बाँदरमुढेको त्यो ‘कालो दिन’

अन‌ि यो पनि

आजभन्दा ठीक १५ वर्षअघिको त्यो कहालीलाग्दो नरसंहार अर्थात् ०६२ जेठ २३ गते नेपाली इतिहासमा भयानक बनेको कालो बिहानी । देशमा सशस्त्र द्वन्द्वका बेला माडीको बाँदरमुढेमा खचाखच यात्रुसहितको बसलाई लक्षित गरेर तत्कालीन माओवादीले शक्तिशाली बम विस्फोट गराउँदा ३५ सर्वसाधारणसहित ३८ जनाले ज्यान गुमाउनु परेको थियो । कुल ७२ जना घाइतेमध्ये चार जनाको उपचारका क्रममा ज्यान गएको थियो । बाँदरमुढेको त्यो कहालीलाग्दो र बर्बर हिंसाको घटना सर्वसाधारणले बिर्सिसकेका होलान् । तर, सो घटनामा ज्यान गुमाएका आफन्त र घाइतेहरुको पीडा भने अझै ताजै छ । उनीहरुले अझैसम्म न्याय पाउन नसकेको गुनासो गरिरहेका छन् । माडीमा निर्दोष मानिसहरुले ज्यान गुमाएको आज डेढ दशक बितिसक्दा पनि त्यसमा संलग्न दोषीले सजाय पाउने सुनिश्चितता नदेखिनु अर्को विडम्बना बन्न पुगेको छ । हरेक वर्ष स्मृति सभामा मृतकका आफन्त र पीडितहरुले दोषीमाथि कारबाही हुनुपर्ने र घाइतेहरुलाई जीवनभर बाँच्ने आर्थिक आधार सुनिश्चितता गर्न आवाज उठाउँदै आएका छन् । बाँदरमुढे घटनाका पीडितले यस्ता मागहरु वर्षौंदेखि उठाउँदै आए पनि उनीहरुलाई नै विभाजित बनाउने काम भयो, तर उनीहरुको माग सम्बोधन हुन सकेन ।

स्मरणीय छ, बाँदरमुढे घटनाका ७२ घाइतेमध्ये अझै पनि १२ जना शारीरिकरुपमा अपाङ्ग भएर बाँचिरहेका छन् । उनीहरु कुनै पनि काम गरेर खान नसक्ने अवस्थामा छन् । ‘जनयुद्ध’कालको फौजी कारबाहीमध्ये सबैभन्दा गम्भीर र दुःखद घटना भनेर माओवादीले नै स्वीकार गरेको अवस्थामा पीडित, मृतकका परिवारलाई गतिलो आर्थिक उपार्जन हुने राहतका कार्यक्रम ल्याउन नसक्नु दुर्भाग्य हो । तत्कालीन माओवादी पार्टीलाई नै सर्वाधिक आलोच्य बनाएको उक्त घटनापश्चात् तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घाइतेहरुको आर्थिक उपार्जन हुने गरी माडीमा ‘राहतको प्याकेज’ ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, उनले पनि वाचा पूरा गरेनन् । सादा पोसाकमा सार्वजनिक बसमा चढेका १२ जना सैनिकप्रति लक्षित विस्फोटको निशानामा महिला र अबोध बालबालिकासहितका निर्दोष नागरिक परेपछि प्रचण्डले उक्त घटनालाई ‘दसवर्षे जनयुद्धको सबैभन्दा ठूलो कलङ्क’ भन्दै गत प्रतिनिधिसभाको निर्वाचनमा बाँदरमुढेका जनतासँग माफी मागेका थिए । प्रचण्डले आफ्नो सरकार बनेलगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने घोषणा गरेको पनि तीन वर्ष बितिसकेको छ । यसबीचमा उनी दर्जनौँपटक चितवन आउजाउ गरिसकेका छन् । तर, घटनाका पीडितहरुले न न्याय पाउन सकेका छन् न परिपूरण । यतिसम्म कि उनले मृतकका परिवार तथा घाइतेसँग गरेको ‘लिखित सहमति’समेत कार्यान्वयन गरेनन् । बरू, संघर्ष समितिलाई नै विभाजित बनाउने काम भयो ।

चितवन क्षेत्र नं ३ अन्तर्गत पर्ने माडीका प्रतिनिधिसभा सांसद्समेत रहेका प्रचण्ड स्वयं अध्यक्ष रहेको नेकपा अहिले सरकारमा छ । तर, बाँदरमुढे घटनाका दोषीलाई कारबाही गर्ने कुरा कल्पनाभन्दा परको विषय बनेको छ । माओवादीले दोस्रो जनआन्दोलनपश्चात् बाँदरमुढे विस्फोटमा संलग्न चार दोषीहरुको नाम पीडितसमक्ष सार्वजनिक गरेको थियो । जसमा चितवन भण्डाराका चण्डिका पौडेल ‘साहस’, गोरखाका रामबहादुर कुमाल ‘सुजन’, जगतपुरका अनक मगर ‘किसान’ र शिव रेग्मी ‘हर्क’ रहेका थिए । त्यसपछि ल्यान्डमाइन विस्फोट गर्न स्वीच दबाउने शिवनगरका देवेन्द्र नेपाली र अर्का नाम नखुलेका व्यक्ति पनि संलग्न रहेको खुल्यो । चार जनाविरूद्ध पीडितले किटानी जाहेरी दिए पनि जिल्ला प्रहरी कार्यालयले ‘माथिको आदेशमा’ द्वन्द्वकालीन मुद्दाको उजुरी लिन मानेन । विगत डेढ दशकमा रिउ खोलामा निकै पानी बगिसकेको छ । तर, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता कागजमै सीमित बनेको छ । बाँदरमुढे घटना हुँदा जिल्ला इन्चार्ज रहेका घनश्याम दाहाल ‘अविनाश’ यतिखेर प्रदेश सांसद् छन् भने जिल्ला सेक्रेटरी रहेका यमबहादुर परियार ‘इन्द्रजित’ नेकपाको जम्बो पार्टीका जिल्ला अध्यक्ष छन् । घटनाका पीडितले ०७३ जेठमा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा दर्ता गराएको उजुरीमा तत्कालीन माओवादीको पार्टी, जिल्ला नेतृत्वदेखि घटनामा संलग्नलगायत १४ जनालाई मानवअधिकारको गम्भीर उल्लङ्घनकर्ता भनेर कानुनी सजायको माग गरेका छन् । माडीवासीको न्यायका लागि बाँदरमुढे काण्डका दोषीले सजाय पाउनैपर्छ । उक्त मानवताविरोधी क्रूर अपराधमा शासन र शक्तिको आडमा कसैले पनि उन्मुक्ति पाउनुहुँदैन ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया