लोथर गाविसको वासबाङका ३७२ बालबालिकामध्ये ९९ प्रतिशत बालबालिकामा कुपोषणको समस्या रहेको पाइएको छ । पोषण पुनसर््थापना गृह भरतपुर अस्पताल, दियालो परिवार र नेपाल युथ फाउण्डेशनले गरेको स्वास्थ्यसम्बन्धी शिविरमा बालबालिकामा डरलाग्दो अवस्था देखिएको हो । जसमध्ये ५४ जना बालबालिकामा जटिल कुपोषण देखिएको छ । कुपोषणबाट ज्यानै जानसक्ने अवस्थामा पुगेका २२ जना बालबालिकाहरुले शिविरबाटै उद्दार गरिएको थियो । तीमध्ये १० जनालाई काठमाडौँ लगिएको छ । चितवनका पहाडी क्षेत्रमा सन्तुलित भोजनको अभावले कुपोषणग्रस्त बालबालिकाहरुको वर्षेनि मृत्यु हुँदै आएको छ । चितवनको लोथर, काउले, दाहखानी, सिद्धिलगायतका गाविसमा स्वास्थ्य शिविरहरु हुँदै आए पनि पोषण स्वास्थ्य शिविर भने पहिलो पटक सञ्चालन भएको थियो । लोथरमा देखिएको कुपोषणको डरलाग्दो तथ्यांक हेर्दा अन्य गाविसको अवस्थासमेत सहजै मूल्यांकन गर्न सकिन्छ ।
सन् २००१ को राष्ट्रिय पोषण सर्वेक्षणले नेपालका पाँच वर्ष मुनिका करिब ४८ प्रतिशत बालबालिका कुपोषणग्रस्त देखाएको थियो । चिकित्सकहरुका अनुसार नेपालमा बालबालिकाहरुलाई हुने रोगको प्रमुख कारण अझै पनि कुपोषणलाई नै मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले विभिन्न रोगका १० प्रमुख कारणहरुमध्ये एक कुपोषणलाई नै मानेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारमा करिब १७ करोड बालबालिका कुपोषणका कारणबाट मर्ने गरेका छन् । विकासोन्मुख देशहरुमा त ६० प्रतिशत बालमृत्युको कारण कुपोषणलाई मानिएको छ । विश्वकै विकराल समस्याको कारण बनेको कुपोषणको दीर्घकालीन समाधान ग्रामीण भेगमा पाइने रैथाने अन्नबाली र गेडागुडी भए पनि त्यतातिर कसैको ध्यान नजाँदा विपन्न हजारौँ बालबालिकाहरु मृत्युको शिकार भएका छन् । चिकित्सकका अनुसार आफ्ना बालबच्चालाई बचाउने हो भने प्रत्येक आमाले गाउँ घरमा पाइने अन्न र गेडागुडीलाई भुटेर पीठो बनाई लिटो बनाएर खुवाउनुपर्छ । कुपोषणविरुद्धको सर्वोत्तम आहार नै लिटो हो ।
शरीरलाई आवश्यक सन्तुलित आहार लामो समयसम्म नपाउनाले हुने विकृत अवस्थालाई कुपोषण भनिन्छ । पर्याप्त खाना तथा पौष्टिक तत्वको कमी, रोग तथा संक्रमण, पोषणसम्बन्धी ज्ञानको कमीले कुषोषण निम्त्याउँछ । रोगसँग लड्ने क्षमतामा कमजोर भई शारीरिक तथा मानसिक विकासमा बाधा उत्पन्न हुँदा बालबालिकाहरुको अकालमै मृत्यु हुने गर्दछ । कुपोषणको सिकार हुनेमा दुई वर्ष मुनिका बालबालिकाहरुको संख्या सर्वाधिक छ । शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अंगहरुको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भइसकेको हुन्छ । मस्तिष्कलगायत अन्य प्रमुख अंगहरुको उचित विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रोे हुनु पर्छ । संसारमा जति पनि रोगहरु छन्, तीमध्ये धेरैको कारक कुपोषणलाई मानिएको छ । लोथरमा देखिएको कुपोषणको अवस्था मध्यनजर गर्दै पहाडी क्षेत्रहरुमा पोषण स्वास्थ्य शिविर नियमित सञ्चालन गर्नु जरुरी देखिएको छ ।
Discussion about this post