व्यवस्थित क्वारेन्टाइनको खाँचो

अन‌ि यो पनि

कोरोना भाइरसका शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म अर्थात् कम्तीमा १४ दिनसम्म सुरक्षित राखिने स्थललाई क्वारेन्टाइन भन्ने बुझाउँछ । कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ ले क्वारेन्टाइन भन्नाले कुनै रोगको संक्रमण फैलन सक्ने अवस्थालाई आँकलन गरी उक्त संक्रमित इलाका वा संक्रमितको सम्पर्कमा रहेका वा आवास वा होटलमा रहेका सम्भावित जोखिम भएका व्यक्तिलाई बाह्य सम्पर्कबाट छुट्टयाई तोकिएको स्थान वा घरमा कम्तीमा १४ दिनसम्म अलग्गै राखिने अवस्थालाई जनाउँछ । सो स्थलमा रहेका व्यक्तिको संक्रमण भए/नभएको परीक्षण गरिन्छ । क्वारेन्टाइनमा पर्याप्त सफाइ, खानपिनका साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट निगरानीसमेत गरिन्छ । तर, नेपालमा स्थानीय तहका वडासम्म विस्तार भएका क्वारेन्टाइनमा गैरजिम्मेवार तरिकाले खसीबोकालाई जसरी एउटै कोठामा कोचेर, थुनेर राख्ने गरिएका दृष्टान्त छन् । सम्भावित संक्रमणको जोखिममा रहेकाहरुलाई छुट्टै राखेर परीक्षण गर्नु भनेको प्रकोप समुदायमा फैलिन नदिनु हो । तर, व्यवस्थापनमा देखिएको लापर्बाही र हेलचेक्र्याइँले गर्दा अधिकांश क्वारेन्टाइनहरु कोरोना फैलाउने केन्द्रजस्तै बन्न पुगेका छन् । प्रदेश नं २ को क्वारेन्टाइनमा १८ हजार मानिसलाई राखिएका छन्, जसमा संक्रमण पुष्टि भएकालाई पनि सँगै राखिएका खबर आएका छन् । यतिसम्म कि परीक्षणको नतिजा नआउँदै घर फर्काइएका व्यक्तिहरुलाई सुरक्षाकर्मीले पुनः खोज्दै हिँडेका समाचार पनि सार्वजनिक भएका छन् ।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । तर, क्वारेन्टाइनमा अविश्वसनीय ढङ्गबाट संक्रमण वृद्धि भइरहेको छ । कोरोना भाइरसबाट जोगिन हरेक व्यक्तिले व्यक्तिगत सरसफाइ र खानपिनमा ध्यान दिनुपर्ने बताइन्छ । तर, अधिकांश विद्यालयमा बेञ्च जोडेर बनाइएका क्वारेन्टाइनमा रहेका व्यक्तिले खानेपानीको व्यवस्था नभएको, मास्क तथा सेनिटाइजर नपाएको, घरबाटै खाना/खाजा लैजानु परेको, झूलको व्यवस्था नगरिँदा लामखुट्टेको टोकाइबाट आजित भएको र समयमै उपचार नपाएकोजस्ता गुनासा आइरहेका छन् । दैलेखमा १० दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि उपचार पाउन नसकेर सरकारी हेलचेक्र्याइँका कारण एक युवकको मृत्यु भयो । डडेलधुराको क्वारेन्टाइनमा ६ वर्षीय बालकको अकालमै ज्यान गयो । नेपालगञ्जमा क्वारेन्टाइनबाट घर फर्काइएका सात जनामा कोरोना पुष्टि भयो । पछिल्लो समय संक्रमितको संख्या थपिने क्रम बढ्दै गए पनि परीक्षणको दायरा बढाउन सकिएको छैन । सुस्त परीक्षणका कारण रिपोर्ट नआउँदै संक्रमितहरुले ज्यान गुमाउनुपर्ने नियतिले लापर्बाहीको पराकाष्ठा नाघेको छ । सरकारले नै जारी गरेको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण नहुँदा सरकारलाई नै पटाक्षेप गरेको छ । क्वारेन्टाइनबाटै संक्रमण फैलिन थालेपछि विज्ञहरुले मापदण्ड नपुगेको क्वारेन्टाइनमा बस्नुभन्दा घरमै विशेष सावधानी अपनाएर बस्नु सुरक्षित हुने औँल्याएका छन् ।

स्मरणीय के छ भने कोरोनासँगको युद्धमा संवेदनशील भएका धेरै मुलुकले जितेका पनि दृष्टान्त छन् । तर, शासकहरुको मूर्खता र हठले गर्दा कतिपय मुलुकले अकल्पनीय जोखिम बेहोरिरहेका छन् । सरकारी हेलचेक्र्याइँका कारण नेपाल उच्च जोखिमको कोटीमा परेको छ । सरकारका मन्त्रीहरुले नेपालमा कोरोनाको जोखिम नरहेको, कोरोना फ्री क्षेत्र घोषणा गर्नेजस्ता हावादारी कुरा गर्दै आएका छन् । बुद्धिजीवीहरुले लकडाउन व्यवस्थापन गर्न र क्वारेन्टाइन व्यवस्थित गर्न निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तर, सरकार विज्ञहरुको सल्लाह–सुझाव सुन्न छाडेर तमासेजस्तो बनेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार शंकास्पद व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिने उद्देश्यले आवश्यक सुविधासहित क्वारेन्टाइनस्थललाई सुरक्षित बनाइनुपर्छ । तर, सिकिस्त संक्रमितलाई समेत आइसोलेसनमा राखेर उपचार गर्नुको साटो अस्पताललाई नै क्वारेन्टाइन बनाइने गरिएको छ । कतिपय अस्पतालमा खैनी, सुर्ती र मदिरासमेत मगाइएको खबर सुनिन्छ । क्वारेन्टाइनमा राखिनु भनेको कसैलाई संक्रमित रहेछ भने अरुलाई नसरोस् भन्नाका लागि हो । पाल टाँगेर भुइँमै राख्नु, लस्करै राखिनु अव्यवस्थित तरिका हो । क्वारेन्टाइनमा एक व्यक्तिबाट अर्कोमा संक्रमण फैलिनु, कोचिएर बस्नै नसक्ने स्थिति भएर भाग्नु, भागेर आत्महत्या गर्नु अव्यवस्थित क्वारेन्टाइनका सूचक हुन् । क्वारेन्टाइनलाई व्यवस्थित गर्न नसकिए घरलाई नै क्वारेन्टाइन बनाएर स्वास्थ्यकर्मीबाट आवश्यक परीक्षण गरेपछिमात्रै उपचारका लागि अस्पताल पठाउनु उपयुक्त हुन्छ । नभए, क्वारेन्टाइनको नाममा गाईजात्रे व्यवस्थापनले कोरोना संक्रमण झनै भयावह हुने देखिन्छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया