चितवनका स्थानीय सरकार : कोरोनासँग लड्दै, बजेट बनाउँदै

अन‌ि यो पनि

भरतपुर । चितवनका सात स्थानीय सरकार यतिबेला कोरोना भाइरससँग लडिरहेका छन् । कोरोनासँग लड्दै गर्दा सातै स्थानीय सरकारहरु आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको अन्तिम तयारीमा जुटिरहेका छन् ।

आगामी आर्थिक वर्ष कोरोनाको प्रकोपका कारण संघीय सरकारबाट स्थानीय सरकारलाई कम बजेट आएको छ । जसका कारण चितवनका स्थानीय सरकारको बजेट पनि चालू वर्षको तुलनामा केही कम आउने सम्भावना बढी छ ।

‘कोरोनासँग लडिरहँदा बजेट तयार पार्ने धपेडी पनि यतिबेला छ, यसका लागि भरतपुर महानगर जुटिरहेको छ’, भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीले भने, ‘बजेटका लागि २९ वडाबाट कार्यक्रम माग भएको छ, नीति तथा कार्यक्रम बनाइरहेका छौँ ।’

उनले भरतपुर महानगरले चालू आर्थिक वर्ष २०७६/७७ मा ल्याएको बजेटकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको बताए । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख १७ हजारको बजेट ल्याएको थियो ।

यस्तै, रत्ननगर नगरपालिकाले पनि कोरोनासँग लड्दै बजेटको अन्तिम तयारीमा जुटेको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार बजेटको तयारी भइरहेको छ । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ५ करोड ३२ लाख रूपैयाँको बजेट ल्याएको थियो ।

खैरहनी नगरपालिका पनि यतिबेला बजेटको तयारीमा जुटेको छ । खैरहनी नगरप्रमुख लालमणि चौधरीले भने, ‘असार ६ गते नीति तथा कार्यक्रम ल्याउँछौँ र १० गते नगरसभाबाट बजेट पारित गर्नेछौँ ।’ उनका अनुसार चालू वर्षको तुलनामा २०७६/७७ का लागि बजेट केही घटेर आउँछ ।

खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि ८२ करोड ६० लाखको बजेट ल्याएको थियो । प्रमुख चौधरीले भने, ‘यसपटकको बजेटमा सामाजिक सुरक्षाभत्ता नजोडिने हुनाले बजेट कम हुन्छ, कोरोनाले पनि केही असर गरेको छ ।’

कालिका नगरपालिकाले पनि आगामी वर्षको बजेट चालू वर्षको तुलनामा घटेर आउने जनाएको छ । कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठले कोरोनासँग लडिरहँदा बजेटको तयारी पनि गरिरहेको बताए । उनले भने, ‘संघ, प्रदेशबाट आउने बजेट नै घटेर आउने भएकाले यसपटक बजेट कम हुन्छ ।’

कालिका नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि ७७ करोड २३ लाख ४४ हजारको बजेट ल्याएको थियो । प्रमुख श्रेष्ठले भने, ‘बजेट कम आउने भए पनि प्रभावकारी कार्यान्वयन हुने गरी ल्याइन्छ ।’

राप्ती नगरपालिकाले पनि आगामी वर्ष २०७७/७८ का लागि बजेटको तयारी गरिरहेको छ । कोरोनासँग लड्दै गर्दा बजेटको तयारी पनि भइरहेको नगरले जनाएको छ ।

असार १० गते सबै पालिकाहरुले बजेट ल्याउनैपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै तयारी गरिएको नगरप्रमुख प्रभा बरालले बताइन् । उनले भनिन्, ‘वडालाई दिने बजेट घट्ने छैन, वडा हेरी बजेट विनियोजन गरेका छौँ, पहाडी वडाले एक करोड ५० लाखसम्म पाउनेछन् ।’

राप्ती नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि ९४ करोड २४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको थियो । अहिले केही प्रतिशत बजेट घट्ने नगरले जनाएको छ ।

यस्तै, माडी नगरपालिकाले पनि बजेटको तयारी गरेको छ । माडीका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बजेटको तयारी र कोरोनासँग लड्ने काम सँगसँगै भइरहेको बताए । उनले भने, ‘चालू वर्षको तुलनामा यसपटक बजेट सकेसम्म घटाउने पक्षमा छैनौँ, तर बाध्यात्मक परिस्थितिले केही कम हुन सक्छ ।’

चितवनको इच्छाकामना गाउँपालिकाले पनि बजेटको तयारी गरिरहेको छ । असार १० गते बजेट पारित गर्ने गाउँपालिका प्रमुख गीताकुमारी गुरूङले जानकारी दिइन् । उनले कोरोनासँग लडिरहँदा बजेटको तयारी पनि गरिरहेको बताइन् ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया