यतिखेर संसार नै कोरोनाको त्रासदीले आकुलव्याकुल भैरहेको छ । कोरोनाको कारण रोजगारी खोसिएका लाखौँ नेपाली युवाहरु संसारभरि नै लकडाउन भैरहेको हुँदा दुई छाक खानसमेत नपाएर विदेशी भूमिमा रोइरोइ बाँच्न बाध्य भएका छन् । यता नेपालमा यही बेलामा छिमेकी भारतले नेपालको भूमि कालापानी, लिपुलेक क्षेत्रलाई अतिक्रमण गरी सडक बनाएर उद्घाटन गरिसकेको छ ।
लकडाउनका कारण स्वदेश र विदेश सर्वत्र हवाई उडानदेखि सबैथोक अस्तव्यस्त छ । विदेशमा रोजगार खोसिएर खान नपाई नेपाल फर्कन पनि नपाएर एयरपोर्टमै, सिमानामै लाखौँ नेपाली युवा रूँदै आलापविलाप गरी घर न घाटको हुनु परिरहेको छ । स्वदेश फर्कंदा उनीहरुसँग कोरोना भाइरस भित्रिने डरले सरकारले जनताको जीउधनको रक्षार्थ यो बन्दाबन्दी गरेको हो । यही बेलामा छिमेकी भारतले नेपाली भूमि हड्पेको, साँध मिचेको र उता लाखौँ नेपाली युवा विदेशी भूमिबाट नेपाल फर्कन पनि नपाइरहेको यो घडीमा नेपाल सरकारले एउटा साह्रै ठूलो चुनौतीलाई जसरी भए पनि सामना गर्न परेको छ ।
यो देश सबै नेपालीको साझा सम्पत्ति हो । संकटको यो घडीमा हामी सम्पूर्ण नेपालीहरुले आपसमा यो पार्टी त्यो पार्टी, यो नेता त्यो नेता, यसले यस्तो उसले उस्तो ग¥यो भनेर एकले अर्कालाई दोषारोपण गरी उम्कन यो बेलामा हुँदैन र पाइँदैन पनि । देशै नरहे हामी कहाँ रहौँला र ! एकातिर कोरोना भाइरसले सबै नेपाली एक चिहान भइने पो हो कि भनेजस्तो अवस्था र अर्र्कोितर घरकै मूल मान्छे विदेशी भूमिमा जहान, छोराछोरी, बाआमाको मुखै देख्न नपाई मर्नुपर्ने डर ! छिमेकीले गाउँ नै लुटिरहेको यो समयमा सम्पूर्ण नेपालीहरु ज्यादै अनुशासित, सकारात्मक, सचेत र संयमित हुन अनिवार्य भएको छ ।
हामी नेपाली जसले जे भने पनि सनातनदेखि हिन्दु, मुस्लिम, बौद्ध, इसाईका रुपमा छौँ । जसले जसमा आस्था राखे पनि एउटै देवाधिदेव पशुपतिनाथ भगवान्को काख, विश्वास र छत्रछायामै हुर्किरह्यौँ, बाँचिरह्यौँ, नाचिरह्यौँ र हाँसिरह्यौँ । हामी नेपालीको एकमात्र विश्वास, दुःख र संकटको यो बेलामा हामी जतिसुकै भौतिकवादी हौँ भने पनि भित्री हृदयले भगवान् पशुपतिनाथ, गीता र वेदलाई मानेकै हुन्छौँ, भलै मुखले जे भनियोस् ।
एक–दुई दशकयता देशमा राजनीतिक परिवर्तन भयो भन्दैमा नेपालका कुनै पनि नेता, नेतृत्व, धर्म र सम्प्रदायका मानिसहरुले अहंकार गरिरहन पर्दैन, हामी सबै एउटै खोला र पानीपँधेरोका हौँ । तसर्थ, यो जटिल परिस्थितिमा कुनै नेता, धार्मिक सम्प्रदायका मनिसले जुटाउनभन्दा फुटाउन, अर्घेलो गरिरहन हुँदैन र पाइँदैन । कोरोनाले घाँटी–घाँटीसम्म डुबाउँदा पनि हामी कहिलेसम्म धर्म, जात र एकअर्कामा दोषारोपण गरिरहने ? अब नेपाली जनताले यो दुःखको घडीमा सम्पूर्ण नेपाली एकढिक्का हुन चाहेका छन् र यो अन्तिम युद्ध लड्न ज्यादै संयमित भएर सबै नेपालीले मुकाबला गर्न खोजेका छन ।
तीन करोड नेपालीको हृदयले यही खोजिरहेको छ । अब सरकारले विदेशका ६० लाखजति नेपालीमध्ये कति नेपाली युवा स्वदेश फर्कन चाहन्छन् ? तिनीहरुलाई खुसीसाथ नेपाल झिकाउने र स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा सुरक्षित किसिमसँग राखी देशमा भएका उद्योग, कारखाना, क्याम्पस, स्कुल, अस्पताल, चौर, फाँट र पहाडका कुनै गाउँमा ससम्मान प्रेमले राखी स्वस्थ र ताजा खाना, बासको व्यवस्थापन गर्नुपर्दछ ।
जति कोरोना भाइरसबाट ग्रसित फेला पर्छन् तिनीहरुलाई सुरक्षितसँग औषधि उपचार सरकारी तवरबाटै गरिदिने र जो निरोगी छन् उनीहरुलाई परिवारसँग भेटघाट गर्न दिनुपर्छ । अहिले साँध, सिमाना मिचिएको ठाउँमा नेपालको क्षेत्रफलभरि काँडेतार, मजबुत पर्खाल लगाउन ती विदेशबाट आएका युवालाई जिम्मा दिइयोस् । यो काममा देसैभरिका लाखौँ विद्यार्थी, युवायुवतीहरु आफ्नो देशको रक्षार्थ स्वयंसेवा गर्न प्राण दिएर लाग्नेछन् । ती युवाशक्तिलाई खान–बस्न र निर्माण सामग्री जुटाउन स्वदेश र विदेशबाट सहयोगको आह्वान सरकारले गरोस् । यो शुभ काममा प्रत्येक नेपालीले तन, मन र धनले सहयोग अवश्य गर्नेछन् ।
अहिलेको संकटकालीन परिस्थितिबाट पार लगाउन नेपालीहरुले हातमा हात र काँधमा काँध मिलाउन जरूरी छ । यसका लागि देशका सबै क्षेत्रका मानिसहरुले आफ्नो वर्ग, पार्टी, विचार र स्वार्थभन्दा माथि उठेर मातृभूमिलाई बचाउन एकमात्र हतियार प्रयोग गर्ने हो भने यो अहिलेको संकट सदाका लागि हटनेछ । हाम्रो एकता र प्रेमको शक्तिले कोरोना पनि कमजोर भई पाखा लाग्नेछ भने भारतले समेत हच्किन र हाम्रो लुटिएको भूमि फिर्ता गर्न बाध्य हुनुपर्नेछ । हामी आपसमा मिल्यौँ, संयमित बन्यौँ र अर्जुनशक्तिलाई ठीक ठाउँमा प्रयोग ग¥यौँ भने समस्या वरदान बन्नेछ । सरकार र सचेत नेपाली जनतालाई यो कुरा चेतना भया !