भरतपुर । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग भरतपुरभन्दा बाहिरबाट लैजाने तयारी भएको भन्दै नेकपा (एमाले) चितवनले विरोध जनाएको छ । शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर भरतपुरभन्दा बाहिरबाट रेलमार्ग गए चितवनको विकासमा दीर्घकालीन असर पर्ने धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगले हेटौँडा भरतपुरहुँदै नवलपरासीको तमसरिया निकाल्ने निर्देशन दिए पनि त्यसविपरीत बाराको सिमराहुँदै चितवनको कल्याणपुरबाट तमसरिया निकाल्न लागेको एमालेको भनाइ छ ।
पत्रकार सम्मेलनमा एमालेले रेलमार्ग निर्माणसम्बन्धी विभिन्न जानकारीहरु सार्वजनिक गरेको छ । कुल एक हजार ३१७ किलोमिटर लम्बाइको पूर्व–पश्चिम मेची महाकाली विद्युतीय रेलमार्गको कुल आठवटा सेक्सन हुनेछन् । एमाले चितवनले सेक्सन चारमा पर्ने रुटका बारेमा ध्यानाकर्षण भएको जनाएको छ ।
भारतीय कन्सल्टेन्सी कम्पनी राइट्सले गरेको सम्भाव्यता अध्ययनअनुसार सेक्टर चारमा १७६ किलोमिटर रुट पर्छ । रौतहटको चन्द्रनिगाहपुरदेखि नवलपरासीको तमसरिया यो सेक्टरमा पर्छ । यो खण्डमा कन्सल्टेन्सीले दुईवटा रुट प्रस्ताव गरेको छ । एउटा रुट सिमराबाट चितवन निकुञ्जको दक्षिणी सीमाहुँदै तम्सरिया पुग्छ ।
त्यस्तै, अर्को रुट सिमरा, हेटौंंडा, भरतपुरहुँदै तमसरिया निस्कन्छ । हेटौँडा भरतपुरहुँदै तमसरिया निस्कने रुट अर्कोभन्दा साढे पाँच किलोमिटर लामो छ । त्यस्तै यो रुटमा ३५ किलोमिटर सुरुङ खोल्नुपर्ने हुन्छ । अर्को रुटमा लगभग पौनेतीन किलोमिटरमात्रै सुरुङ खने पुग्ने अध्ययनले देखाएको छ ।
‘केही प्राविधिक विषयलाई कारण बनाएर चितवनवासीसँग कुनै छलफल नै नगरी रुट बदल्दा चितवनवासीको भावनामा ठेस पुगेको छ’ पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले भने । एमालेले सिमरा, भरतपुर, तमसरिया रुटको डिपीआर गर्न सरकारसँग माग गरेको छ । यो माग पूरा गराउने अभियानमा सामेल हुन एमालेले सर्वसाधरणसहित दल र चितवनको विकासमा सरोकार राख्ने सबैसँग अपिल गरेको छ । अरुसँग पनि छलफल गरेर एकीकृत अभियान सुरु गर्ने एमाले अध्यक्ष थपलियाले बताए ।
निकुञ्जको पनि असहमति
रेलमार्गले चितवन निकुञ्जलाई पनि असर गर्नेबारे सर्वत्र चासो रहेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर सिमरा, कल्याणपुरहुँदै तमसरिया निस्कने रेलमार्गले निकुञ्जलाई धेरै असर पर्ने बताउँछन् । हेटौंडा भरतपुरहुँदै तमसरिया निस्कने रुट निकुञ्जलाई असर नगर्ने खालको भएको उनले बताए ।
रेल्बेका अधिकारीहरुले सिमराबाट हेटौँडा रेलमार्ग लैजान प्राविधिक रुपमा कठिन हुने तर्क राख्दै सिमरा, कल्याणपुर रुटको योजना बनाएका हुन् । जुन रुटले निकुञ्जको धेरै भाग छुने र यसले दुर्लभ वन्यजन्तुको वासस्थलमा असर पर्ने भन्दै निकुञ्जले असहमति राख्दै आएको छ ।
‘सिमराबाट हेटौँडा जान प्राविधिक रुपमा अप्ठ्यारो हुन्छ भने सिमरा नगइ पूर्व कुन ठाउँबाट हेटौँडा आउन सजिलो हुन्छ त्यहिँबाट रुट तानेर भरतपुरहुँदै तमसरिया निस्कनु पर्छ । निकुञ्जलाई जोगाउनु पर्छ भनेर हामीले धारणा राख्दै आएका छौं’ प्रमुख संरक्षण अधिकृत कुँवरले भने ।
Discussion about this post