लकडाउनमा धमाधम विकासका काम, जिससबाट अनुगमन

अन‌ि यो पनि

भरतपुर । लकडाउनका बाबजुद पनि विकासका कामहरु धमाधम भइरहेका छन् । आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका योजनाहरु तीव्र रूपमा सञ्चालन हुँदा समन्वय समितिले अनुगमनलाई प्राथमिकता दिएको हो ।

बुधवार जिसस प्रमुख कृष्णकुमार डल्लाकोटी नेतृत्वको टोली माडी नगरपालिका र जिसस उपप्रमुख मुना श्रेष्ठको नेतृत्वमा राप्ती नगरपालिका भित्र सञ्चालित योजनाहरुको अनुगमन गरिएको थियो ।

संघीय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति कोष र विभिन्न नगरपालिकाबाट भएका विकास योजनाहरुको बुधबार अनुगमन गरिएको छ । माडी र राप्ती नगरपालिकामा उल्लेखित क्षेत्रका बजेटहरुबाट सम्पन्न तथा निर्माणाधीन योजनाहरुको अनुगमन भएको हो ।

माडी ९ मा निर्माणाधीन चेपाङ बस्ती, माडीका हरेक वडामा निर्माण भइरहेका दलित बस्ती, दरै भवन, सोमेश्वर गढी जाने बाटो, माडी खोप केन्द्र, खैरहनी माविको पर्खाल निर्माणको अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले संघीय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति कोषबाट दिइएको रकमबाट निर्माण भएका पूर्वाधारहरुको अनुगमन गरिएको बताए । त्यस क्रममा करिब २० वटा योजना प्राविधिकसहितको उपस्थितिमा अनुगमन गरिएको थियो ।

माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले माडी नगरपालिकाका सीमान्तकृत र दलित समुदायका अति विपन्न नागरिकलाई सामूहिक बसोबासको व्यवस्था र कृषि उत्पादनमा सहभागीता कार्यक्रम प्रभावकारी ढंगले अघि बढेको बताए ।

जिल्ला समन्वय अघिकारी चूडामणि शर्माले योजनाहरुको अनुगमन गरी प्रतिवेदन तयार पारिने बताए । बजेट विनियोजन भएअनुसार के कति काम भए नभएको बारे अनुगमन गर्ने दायित्व जिल्ला समन्वय समितिको भएअनुसार जिल्लाका सातवटै स्थानीय तहमा भएका विकास कामको अनुगमन गरिने बताए ।

यता, राप्ती नगरपालिकामा झन्डै एक दर्जन योजनाहरुको अनुगमन गरिएको छ । नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ७, ८, ९ र १० नम्बर वडाका योजनाहरु अनुगमन गरिएको हो । राप्ती नगरपालिकाको निर्माणाधीन भवन, भण्डारा अस्पताल, पानीसरा ढाप, स्वामीटार माविको छात्रावास, मगर समाजको भवन, डुम्रीघोल ताल, अर्गानिक मल उत्पादन केन्द्रलगायतको अनुगमन गरिएको थियो ।

राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेल, जिसस सदस्यहरु कृष्णप्रसाद अधिकारी, गुनु विक, जिसस शाखा अधिकृत बद्रीनाथ सापकोटासहित प्राविधिक सहभागी थिए । राप्ती नगरप्रमुख बरालले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका कामहरुले लकडाउनको अवधिमा पनि तीव्रता पाएको बताइन् ।

राप्तीमा संघीय सरकार र प्रदेश सरकारबाट विनियोजित ५० लाखका योजनाहरु सम्झौता भएर प्रक्रिया अघि बढेको पाइएको जिसस उपप्रमुख श्रेष्ठले बताइन् । अनुगमनपश्चात यहाँका सरोकारवाहरुसँग समीक्षा गरी प्रतिवेदन प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, प्रदेश सरकारसमक्ष पेश गरिने छ ।

जिल्ला समन्वय समितलाई संघीय, प्रदेश, स्थानीय सरकार र जिल्ला समन्वय समितिमार्फत विनियोजित योजनाहरुको अनुगमन गर्ने, सरकारी कार्यालयहरुसँग समन्वय र सहजीकरण गर्ने अधिकार दिइएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया