भरतपुर । जिल्ला शिक्षा कार्यालय चितवनले ग्रामीण क्षेत्रका विद्यालयमा नियमित उपस्थित नहुने शिक्षकलाई कारबाही प्रक्रिया सुरू गरेको छ ।
जसअन्तर्गत गत शैक्षिक सत्रमा दुई जना शिक्षकलाई सेवाबाट हटाइएको र तीन जनालाई लिखित स्पष्टीकरण लिइएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो । भर्ना अभियानको विषयमा जानकारी दिन मंगलबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकलाई नियमित गराउन कडाइ गरिएको बताउनुभयो । उनीहरूसँग राजीनामा माग गरी स्वीकृत गरिएको उहा“ले बताउनुभयो ।
जिल्ला शिक्षा कार्यालय चितवनले विद्यालय भर्ना टिकाउ तथा निरन्तरता र उपलब्धि सुधार कार्यक्रमअन्तर्गत मंगलबारबाट विद्यालय भर्ना अभियान सुरू गरेको छ । चितवनका १६ गाउँ विकास समिति र भरतपुर नगरपालिकाको वडा–६ लाई पूर्ण साक्षर क्षेत्र घोषणा गरिसकिएको छ । जिल्लामा दुई प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेको सहायक जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाले बताउनुभयो ।
छोरालाई बोर्डिङ, छोरीलाई स्कुल
यस्तै, चितवनका अभिभावकले अझै पनि छोरालाई निजी र छोरीलाई सरकारी विद्यालयमा पढाउने गरेको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार गत शैक्षिकसत्रमा सामुदायिक विद्यालयमा ५३.३४ प्रतिशत छात्राले अध्ययन गरेकोमा संस्थागततर्फ भने ४६.५३ प्रतिशत छात्राले मात्र अध्ययन गरेका थिए ।
गत शैक्षिक सत्रमा चितवनमा एक लाख ५९ हजार २३२ जना विद्यार्थी अध्ययनरत थिए । जिल्ला शिक्षा अधिकारी शर्माले कुल विद्यार्थीको सङ्ख्यामा छात्रा बढिरहेको बताउनुभयो । छात्राको सङ्ख्या ८० हजार ७४५ अर्थात् ५०.७४ प्रतिशत रहेको छ भने छात्रको सङ्ख्या ७८ हजार ३७८ अर्थात् ४९.२६ प्रतिशत रहेको छ ।
जिल्ला शिक्षा अधिकारी शर्माले छोराछोरीबीचको विभेद चितवनमा शिक्षामा अझै पनि रहेको बताउनुभयो । जिल्लामा विद्यालय बाहिर दुई प्रतिशतमात्र विद्यार्थी रहेको उल्लेख गर्दै उहाँले ती विद्यार्थीमा छात्र÷छात्रा सङ्ख्या पहिचान नभएको बताउनुभयो ।
Discussion about this post