बँदेलबाट मकैखेती जोगाउनै मुस्किल : रातभरि किसान बारीमै जाग्राम

अन‌ि यो पनि

गंगानगर । भरतपुर महानगरपालिका वडा नं–१३ र २२ का उज्ज्वलनगर, गंगानगर, सिमलगैरी, घड्गाईअन्तर्गतका केही क्षेत्रमा खेतबारीमा लगाइएको मकै बँदेलले खाएर सत्यानाश पार्न थालेपछि स्थानीय कृषक हैरान परेका छन् ।

विशेषगरी, बरण्डाबार र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्र र त्यसको आसपासमा रहेका क्षेत्रहरुमा जंगली जनावरले कृषकलाई अन्नबाली खाएर सास्ती दिने तथा समय–समयमा मानवीय क्षतिसमेत पु¥याउने गरेको छ ।

वर्षभरि खान खेतबारीमा दुःख गरी उब्जाएको अन्नबाली बँदेलको आहार बन्न थालेपछि मकै बालीलाई वन्यजन्तुबाट जोगाउन किसानहरु खेतबारीमा टहरा बनाएर रातभर पहरा दिन बाध्य भएका छन् । जीविकोपार्जनको मुख्य स्रोत मकै बाली भएकाले उनीहरु रातभर बारीमै जाग्राम बस्ने गरेका हुन् ।

आफूले वर्षदिनभरि मेहनत गरी उब्जाएको खाद्यान्न बालीमा फल दिने समयमा आएर क्षति पु¥याउन थालेपछि जंगली जनावरबाट जोगाउन खेतबारीमा टहरा बनाएर पहरा दिन थालेको भरतपुर–१३, गंगानगरका किसान रामप्रसाद घिमिरेले बताए ।

‘मकै जरैबाट उखेलेर नोक्सान बनाएको छ’, उनले भने, ‘उज्ज्वलनगर, गंगानगर, सिमलगैरी, घड्गाईअन्तर्गतका क्षेत्रमा लगाएको मकै बाली बँदेलले सखाप पारेको छ । भर्खर घोगा हाल्न लागेको मकै बालीमा मन चुटुचुटु हुने गरी बँदेलहरुले उपद्रो मच्चाउँछन् ।’ विगत ४–५ वर्षदेखि गाउँमा बँदेल आतङ्क बढेको हो । दिनभरि जंगलमा बस्ने बँदेल रातको समयमा भने बथानसहित गाउँ पस्ने गरेको छ ।

खेतबारीमा खटेर ड्युटी दिँदा एकातिर रातभर अनिँदो र स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा वर्षायामको समयमा सर्पले आक्रमण गर्न सक्ने जोखिम पनि त्यत्तिकै भएको घिमिरेको गुनासो छ ।

‘चारैतिरबाट घेरा हालेर या पासोमा पारेर मार्न सकिँदैन, जतिसक्दो ड्रम, थाल ठटाउँदै हल्ला गरेर धपाउनेबाहेक अरु विकल्प छैन’, स्थानीय कृषक विष्णु रानाभाटले भने, ‘जति गरे पनि नियन्त्रण गर्न सकिएन, मकै बँदेलले स्वाहा पा¥यो ।’

बारीमा लगाइएको आधाजति मकै बँदेलहरुले नोक्सान गरिसकेका छन् । गत वर्ष पनि बँदेलले मकै सखाप पारेको थियो भने अहिले पनि किसानलाई घरभित्र मकै भित्र्याउन नपाइने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । मकैमात्रै नभई बँदेलले गहुँ र धानसमेत रहन नदिएको उनले बताए ।

‘आँखा झिमिक्क गर्न दिँदैनन्, बारीमा पसिहाल्छन्’, कृषक कविता ढुङ्गानाले भनिन्, ‘यहाँका लागि मुख्य बाली भनेकै मकै हो, नजिकै ठूलो जंगल भएकाले पनि समस्या जटिल बन्दै गएको छ ।’ बँदेलले दुःख दिन थालेपछि गाउँभन्दा टाढाका खेतबारी बाँझै छोड्नुपर्ने अवस्था रहेको उनले बताइन् । यसवर्ष गाउँमा मकै उत्पादन घट्ने अनुमानसमेत गरिएको छ । बाली जोगाउनका लागि बँदेल धपाउन उनले सहयोगको अपिलसमेत गरिन् ।

‘लगाएको बाली जोगाउन सकिएन, जंगली जनावरले बाली खानै दिएन’, स्थानीय कृषक सुकदेव न्यौपानेले भने, ‘जग्गा बाँझो राखेर हामीले के खानु ?’ मकैको घोगा र त्यसमा दाना लाग्न नपाउँदैको कलकलाउदो मकैको बोटलाई बँदेलको हुलले रातभरमै पूरै बारी नै सखाप पार्ने गरेको भन्दै स्थानीय किसानहरुले खेतबारीमा पुगेर थाल, मादल, सिट्टी बजाएर हुटिङ गर्दै जंगली जनावरहरु धपाउने गरेको उनी बताउँछन् । बगालका बगाल बँदेल बारीमा छिर्ने र १–२ जना मान्छेले धपाउन खोज्दा उल्टै आक्रमणसमेत गर्न आउने उनले बताए ।

स्थानीय सरकारले अब कृषकका बाली संरक्षणका लागि पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘विकास निर्माणका काम त भइरहेको छ, अब कृषकले लगाएका बाली पनि जोगाई दिनुप¥यो’, उनले थपे ।

यस भेगमा रहेका सीमान्तकृत किसानहरुको बाली संरक्षणको सवाल पेचिलो बनिरहेको स्थानीय समाजसेवी शिव खनालले बताए । ‘जंगली जनावर नियन्त्रण नै गर्न कठिन छ, जनावरकै कारण उर्वरभूमि बाँझो बसिरहेका छन्’, उनले भने । बँदेलले बाली खायो भनेर जग्गाजमिन बाँझै राख्न नहुने भन्दै जनावरले नखाने खालका बाली लगाउनुपर्नेमा उनले जोड दिए ।

जंगली जनावरबाट वडाका कृषकहरु आक्रान्त बनिरहेको भन्दै जग्गाजमिन बाँझो छाड्ने क्रम बढिरहेको उनी बताउँछन् । ‘तत्कालै जंगली जनावर नियन्त्रण गर्ने अवस्था छैन, कृषकहरुले बाली संरक्षण गर्न पनि सकिरहेका छैनन्’, उनले भने ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया