होमनाथ सापकोटा
सौराहा । वन्यजन्तु तथा जैविक विविधता संरक्षणलाई प्राथकितामा राखेर मनाइँदै आइएको वन्यजन्तु सप्ताह २०७१ सुरू भएको छ ।
सोमबारबाट सुरू भएको सप्ताहअन्तर्गत निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति र विभिन्न संघसंस्थाहरुले संरक्षणमूलक कार्यक्रम गर्न सुरू भएका छन् । सप्ताहको मंगलबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा र पूर्वीसेक्टर कार्यालय सौराहामा उद्घाटन गरिएको छ ।
सौराहामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट महेश्वर ढकाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव चापागार्इंले संयुक्त रुपमा नेपाल, निकुञ्ज र विश्व सम्पदा सूचीको झण्डा उत्तोदन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट महेश्वर ढकालले पछिल्ला वर्षहरुमा चितवन निकुञ्जले वन्यजन्तु संरक्षणमा ऐतिहासिक सफलता हात पारेको बताउनुभयो । उहाँले २०७० सालमा निकुञ्जलार्ई गैंडा संरक्षणमा सफलता मिलेको भन्दै २०७१ सालमा पनि संरक्षणको सुखद वर्षको रुपमा स्थापित गराउन संरक्षणकर्मीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले २०७० साल वन्यजन्तु संरक्षणको दृष्टिकोणले एतिहासिक वर्षको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले २०७० लाई गैडा संरक्षणको हिसावले सुखद बर्षको रुपमा लिईएको बताउनुभयो ।
यस वर्ष पनि सात दिनसम्म संरक्षणसम्बन्धी कार्यशाला गोष्ठी, प्रतियोगिता, पर्चा पम्प्लेट वितरण, सरसफाई, नदीमा गोही छोड्ने तथा संरक्षणमा योगदान दिएकाहरुलाई सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रमहरु तय गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति बछौलीका अध्यक्ष बासुदेव चापागाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादव, क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट, जनकौली मध्यवर्ती समुदायिक वनका उपाध्यक्ष घनश्याम तिमिल्सिना, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापालगायतले मन्तव्य दिनुभयो ।
Discussion about this post