नयन अधिकारी
उनी मेरो पर्खाइमा बाटोछेउमा आँखा ओछ्याएर बसिरहेकी थिई । सायद यो आँखालाई मेरो प्रत्यक्ष स्पर्शको चाहना थियो ।
मैले छेउमा गएर मोटरसाइकलको हर्न बजाएँ…टिँ…टिँ…र, ऊ झस्की । मेरो आँखा उसको आँखामा गएर टक्क रोकियो ।
मैले भनेँ, ‘तिमी नै हो प्रकृति ?
उसले भनी, ‘हजुर, म नै हुँ ।’
मैले हेलमेट खोलिदिएँ, उसले मलाई चिनिहाली । त्यो दिन उस्को घरमा विताइयो ।
उसको घरमा खुब रमाइलो थियो । मान्छेहरुको आवतजावत यथावत् नै थियो ।
बेलाबेलामा व्यस्तताको बाबजुद पनि
उसको त्यो दृष्टि म माथि पथ्र्यो । म पनि उसलाई हेर्न पाउनुको आनन्दलाई मुस्कानमा रुपानन्तर गर्दै फिस्स हाँस्थे ।
भोलिपल्ट…
म उनीबाट छुट्टिने छिन…
उसका ती आँखाहरुले मलाई धीत मरून्जेल हेरिरहेथ्यो । मैले पनि उनीसँगको यो हेराइमा आफ्नो हेराइ मिसाएँ…
म फेरि आउँछु….
बाई ह्याव नाइस जर्नी
अनि म हिंँडेँ ।
उनी मबाट जति–जति दूरी टाढा हुँदै थिइन्, त्यति–त्यति उसका यादहरु मेरो नजिक–नजिक आउँदै थियो ।
म घर नआइपुगिन्जेल बीच–बीचमा उनको फोन आउँथ्यो ।
‘हेलो, तिमी कहाँ पुग्यौ ?’
‘आत्मा तिमी वरिपरि छ ।
हा…हा..हा… गफाडी….।
म घरमा आएर बेडमा पल्टिँदै ठूलो सास फेरेँ । जसरी श्वासहरु वाहिर गए…, त्यसरी नै उसका स्मृतिहरु मभित्र प्रवेश गरे…। अनि मेरा आँखाले उसको तस्बिर देख्न थाल्यो…।
रातो कुर्ता–सुरूवाल
कालो टीका निधारमा…
ठूला–ठूला आँखामा ‘गाजल’
त्यो गाजलु आँखामा फेरि आफ्ना आँखाहरु ठोकिएझैँ लाग्यो…।
म भित्तापट्टि फर्किएर निदाउन खोज्दै थिएँ…मोबाइलमा घन्टी बज्यो…।
‘हेलो, के छ ! राम्ररी पुग्यौ नि ?’
‘हजुर आइपुगेँ ।’
‘निकै थकाइ लाग्या होला, ल–ल आराम गर’
मैले भनेँ, ‘थकाइ त लागेको छ, तर यो थकान तिमीसँग टाढा हुनुको…।’
अनि, म कुन बेला निदाएँ, थाहै भएन…।
तिमीसँग अमूल्य पल छ मेरो
तिमीले हेरे पो मुटु चल्छ मेरो
– प्रकृति
मलाई हेरेजस्तै गरी नहेर अरु कसैलाई
एउटै भाको मुटु पनि जम्छ मेरो
– किरण
फेसबुकको इनबक्समा उसको म्यासेज आयो, मैले उत्तर दिएँ । यो हाम्रो दिनचर्याजस्तै थियो । ऊ आफ्नो कार्यव्यस्तताका बाबजुद पनि मसँग अनलाइन कुरा गथ्र्यो ।
कहिले सिनेमाका कुरा…
कहिले जीवनका कुरा…
कहिले दर्शनका कुरा…
कहिले मायाका कुरा…
कहिले संगीतका कुरा…
धेरै विषयमा उसको र मेरो कुराकानी हुन्थ्यो ।
पालैपालो हामी टपिक्स छनोट गथ्र्यौं ।
एक दिन…
‘तिमीलाई सेक्स भनेको के हो जस्तो लाग्छ ?’
‘ह्वाट इज सेक्स ?’
‘हेलो, यो कस्तो टपिक्स ?’
ऊ डराउँदै अनि रिसाउँदै थिई…
उसले भनी, ‘निद्रा लाग्यो, सुत्छु ल !’
मैले भनेँ, ‘एकछिन, भर्खर त कुरा गर्दैर्छौँ, कति छिट्टै निद्रा लाग्छ के आजकाल तिमीलाई !’
उसले भनी, ‘फस्ट, चेन्ज दी टपिक्स ।’
मैले भनेँ, ‘नाइँ’
उसले भनी, ‘गुड नाइट ।’
उनी त्यता निदाइन् या निदाइनन्, थाहा छैन । यदि उसलाई निद्रा नै लागेको थियो भने पक्का निदाई होली । नत्र, उसको मनमा भूकम्प गएको होला यतिबेला, भूकम्प पनि नब्बे सालको…।
मचाहिँ मोवाइलको स्क्रीनमा उसको फोटोलाई हेर्दै त्यो कृति–बिम्बसँग कुरा गर्दै थिएँ…।
कति रिसाउँछेस् है मसँग…
छि, रिस नाकको टुप्पोमा भएकी केटी…
जन्म र मृत्युको अन्तराललाई नै जीवन हो भन्छन् मान्छेहरु…
यदि त्यो अन्तरालमा कुनै समय छातीभित्रको मुटु चल्दैन भने के त्यो पनि जीवन हो ?
मेरो पनि छातीको देव्रेपट्टि एउटा सानो मुटु छ, जुन मुटु जीवनलाई बोध गराउँदै आफ्नै गतिमा दौडिरहेको छ । जब उनी रिसाउँछिन्, यो मुटु दौडन त परै जाओस् चल्न पनि छाड्छ…
यो कस्तो प्रेम ??
यो कस्तो माया ??
हरदम, हरपल मुटु दुखिरहेको भान हुन्छ । लाग्छ, तिमीसँगको भेटमात्र मुटु दुख्ने भएको रहेछ । तिमीसँगको सामीप्यतामा पनि मुटु जोड–जोडसँग दुखेको थियो र दुखाइको परिभाषा मात्र अलिकति फरक छ…
तिमीसँग हुँदा… तिमीबाट टाढा हुँदा… दुख्नुको नमज्जा म अनुभव गर्न सक्छु सजिलै…। पीडा र आनन्द दुवै प्रेमका उपहार रहेछन्…।
मनमा कुराहरु खेलाउँदा खेलाउँदै म आँखाभरि उसलाई लिएर निदाइरहेँ…।
किन लाग्छ तिम्रो बोली गुलियो–गुलियो
जानुपर्ने अन्त थियो तिमीमा आई भुलियो
– प्रकृति
बोली मन परेको मायाले होला
मेरो नजिक तिमी सरेको मायाले होला
म हाँस्दा अनि बोक्दा अरुसँग
तिमीले आँखा तरेको मायाले होला
– किरण
‘के गर्दै थियौ ?’
‘म त तिमीलाई पर्खंदै थिएँ ।’
‘होला खुब ! अनि राति किन मसँग रिसाएकी त ?’
‘को रिसाएको छ र ?’
‘ल, ल फरगेट इट…, अनि अब त्यो टपिक्समा कहिले कुरा गर्ने त ?’
उसले भनी, ‘साँझ….।’
‘पक्का ?’
‘१००% पक्का ।’
‘ल ल, म काम सिध्याउँछु अब । साँझ कुरा गरम्, आज छिट्टै आऊ ।’
‘आज त एकदम छिट्टै आउँछु…।’
‘हा… हा… हा… बद्मास !’
‘ल ल, म गएँ…।’
आजभोलि…जहाँ–त्यहीँ उनी मात्र थिइन्…
उनको त्यो मुलायम कपाल…
चुलबुले ओठ…
मृगनयनी आँखाहरु…
मलाई छायाझैँ गरी पछ्याइरहन्थे…
म यो ब्रह्माण्डमा उनी र आफूलाई बाहेक कोही कसैलाई देख्दिनँ थिएँ…
मलाई यतिबेला जिन्दगी सरल रेखामा हिँडिरहेको झैँ लाग्यो । कहीँ–कतैबाट दुःखको आभास फिटिक्कै थिएन । तर, मभित्र के हुँदैछ, मलाई नै थाहा छैन…।
— — — — —
वातावरण साँझमय हुँदै थियो…।
आज मलाई यो साँझ र प्रकृति दुवैको साथमा मद्होस हुने चाहना पलायो…।
‘हेलो तिमी फ्रि भए अनलाइन आऊ न ।’
एकैछिनमा उत्तर आयो, ‘हस् ।’
‘हाई, के छ ?’
‘ठीक छु, अनि तिमी ?’
‘म पनि ठीक छु, बट आई मिस यु यार, मिस यु टु ।’
उसले भनी, ‘आज कुन टपिक्समा कुरा गर्ने त ?’
मैले भने, ‘दिउँसोकै १००% वाला ।’
‘हा..हा..हा…’
‘अनि भन त, सेक्स के हो झैँ लाग्छ ?’
‘त्यो त प्राकृतिक कुरा हो जस्तो लाग्छ ।’
‘इट्स अ न्याचुरल प्रोसेस ।’
‘ए..ए..ए..’
‘यो प्राकृतिक कुरा मात्र हो कि प्रकृतिको पनि कुरा हो ?’
‘हा..हा..हा.. पागल ।’
‘यस आई एम…।’
‘अनि एउटा कुरा सोधुम्, नरिसाई उत्तर दिने भएमात्र ।’
‘ल..ल.. सोध न, रिसाउँदिनँ ।’
‘तिमीलाई यो उमेरसम्म आइपुग्दा कुनै बेला…कुनै दिन… कुनै समय… सेक्स कोही कसैसँग गरुम्झैँ भएन…?’
उसले भनी, ‘भयो नि, किन नहुनु । के म मान्छे होइन र ?’
‘कोसँग हुन्थ्यो त्यस्तोचाहिँ ?’
‘इमरान हासमीसँग ।’
‘हा…हा…हा…, गफाडी केटी ।’
‘ल ल अब सुत, रात परिसक्यो ।’
गुड नाइट…
तिम्रा यादहरु… यत्रतत्र सर्वत्र छरिएको छ…झ्यालबाट बिहान छिरेको सूर्यको किरणदेखि अस्ताउन लागेको घामसम्म… अनन्त, अविरल बगिरहने सागरजस्तै…सुवास बोकेर फक्रिने फूलहरु जस्तै…।
तिम्रा सम्झनाहरु, मेरो आँखादेखि मनको पीँधसम्म…मनको किनारमा छङछङ गर्दै प्रत्येक रातको अँधेरीसँगै तिम्रा यादहरु आउँछन्, जान्छन्…। जब–जब तिम्रो आकृति मेरो नयनको सतहमाथि चल्बलाउन थाल्छ…म आँखाहरुलाई बन्द गर्न सक्दिनँ, अनि त्यो रात म जागै हुन्छु, किनकि म आँखा चिम्लिएर तिमीलाई आफ्नो मनको परिधिभित्र बन्धक बनाउन फिटिक्कै चाहन्नँ । म त तिमीलाई आफ्नो आँखाअधि राखेर हेरिरहन चाहन्छु, अब जिन्दगीभर…।
म आफ्नो मनसँग गन्थन गरिरहेको हुन्थेँ ः
मेरो चाहना के ?
मेरो लक्ष्य के हो ?
मेरो यात्राको गन्तव्य कहाँ छ ?
म फेरि भन्थेँ ः
पिँजडा…पिँजडा…पिँजडा… म आफू थुनिएको पिँजडालाई तोड्दै स्वतन्त्र हुन चाहन्थेँ…। हरेक सीमाहरुबाट नीलो आकाशमा, शीतल तारहरुसँगै रमाउन चाहन्थेँ उनीसँगै…।
— — — — —
फेसबुकको वालमा…
आई एम कमिङ
ह्वाट् सरप्राइज ?
साँच्चै मलाई पत्यार नै लागेको थिएन, उनी यति छिट्टै मलाई भेट्न आउँदै छिन्…।
म उनलाई लिन बसपार्कसम्म गएँ ।
गाडी आउँथ्यो… मान्छे ओर्लन्थे तर…
उनले दिएको समय करिब १–२ घन्टापछि मात्र उनी बसबाट ओर्लिन्…।
चञ्चल ताता बतासहरु….उनको केशसँगै जिस्कन थाले । उनी उडेको कपाल सम्हाल्दै थिइन् ।
म हेरेको हे¥यै भएँ…।
उनी छेउमै आएर बोलिन्, ‘उफ् कति हट चितवन !’
मैले भनेँ, ‘तिमीभन्दा थोरै कम ।’
कर्के नजर पारेर उसले मतिर हेरी ।
म मात्र हासिरहेँ, हा…हा…हा…।
त्यो रात खाना खान सँगै डाइनिङमा बसियो ।
उनी मेरो आँखा अगाडि, कसैको वास्ता नै नगरी उनी मलाई हेर्थिन्…। म भने आफ्नो नजरलाई भुइँमा लगेर टाँसिदिन्थे । किनकि मलाई डर थियो, त्यो हाम्रो नजर–नजरको भुइँको कहानी, कतै अरुमा प्रचार हुने त होइन…?
भुइँमा झुकेको शिर बिस्तारै उठाउँदै…फेरि आफ्नो आँखा उनकै आँखामा टाँस्दैथेँ ।
उनको खुट्टाका औँलाहरुले मेरो खुट्टाका औँलाहरुलाई छोयो…मैले उनको अनुहारमा हेरेँ…उसले मुन्टो हल्लउँदै इसारा गरी कि म अब, यो नजर–नजरको युद्धलाई विश्राम दिऊँ…।
— — — — —
सबै जना टिभी हेर्दै थियौँ ।
बिस्तारै सबैलाई निद्रा लागेछ, एकपछि अर्को गर्दै सबै जना आ–आफ्नो कोठामा लाग्नुभयो ।
अब, बाँकी थियौँ त हामी ।
उनी अघिभन्दा अलि नजिक–नजिक थिई मेरो ।
मैले आफ्नो हातलाई बिस्तारै अगाडि बढाएँ ।
मेरो कान्छी औँलाले उनको कान्छी औँलालाई छोयो ।
क्रमशः… मेरा सम्पूर्ण औँलाहरु उनका औँलाहरुमा गएर गाँसिसकेका थिए ।
उनी जुरूक्क उठिन् ।
अनि मेरो गालामा चुम्बन गर्दै भनीन्, ‘गुड नाइट, म सुत्न गएँ ल !’
अर्को दिन…
उसलाई घुमाउन देवघाट लगेँ । हामी स्कुटरमा जाँदै थियौँ । बीच बाटोमा पानी प¥यो, ओत लगाउने नजिकको एउटा मन्दिर छेउमै बस्यौँ ।
लगभग एक घन्टा पानी परिसक्दा पनि पानीले विश्राम लिने कुनै संकेत नै देखाएन ।
आज पानीमै भिजेर भए पनि देवघाट घुम्ने जिद्दी गर्दैथी प्रकृति…।
हामी त्यहाँबाट निस्किएर केही पर पुगिन्जेलमै सम्पूर्ण रुपमा भिजिसकेका थियौँ ।
तैपनि, उसको सामीप्यतामा शरीरको तापक्रम बढ्दै थियो । हामी दुवै पानीसँगको त्यो यात्रामा रमाउँदै थियौँ ।
खै, आज कुन गतिमा मुटु चल्दै थियो, थाहै पाउन सकिनँ । सायद, म हिजोका दिनहरुमा भन्दा अलि धेरै खुशी थिएँ हुँला ।
अब, म सधैँभरि खुशी हुन्छु होला ।
खुशी हुन पनि एउटा आधार चाहिन्छ, यतिबेला मसँग खुशी पनि छ र आधार पनि ।
स्कुटर देवघाटवारि नै पार्किङ गरेँ ।
उनी पैदल हिँडेर देवघाटको सेरोफेरो घुम्ने योजना बन्यो ।
झोलुङ्गे पुलमाथि हिँड्दा उनी निकै डराइन् ।
मैले उनको हात थामेँ…। अनि, पुल पार गरियो…।
एउटा होटलमा पसेर तातो चियाको अर्डर ग¥यौँ ।
उसले चियाको एक चुस्की लगाई अनि भनी, ‘अहा, कति मीठो चिया !’
अनि मैले भनेँ, ‘मेरो त मीठो छैन त…।’
टेबलबाट उसको चियाको गिलास उठाउँदै मैले एक चुस्की लगाएँ…।
‘साँच्चै मीठो रहेछ, तिम्रो मायाजस्तै ।’
उनी मात्र हाँसिन्…।
उनले फेरि मेरो जुठो चियोको गिलास उठाउँदै भनी, ‘तिम्रो जुठो खाइदिन्छु ।’
मैले भनेँ,… ‘खाऊ…खाऊ… माया बढ्छ ।’
Discussion about this post