको छ । जसमध्ये दुई लाख दुव्र्यसनी लागूऔषधको कुलत छाड्न नसक्ने अवस्थामै पुगिसकेका छन् । लागूऔषध दुर्व्यसनविरुद्धका ‘नार्कोनन नेपाल’ले प्रस्तुत गरेको तथ्यांकमा नेपालमा लागूऔषध दुर्व्यसनको स्थिति भयावह रहेको उजागर गरेको हो । पछिल्लो समय लागूऔषध युवाको जीवन बर्बाद बनाउने प्रमुख कारण बन्न पुगेको छ । सो संस्थाले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वर्षको उमेरमा लागूऔषध प्रयोग गर्ने व्यक्तिको २४ वर्ष नपुग्दै मृत्यु हुने गरेको छ । एकातिर जीवनको बर्बादी त अर्कोतिर लागूऔषधमा थप अर्बौं रुपैयाँ खर्च भइरहेको छ । लागूऔषध दुर्व्यसनीका परिवारले झेल्नुपरेको पीडा, व्यथा, पारिवारिक विचलन र आर्थिक क्षतिको अनुमान गर्न नसकिने अवस्था छ ।

परिवारको कुनै सदस्य लागूऔषधको दुव्र्यसनमा लागेको छ भने उसले आफूलाई अकालमै मार्छ भने अन्य परिवारका सदस्यलाई समेत मनोवैज्ञानिकरुपमा मर्न विवश बनाउँछ । नेपालमा पाँच लाख दुव्र्यसनीले गर्ने औसतमा दैनिक २५० रुपैयाँमात्रै खर्च गर्दा पनि लागूऔषधमा बर्सेनि ४५ अर्ब ६२ करोड ५० लाख रुपैयाँ स्वाहा भइरहेको देखिन्छ । जुन खर्चले नेपालमा ३० मेगावाटका चार आयोजना निर्माण हुन सक्छन् । यो त सामान्य अनुमानमात्रै हो । लागूऔषध अभियन्ताहरुले नेपालबाट कम्तीमा बर्सेनि २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको तथ्यांक सार्वजनिक गरेका छन् । कक्षा आठदेखि नै विद्यार्थीहरु लागू औषधमा फस्ने गरेको, प्रतिष्ठित पेसा मानिएका
डाक्टर र इन्जिनियर विषय पढ्ने ६० प्रतिशत विद्यार्थीले लागूऔषध प्रयोग गर्ने गरेको, जसमध्ये लत लागेका कमैले मात्रै छाड्न सक्ने अवस्था रहेको तथ्यांक छ । नेपालमा अधिकांश निजामति कर्मचारीका छोराछोरी लागूऔषधमा फस्ने गरेको पाइएको छ । प्रहरीले ९९ प्रतिशत घरेलु तथा महिलाहिंसाका घटना पनि दुव्र्यसनीकै कारण भइरहेको जनाएको छ । विज्ञहरुले लागूऔषधको लत निदान गर्न लागूऔषध प्रयोग नगरेकालाई रोक्ने, सेवन गर्नेहरुलाई चिन्ने र समयमै उपचार विधितर्फ लाग्नुपर्ने सुझाव दिएका छन् ।

नेपालमा लागूऔषध दुव्र्यसन पारिवारिक, सामाजिक र राष्ट्रकै लागि ठूलो समस्या बनेको छ । दुर्व्यसनीको क्षति न्यूनीकरण र उपचारका लागि पुनःस्थापना केन्द्रहरुमा लाग्ने खर्च पनि निकै महँगो छ । अभिभावकले सामाजिक प्रतिष्ठाका लागि गुपचुपमै कुलतमा फँसेका छोराछोरी सुधार्न कति धनराशि खर्चिए त्यसको कुनै लेखाजोखा छैन । नेपालमा देशभर करिब २०० पुनःस्थापना केन्द्र सञ्चालनमा छन् । तर, गैरसरकारी संस्थाका नाममा खुलेका ती केन्द्रमा राखिएका कति युवालाई सुधार गरेर सामान्य जीवनमा फर्काए भन्ने कुनै तथ्यांक सार्वजनिक भएको देखिँदैन । पुनःस्थापना केन्द्र खुल्दैमा या दुर्व्यसनीलाई यस्ता केन्द्रमा राख्दैमा पनि दुर्व्यसनको समस्या घट्नको साँटो झनै तीव्ररुपमा बढ्दै गएका छन् । लागूऔषध दुर्व्यसन घटाउन विश्वका दर्जनौँ दातृसंस्थाले गैससमार्फत् करोडौँ डलर खर्चिएका हुन्छन् । लागूऔषध प्रयोगकर्तामा क्षति न्यूनीकरण र उपचारका लागि बजेट खन्याइरहेका दाताले कानुनी व्यवस्थालाई प्रभावकारी बनाउनचाहिँ कुनै बजेट छुट्याएको पाइँदैन । किनभने, लागूऔषधको समस्या मूलतः मुलुकको कानुनी व्यवस्थाको प्रभावकारितासँग जोडिएको हुन्छ । दुर्भाग्य, दुर्व्यसनको यस्तो चुनौती बढिरहँदा सरकारले दातृसंस्थाको अनुकूलतामा चलाइएका क्षति न्यूनीकरण र उपचार कार्यक्रमबाहेक कुनै रणनीति बनाउन सकेको छैन । दुर्व्यसनको अकल्पनीय खतराबारे हरेक परिवार, विद्यालय र होटल रेस्टुराहरुमा सुरक्षित जीवनबारे सचेतना फैलाउनु जरूरी भएको छ ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया