‘नफूलेका फूल’ का स्रष्टा, प्रसिद्ध गीतकार एवम् कवि Ôेत्रप्रताप अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । अधिकारीलाई शनिबार राति हृदयघात भएपछि सहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारकै क्रममा आइतबार बेलुकी निधन भएको हो । उनका दुई छोरा रहेका
छन् । वि. सं. १९९९ चैतमा तनहु“को मिर्लुङ गाविसको बयापानीमा जन्मिएका अधिकारीका रहर लागेर, पहाडदेखि पहाडसम्म, फेरि एउटा परिवर्तन, तर देश रहिरहेछ, गामबेसीका गीत, अकविता, युद्व र छाया, जापानी साहित्यको इतिहासलगायत दर्जनौँ कृति प्रकाशित भइसकेका छन् । उनले जापानी साहित्यसम्बन्धी विभिन्न पुस्तक अनुवाद तथा सम्पादनसमेत गरिसकेका छन् । उनको चर्चित कृति ‘नफूलेका फूल’ ले साझा पुरस्कार प्राप्त गरेको थियो । उनले २०५३ सालमा छिन्नलता पुरस्कार र मधुपर्क सम्मान पनि प्राप्त गरेका थिए ।
२०३४ सालमा नारायणगोपालको स्वरमा रेकर्ड भएको ‘म त लालीगुरा“स भएछु’ गीत नै उनको पहिलो रेकर्डेड गीत मानिन्छ । यही गीतबाट उनी चर्चित भएका थिए । उक्त गीत आज पनि सङ्गीत श्रोताहरुको मनमा उत्तिकै लोकप्रिय
छ । स्रष्टा अधिकारीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान गरेका थिए । त्यसैले उनको अन्तिम संस्कार नहुने भएको हो । उनको पार्थिव शरीरमा उनीबाटै स्थापित नेपाल कलेज अफ मेनेजमेन्ट, धोवीघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था मिलाइएको
थियो । विभिन्न साहित्यकार, कवि एवम् गीतकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए । थुप्रै राष्ट्रिय गीत तथा कविताहरुका सर्जक अधिकारी कुनै जमानामा साझा यातायातमा कण्डक्टर रहेर काम गरेका थिए । पछि त्यही संस्थामा सदस्यसचिव हुँदै उनी अध्यक्षसम्म भएका थिए । २०४३ साल वैशाखमा सम्पन्न राष्ट्रिय पञ्चायत निर्वाचनमा उनले तनहुँबाट जितेर सहायक शिक्षामन्त्रीसमेत भएका थिए ।
उनका सिर्जनाहरु नारायणगोपाल, बच्चुकैलाश, कुन्ती मोक्तान, योगेश्वर अमात्य, रामकृष्ण ढकाल, सत्य–स्वरुप आचार्यलगायत गायकगायिकाको स्वरमा संगीतवद्ध भएका
छन् । जसमध्ये नारायणगोपालको ‘मलाई छाडी मेरो छाया…’, बच्चुकैलाशको ‘तिमीले त होइन, तिम्रा आँखाहरुले…’, रामकृष्ण ढकालको जिन्दगीले यसरी धोका दियो कि…’, योगेश्वर अमात्यको ‘क्या..बोर भयो…’ लगायतका गीतहरु बहुचर्चित छन् । राष्ट्रियता, प्रकृति प्रेम, मानवीय जीवनजस्ता विषयबस्तु समेटेर गीत रचना गर्ने अधिकारीले नेपाली सङ्गीत श्रोताका लागि कालजयी गीतहरु सिर्जना गरेर बिदा लिएका छन् । २०१५ सालदेखि नै गीत सिर्जना गरेका अधिकारीले नेपाली सङ्गीत र साहित्यमा लगाएको गुन नेपाली साहित्य तथा सङ्गीतमाझ युगौँयुगसम्म रहिरहने छ । सबै पुस्ता र श्रोताहरुको मन जित्न सफल सर्जक स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली !
Discussion about this post