लकडाउनको असर : बैंक आलोपालो, किनमेल साँझ–बिहान

अन‌ि यो पनि

चनौली । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन पश्चिम चितवनको चनौली बजारमा सञ्चालित बैंकले आलापालो गरी सेवा दिएका छन् ।

बजार क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुमा नगद कारोवार गर्दा सामाजिक दूरी कायम रहने गरी एकदिनमा तीनवटा बैंक बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र एउटा बैंक हप्तामा दुई दिनमात्र खोल्ने चनौली बजार व्यवस्थापन समिति र भरतपुर १८ र २० वडा कार्यालय बीचको समझदारीमा सेवा सञ्चालन भएको हो ।

सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा सुचारू गरेसँगै बजार व्यवस्थापन हुन नसक्दा जोखिम बढेको भन्दै सर्वसाधारणबाट चौतर्फी आलोचना हुन थालेपछि प्रशासनको सहयोगमा बजार व्यवस्थापन समिति र भरतपुर १८ र २० वडा कार्यालयले बजार मापदण्ड तय गरेको भरतपुर १८ का वडाध्यक्ष दीपक लामाले बताए ।

उनका अनुसार आइतबार र बुधबार कृषि विकास बैंक, लक्ष्मी बैंक र एनएमबी बैंक खोल्ने, सोमबार र बिहीबार एनसिसी बैंक, देव विकास बैंक र गण्डकी विकास बैंक खोल्ने र मंगलबार र शुक्रबार नेपाल इन्भेस्टमेन्ट बैंक, एनआइसी एसिया बैंक र सिन्धु विकास बैंकले बिहान ११ देखि १ बजेसम्म सेवा प्रवाह गर्ने मापडण्ड बनाएर कडाइका साथ लागू गरिएको छ ।

यो मापडण्ड कोरोना जोखिम नियन्त्रणमा प्रभावकारी भएको र अन्य ठाउँहरुमा पनि यसको अनुशरण गरिएको पाइएको वडाध्यक्ष लामाले जानकारी दिए ।

सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर बैंक खोल्ने निर्णय भएको, प्रायः साँझ र बिहानको समयमा खाद्यान्न तथा तरकारी बजारमा भीडभाड हुने भएकाले त्यसलाई मध्यनजर गरी दूरी कायम गरेर तरकारी किन्ने भीडभाड कम गर्न बिहान १० बजेसम्ममात्र खाद्यान्न तथा तरकारी पसलहरु खुल्ला राख्ने मापडण्ड बनाइएको चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद पौडेलले जानकारी दिए ।

यतिबेला वित्तीय संस्थाहरुको आवश्यकता आफ्नो खातामा रहेको पैसा झिक्नको लागि भएकोले सर्वसाधारणहरु भविष्यको लागि साँचेर राखेको पैसा झिकेर काम चलाइरहेका छन् । सबैको मनमा बाँचियो भने पैसा त पछि पनि कमाइन्छ भन्ने छ । अहिले बैंकहरुमा पैसा जम्मा गर्ने र अन्य प्रयोजनको लागि भन्दा साँचेर राखेको ढुकुटीबाट निकाल्नेको संख्या तुलनात्मक रुपमा बढी रहेको एनएमबी बैंक चनौली शाखा प्रमुख कृष्णप्रसाद दाहाल बताउँछन् ।

नेपाल राष्ट्र बैंकले सञ्चालन गर्न दिने तर स्थानीय निकाय र प्रशासनले सवारी सञ्चालनमा कडाइ गर्ने गरेका कारण चेपुवामा परेका बैंकका शाखाहरु जेनतेन केही घन्टामात्रै भने पनि खुल्दै आएका र बैंक तथा वित्तीय संस्थाहरुको यो पद्धतिले सम्भवतः बैंकिङ क्षेत्रको आवश्यकता पूर्ति गर्न सफल भएको उनको दाबी छ ।

कोरोनाको महामारीको जोखिम बढेपछि बैंकहरुले आफ्ना सेवाग्राहीलाई विद्युतीय माध्यमबाट कारोबार गर्नसमेत आग्रह गरेका छन् । यस्तै, एउटा बैंकको मोबाइल बैंकिङ एपबाट अर्काे बैंकको खातामा पैसा पठाउँदा लाग्ने शुल्कसमेत मिनाह गरिएको उनले बताए ।

खाद्यान्न, तरकारी र फलफूल पसल बिहान ६ देखि १० र साँझ ४ देखि ७ बजेसम्ममात्र खोल्ने गरिएको छ । दिनभर पसल खोल्दा अनावश्यक रुपमा मानिसको आवतजावात बढेपछि कडाइ गरिएको र अधिकांश पसलमा भीडभाड बढ्न थालेपछि दूरी कायम रहने गरी मापडण्ड बनाएको बजार समितिका उपाध्यक्ष महेन्द्र गुरूङ बताउँछन् ।

‘मापदण्ड हाम्रा लागिमात्र हैन, स्वयं व्यापारीको सुरक्षाका लागि पनि हो’, स्थानीय समाजसेवी ओमप्रसाद लामिछानेले भने, ‘भयावह हुने अवस्थाबाट जोगिन केही कोसिस गरेका हौँ । आफू सुरक्षित रहन सकियो भनेमात्र बजार सुरक्षित हुन्छ र व्यापार व्यवसाय चल्छ भन्ने सबैले सोचिदिनुपर्छ ।’

तीन फिट दूरीमा बस्दै आलोपालो गरेर सामान लिनेगरी मापदण्ड तय भएको र मापदण्ड कार्यान्वयन नभए कारबाहीसमेत गर्न सकिने उनले बताए । बैंकहरुले नगद कारोबार गर्दा पनि सामाजिक दूरी कायम गर्न र छिटोछरितो सेवा उपलब्ध गराउनुपर्नेमा उनको जोड थियो ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया