धूमपान ‘मृत्युमार्ग’ नबनोस्

अन‌ि यो पनि

धूमपान तथा सुर्ती सेवनको प्रयोगले जटिल स्वास्थ्य समस्या निम्त्याउँछ । तर, धूमपानले बिस्तारै ज्यान लिन्छ भन्ने वास्तविकता जान्दाजान्दै पनि प्रायः मानिसले यसैलाई ‘मृत्युमार्ग’ बनाइरहेका छन् । धूमपान तथा सुर्ती सेवनकै असरका कारण नेपालमा बर्सेनि २५ हजार बढी व्यक्तिको अकालमै ज्यान जाने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको एक तिहाइ अर्थात् ९० लाखभन्दा बढीले सुर्ती सेवन गर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १३ वर्षदेखि १५ वर्ष उमेर समूहका चार करोड व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्छन् । युवालक्षित सुर्तीजन्य उत्पादनको विज्ञापनमा मात्र सम्बन्धित उद्योगहरुले नौ अर्ब अमेरिकी डलर खर्च गर्दै आएका छन् । सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वभर बर्सेनि आठ करोड व्यक्तिको मृत्युको बदलामा ती उद्योगहरुले युवापुस्तालाई प्रेरित हुने गरी विज्ञापन गरिरहेको डब्लुएचओले जनाएको छ । यतिसम्म कि कोरोना महामारीमा समेत सुर्ती, चुरोट, खैनी, बिँडी, परागजस्ता सुर्ती तथा निकोटिनजन्य उत्पादनको निर्बाध बिक्रीवितरण हुँदै आएको छ । सुर्तीजन्य पदार्थको सेवनले कोरोनाविरूद्ध लड्ने शक्तिमा ह्रास आउने बताइएको छ । धूमपान तथा सुर्ती सेवन गर्ने हरेक १० मध्ये नौ जनाले आफू १८ वर्ष पुग्नुअगावै यस्तो कुलतमा लाग्ने गरेको अनुसन्धानले देखाएको छ ।

नेपालमा पनि आइतबार विश्व धूमपानरहित दिवस मनाइएको छ । यो दिवस मनाइँदा केही संघसंस्था तथा स्वास्थ्य संस्थाले कर्मकाण्डलाई निरन्तरता दिएजस्तो गरेका छन् । धूमपान तथा सुर्ती सेवनले भयावह स्थिति निम्त्याउँदै गर्दा र यसकै व्यसनका कारण नेपालमा बर्सेनि २५ हजारको ज्यान गुमिरहँदा राज्यले धूमपान तथा सुर्ती सेवन न्यूनीकरण गर्ने खालका कुनै पनि कार्यक्रम कार्यान्वयन गर्न सकेको छैन । सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ लागू गर्दै शिक्षण संघसंस्था, होटल–रेस्टुरेन्ट, भोजनालय, चमेनागृह, छात्रावास, प्रतीक्षालय, शौचालय, टिकट काउन्टर, मठमन्दिरजस्ता सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नपाइने कानुनी व्यवस्था गरेको छ । तर, कानुन बने पनि कार्यान्वयन नहुँदा अधिकांश कार्यक्रमहरु निरर्थक बन्ने गरेका छन् । दुर्भाग्य नै मान्नुपर्छ अहिले हरेक घरघरमा सुर्ती सेवन गर्ने मानिस बढिरहेका छन् । सुर्तीजन्य पदार्थको उपयोगमा युवाको आकर्षण पनि उत्तिकै बढ्दो छ । जतिसुकै सचेतनाका कुरा गरिए पनि अहिले स्कुल तथा कलेजका विद्यार्थीमा धूमपानको व्यसन अत्यधिक बढिरहेको छ । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभई सामाजिक एवम् आर्थिक क्षति हुने गरेको छ । हरेक वर्ष धूमपानरहित दिवस मनाउँदै गर्दा धूमपान तथा सुर्ती सेवनको कुलत भने हटाउन सकिएको छैन ।

धूमपान र सुर्ती सेवन स्वास्थ्यका लागि घातक छ भन्ने विषयमा मानिसहरु संवेदनशील बन्न नसक्दा कलिलै उमेरमा मुटुरोग, श्वासप्रश्वास रोग तथा हृदयाघातजस्ता जोखिम बढ्ने गरेको छ । युवापुस्ताले देखासिकी र फेसनका रुपमा धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ । धूमपानले सुरूवातमै स्वास्थ्यसम्बन्धी लक्षण नदेखिए पनि अन्तिम अवस्थामा यसको असर निकै भयावह हुन्छ । धूमपानले विशेषगरी हृदयाघात निम्त्याउने गर्दछ । हृदयाघातका कारण अकाल मृत्युबाट बच्न धूमपान त्याग्नुको विकल्प छैन । पहिले ४० वर्ष कटेपछिमात्रै हृदयाघात हुने गरे पनि पछिल्लो समय २५ वर्षका युवामा समेत हृदयाघात देखिनु धूमपानकै असरले गर्दा भएको विज्ञहरुले औँल्याएका छन् । धूमपानकै असरका कारण उच्च रक्तचाप, कोलस्ट्रोल, मिर्गौला रोग, विभिन्न अङ्गको क्यान्सर, मधुमेह, मानसिक रोग, महिलाको प्रजनन शक्तिमा ह्रास, टिबी, दमजस्ता समस्या पनि निम्त्याउने गरेको पाइन्छ । धूमपान र सूर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा मस्तिष्कघातको सम्भावना पनि चार गुणासम्म बढी हुन्छ । धूमपानले अमूल्य मानवजीवनलाई हानि पुग्ने भएकाले समयमै सचेत भई ‘मृत्युमार्ग’बाट टाढा रहनुपर्छ । गम्भीर प्रकृतिका रोग लागेपछि पछुताउनुभन्दा रोग निम्त्याउने कारक मानिएको धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नु नै एकमात्र विकल्प देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया