कसरा । नदी प्रदुषण र आहाराको कमीमात्रै होइन, खराब मौसम पनि घडियाल गोही संरक्षणमा चुनौती बनेको छ । गर्मी, खडेरी र अधिक वर्षाले पछिल्लो समय घडियालका अण्डा गुँडमै नष्ट हुन थालेका छन् । लगातार तीन वर्षयता नयाँ चुनौती सामना गर्दै आएको संरक्षणकर्मीहरु बताउँछन् ।
चितवन निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल गोही प्रजनन् केन्द्रका प्रमुख तथा निकुञ्जका सहायक संरक्षण अधिकृत वेद खड्काका अनुसार ६८ सालमा खडेरी र गर्मीले समस्या ल्याएको थियो । त्यस्तै ६९ र ७० सालमा वर्षा र बाढीले पिरोलेको उनले बताए ।
घडियाल गोहीले चैत्र महिनामा अण्डा पार्ने गर्छ । जेठको अन्तिमदेखि असारको पहिलो साताभित्रमा अण्डाबाट बच्चा निस्कन्छ । सामान्य घाम पानी र तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा भए अण्डाबाट राम्रा र स्वस्थ बच्चा बाहिर निस्कन्छ ।
तर बढी तापक्रम र वर्षाको तालमेल नमिल्दा गोहीका अण्डाबाट बच्चा निस्कन निकै गाह्रो भएको प्रमुख खड्काले जानकारी दिए । उनका अनुसार विस २०६९ सालमा २० गुँडमा ६३४ वटा अण्डा थिए । तर २६२ वटा अण्डाबाट मात्रै बच्चा निस्किए ।
‘त्यो बेला पानी नपरेर लामो समय खडेरी थियो । गर्मी अत्याधिक भयो । अण्डाभित्रै बच्चा मरे’ खड्काले भने । त्यसभन्दा अघिल्लो वर्ष ६८ सालमा भने अत्याधिक पानी पर्नाले समस्या आएको थियो भन्छन् उनी । ६८ सालमा १९ गुँडका ६३४ अण्डाबाट २५६ वटा बच्चा निस्केका थिए ।
यो वर्ष अर्थात् ७० सालमा पनि बढी पानी पर्नाले संकट आएको खड्काले जानकारी दिए । ७० सालमा नारायणी नदीमा छ वटा, राप्तीमा छ वटा र कसरामा रहेको घडियाल प्रजनन् केन्द्रमा आठ वटा गरेर २० वटा गुँड थिए । राप्तीको एउटा गुँडमा पोथी घडियाल जुद्धा गुँडमा रहेका सवै ३२ वटा अण्डा फुटेका थिए । नारायणीका तीन र राप्तीमा बाँचेका पाँचमध्ये दुई गुँड माउलाई नै बच्चा कोरल्न छाडिएको थियो भने बाँकी गुँडका अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा ल्याइएको थियो ।
यो वर्षको असार १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले नारायणीमा बाँकी रहेका सवै तीन वटा गुँड र राप्तीमा बाँकी रहेको दुईमध्येको एउटा गुँड बगाएर नष्ट गरेको खड्काले जानकारी दिए । बग्नबाट बचेको राप्तीको एउटा गुँडमा २८ वटा अण्डा थिए । जसबाट एउटामात्रै बच्चा निस्केको र बाँकी २७ वटा अण्डाबाट चुच्चो बाहिर निस्केर मरेको अवस्थामा फेला परेका थिए ।
‘यो वर्ष २० वटा गुँड फेला परेकोमा १४ वटा मात्रै जोगिए । जस्मा ४५५ अण्डा थिए । तर ७३ वटामात्रै अण्डा कोरल्न सफल भयो’ खड्काले जानकारी दिए । अविरल वर्षा हुँदा तापक्रम कम भएर र धेरै गर्मी हुँदा तामक्रम बढी भएर बच्चा अण्डाभित्रै मर्ने गरेको उनले बताए । उपयुक्त तापक्रम नहुँदा अण्डाबाट निस्केका बच्चा पनि स्वास्थ हुँदैनन् ।
६९ सालमा निस्केका २६२ मध्ये ८६ वटा मात्रै हुर्केका थिए । यो वर्षका ७४ मध्ये नौ घडियाल रोगी छन् । कृतिम तरिकाले घडियालका बच्चा कोरल्ने प्रविधि विकास भएको छ । तर नेपालमा बालुवामा राखेर प्राकृतिक ढंगले अण्डा कोरल्ने गरिएको छ । अघिल्ला वर्षहरुमा अण्डाबाट ७० प्रतिशतभन्दा बढी बच्चा निस्कन्थे । अहिले ३० र ४० को हाराहारीमा झरेको छ ।
घडियाल सफा नदीमा बस्ने र माछामात्रै खाने जलचर हो । चितवन निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादव जुन ठाउँमा घडियाल रहन्छ, त्यो ठाउँमा प्रदुषणको असर छैन भन्ने थाहा हुन्छ भन्छन् । तर नदी प्रदुषण र अनियन्त्रित रुपमा माछा मार्दा आहारा कम भएर घडियाल घट्दै गएको छ । यो जलचर गैंडाभन्दा २० गुणा बढी लोप हुने खतरामा रहेको जीव हो ।
त्यसैले घडियालको संख्या बढाउन व्यवस्थित संरक्षण योजना अनुरूप ३५ वर्षअघि कसरामा प्रजनन् केन्द्र स्थापना भएको थियो । खड्काका अनुसार नेपालमा हालसम्म ८६१ वटा घडियाल विभिन्न नदी र खोलामा छाडिएको छ । तर गत वर्ष भएको गणनामा जम्मा १०२ वटामात्रै घडियाल फेला परेका थिए ।
‘घडियाल संरक्षण निकै चुनौती पूर्ण छ । तापक्रम वृद्धि र खडेरीले, अति वृष्टिले झनै संकट थप्यो’ खड्काले भने । हाल नेपाल र भारतमा मात्रै प्राकृतिक बासस्थलमा घडियाल पाउने गरिएको छ । विश्व संरक्षण संघले घडियाललाई अति संकटापन्न प्रजातिको सूचीमा राखेको छ ।
Discussion about this post