निजी क्षेत्रमै हाइब्रिड मकैको बीउ उत्पादन शुरु

अन‌ि यो पनि

चितवन, २३ जेठ (रासस) : निजी क्षेत्रबाट हाइब्रिड मकैको बीउ उत्पादनलाई तीव्रता दिइएको छ । गत वर्षबाट नेपालमा व्यावसायिकरूपमा सो जातकोे बीउ उत्पादन थालिएको हो । गत वर्ष दुई स्थानमा बीउ उत्पादन गरिएकामा यस वर्ष छ स्थानमा बीउ उत्पादनका लागि काम भइरहेको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले विकास गरेको रामपुर हाइब्रिड–१० जातको बीउ ती स्थानमा उत्पादन थालिएको हो । कार्यक्रमका प्रमुख केशवबाबु कोइरालाका अनुसार यस वर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलव पाँच हेक्टरमा मकैको बीउ उत्पादन गर्दैछ । त्यहाँ सात टन उत्पादन हुने अपेक्षा गरिएको छ ।

गोरखा सिड्स कम्पनी दाङले चितवनको दिव्यनगरमा तीन हेक्टरमा बीउ उत्पादन गर्दैछ । त्यहाँ छदेखि आठ टन उत्पादन हुने अपेक्षा छ । लुम्बिनी सिड्स कम्पनीले भैरहवामा आठ हेक्टरमा बीउ उत्पादन गर्दैछ । १० देखि १५ टन उत्पादन हुने अपेक्षा गरिएको उनले जानकारी दिए । धनगढीको युनिक सिड्स कम्पनीले दुई हेक्टरमा मकैको बीउ उत्पादन गरिरहेको छ । जहाँ पाँचदेखि छ टन उत्पादन हुने लक्ष्य लिइएको छ । धनगढीकै पञ्चशक्ति सिड्स कम्पनीले एक हेक्टरमा दुई दशमलव पाँच टन मकैको बीउ उत्पादन गर्ने लक्ष्य राखेको छ ।

बाँकेको गेट नेपालले एक हेक्टरमा बीउ उत्पादन गर्न लागेको भए पनि असफल भएको कोइरालाले जानकारी दिए । गत वर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलव दुई टन र लुम्बिनी सिड्स कम्पनीले दुई दशमलव पाँच टन बीउ उत्पादन गरेका थिए । नेपालमा नौ लाख ५४ हजार हेक्टरमा मकै लगाउने गरिन्छ । एक हेक्टरमा २० किलो बीउ आवश्यक पर्दछ । कोइरालाका अनुसार १० देखि १५ प्रतिशत जमिनमा हाइब्रिड मकै लगाउने गरिन्छ । सालाखाला चारदेखि पाँच टन प्रतिहेक्टर उत्पादन हुने गर्दछ ।

बारा, पर्सा जिल्लामा छदेखि सात टनसम्म उत्पादन हुने गरेको कोइरालाको भनाइ छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले हालसम्म सात हाइब्रिड जातका मकैको विकास गरेको छ । जसमध्ये पाँच सिफारिस भएका छन् भने दुई सूचीकृत भइसकेका छन् । उनका अनुसार सूचीकृत भएका जातमा रामपुर हाइब्रिड–१० र रामपुर हाइब्रिड–८ हुन् । गौरव, रामपुर हाइब्रिड–२, रामपुर हाइब्रिड–४, रामपुर हाइब्रिड–६ र खुमल हाइब्रिड–२ सिफारिस भएका जात हुन् ।

हाइब्रिड विकास गर्न आठदेखि १० वर्ष समय लाग्ने गर्दछ । रामपुरले हाइब्रिडसँगै विभिन्न ३७ जातका मकै विकास गरिसकेको छ । हावापानीका हिसाबले तराई, मध्यपहाड, उच्च पहाडी, रङका हिसाबले सेतो, पहेँलो र खुला सेचित जातका मकैका बीउ उत्पादन गरेको उनले जानकारी दिए । निजी क्षेत्रलाई हाइब्रिड बीउ उत्पादन गर्न रामपुरले स्रोत बीउ र प्राविधिक सहयोग गर्दै आएको छ । कोइरालाका अनुसार एक हेक्टरमा १६ किलो पोथी लाइनको र चार किलो भाले लाइनको बीउ दिइएको हो । अहिले बीउ मकै थन्क्याउने समय भए पनि लकडाउनका कारण आफूहरु बीउ लगाएका ठाउँमा पुग्न नसकेको उनले बताए ।

विसं २०२९ देखि रामपुरमा मकैको अनुसन्धान थालिएको हो । बीउ व्यवसायी सङ्घका पूर्वअध्यक्ष मित्रराज दवाडीका अनुसार नेपालमा वर्षमा दुई हजार मेट्रिक टन मकैको हाइब्रिड बीउ आयात हुने गरेको छ । प्रतिकिलो रु ४५० देखि ६०० सम्ममा बीउ आउने गरेको उनको भनाइ छ । स्वदेशमै उत्पादन गर्न सकेमा बाहिर जाने ठूलो रकम यही बस्ने उनले बताए ।

प्रमुख कोइरालाले आयातित मकैको बीउमा कहिलेकाहीँ समस्या आएको भन्दै सरकारले रु २३ करोडसम्म राहत दिएको उदाहरण दिए । नेपालमा नै सरकारले लगानी गरेर हाइब्रिड बीउ उत्पादन वढाउन सके रकम बाहिर नजाने र उत्पादन वढाउन सकिने उनको भनाइ छ । उनले भने, “अर्काको भर पर्दा समस्या पर्ने गरेको छ । यही बीउ उत्पादनका लागि सरकारले सहयोग गर्नुपर्छ ।”

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...