अर्थमन्त्री को यो Proactive Move हुन सक्दछ ।अहिलेको विषम परिस्थितिमा यो निर्णय कार्यन्वयन गर्न गराउन असंभवप्राय: छ भन्ने कुरा एउटा सामान्य मनुवाले पनि बुझ्न सक्दछ भने विद्वान अर्थशास्त्री डा खतिवडाले यति सामान्य कुरा पनि बुझेनन् होला भनि मान्नु त के, सोच्नु पनि मुर्खतापूर्ण हुनेछ । अत: अरु धेरै निर्णयहरु जस्तै यो निर्णय पनि ‘फिर्ता’ हुनेछ, ती धेरै निर्णयहरु जस्तै ‘फिर्ता’ लिनका लागि नै ‘डेलिबेरेटली’ लिइएको निर्णय हो यो । तर मुख्य प्रश्न यस्तो ‘केटाकेटीले भाँडाकुटी खेलेजस्तो’ निर्णय किन लिइयो त ? यस प्रश्नको उत्तर अलि पेचिलो छ तथापि यसलाइ सरल भाषामा यसरी बुझ्न सकिन्छ ; मानौ तपाइकाे घरमा धेरैजना व्यवसायीहरु बहालमा व्यवसाय गरेर बसिरहेका छन् । तिनिहरुकाे व्यवसाय राम्रैसंग चलिरहेको थियो र बहाल पनि समयमा नै तिरिरहेका थिए ।
तर अचानक बजारमा ठुलो आर्थिक मन्दी देखापर्दछ र तिनिहरुको व्यापार व्यवसाय चौपट हुन्छ । दिन, हफ्ता , महिना कुर्दाकुर्दै तीन-तीन महिना सम्म तिनिहरु आम्दानी गर्नु को त के कुरा घर बहाल कहाँबाट तिर्ने, बैंकको सावा र ब्याज कहाँबाट तिर्ने , साहुहरुको बक्यौता कसरी तिर्ने, र हुदा हुदा बिहान बेलुका छाक कसरी टार्ने भन्ने समस्यामा पर्दछन् ।
अब घर मालिकको पालो, उसले सबै परिस्थितिको राम्रो संग अध्ययन गर्दछ र सोच्दछ ” घर बहाल मा बस्ने व्यवसायीहरुले बहाल मिनाहा गर भन्ने हुन कि?, ठिकै छ बहाल सम्म त मिनाहा गरिदिउला । तर फेरी आर्थिक सहयोग पो माग्ने हुन् कि ? केहि व्यवसायीहरुले त आर्थिक सहयोग माग्नुपर्छ भनेर आवाज उठाएको पनि सुनेको छु । यस्तो बेलामा बालुवामा पानि खन्याए जस्तो के आर्थिक सहयोग गर्नु ? यस्तै यस्तै विचारहरू मनमा खेल्दाखेल्दै उ एउटा ‘केटाकेटीले भाँडाकुटी खेलेजस्तो’ निर्णयमा पुग्दछ र भोलिपल्ट सबै बहालवालाहरुलाइ उर्दी जारी गर्दछ, ” सबैले आज सम्म बक्यौता रहेको बहाल यहि जेष्ठ २५ गते सम्म बुझाइसक्नुपर्ने छ। अन्यथा ढिलो गरि बुझाएमा जरिवाना तथा ब्याजसहित असुलउपर गरिने छ ।”
अब बहालमा बस्नेहरुको पालो, यस्तो उर्दि सुनेर सबै व्यवसायीहरु पहिला त आतंकित हुन्छन्, तर पछि यस्तो ‘हासउठदो’ निर्णयप्रति उनिहरुलाइ रिस पनि उठ्छ । १-२ दिनमा सबै बहालवालाहरु भेला भइ हतास मनले एउटा निष्कर्षमा पुग्दछन्, ‘अहिलेलाइ घरमालिक संग आर्थिक सहयोग नमाग्ने, बरु घरमालिकलाइ घर बहाल तिर्ने म्याद कम्तीमा ३ महिना थपिदिनको लागि अनुरोध गर्ने ।’
जाँदाजाँदै:
मैले सुनेको, घर मालिकले निर्णय फिर्ता लियो रे । यतातिर व्यवसायीहरुको लागि परिस्थिति झन् झन् बिग्रिदै गयो र पछि व्यवसायीहरु आर्थिक सहयोग माग्न जादा घर मालिकले ओठे जवाफ फर्कायो रे ” तपाइहरुले समयमा मलाइ घर बहाल बुझाउनु भएन, मैले कहाँबाट दिउ आर्थिक सहयोग?”
यसलाइ भन्छन् , डा खतिवडा प्रो-एक्टिभ थ्योरी । (कसैले आक्रमण गर्नुभन्दा पहिल्यै आफुले आक्रमण गर्ने ।)
अन्तयमा,
राज्य संचालनको अत्यन्त गहन जिम्मेवारी बहन गरी विभिन्न पदमा बसेकाहरुको लापरवाही, उदासिनता र अकर्मण्यता का थुप्रै उदाहरणहरु भेटिन्छन् खोज्दै जाने हो भने इतिहासमा। डा खतिवडा को ‘उर्दी’ यसैको एक प्रतिनिधि उदाहरण मात्र हो । तर….यस्तो किन हुन्छ? र त्यो पनि बारम्बार किन हुन्छ? किन २००७ साल, २००४६-४७ साल, २०५२-६२ साल , २०६२-६३ सालहरुमा गरिएका ती – ब्यबस्था, राज्यसंरचना, सामाजिक, सांस्कृतिक अझ भनौ आमुल परिवर्तनकारी जनआन्दोलनहरुले पनि साधारण नागरिकहरुकाे जनजिविकामा कुनै सकारात्मक प्रभाव पार्नु त परै जाओस अझ बढी भविश्यप्रतिको नैराश्यता, परिस्थितिसंगको विवशता र राज्यप्रति आक्रोश थोपर्दै जान्छ? किन? किन? र फेरी पनि किन? के नेपाल साच्चिकै सतीले सरापेको देश भएर यस्तो भएको हो त ? होइन महासय होइन, तपाइको यो सोचाइ फेरी एकपटक मुर्खतापूर्ण हुनेछ । आउनुहोस् अब यसको पनि उत्तर खोतल्न थालौ, कतै भेटिई पो हाल्छ कि ।तर.. पर्खनुहोस् ..अर्को लेखमा… अध्ययन पनि त गर्नु पर्यो..ऋषि धमला त हुनु भएन नि ।
वित्त नियन्त्रक
ग्रिन पार्क चितवन प्रा.लि.