भरतपुर । नेपाल विद्यार्थी संघ चितवन साबिक क्षेत्र नम्बर ३ ले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष तथा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीराम तिवारीलाई ज्ञापनपत्र बुझाएको छ ।
कोरोना भाइरसको संक्रमणको यस समयमा भरतपुर महानगरको अगुवाइमा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा भएको भनिएको अनियमितताका विषयमा अस्पताल र महानगरले कुनै प्रक्रिया अघि नबढाएको भन्दै विरोध स्वरुप ज्ञापनपत्र बुझाएको हो ।
कार्यवहाक क्षेत्रीय सभापति बसन्त गैरे, नेविसंघ नेताहरु कल्पना पौडेल, सरोज रेग्मी परमेश्वर खनाल, सागर सुवेदी, ओमकार सापकोटालगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो । अस्पतालमा कार्यरत कर्मचारीहरु जो अनियमिततामा संलग्न छन् उनीहरुलाई निलम्बन गरी छानविनमा सहयोग गर्न नेविसंघले माग गरेको छ ।
ज्ञापनपत्र बुझदै अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले संकटको समयमा स्थापना गरिएको अस्पतालमा भएको लापरवाहीमा संलग्नलाई कारबाही गर्न भरतपुर अस्पताल तयार रहेको बताए । घटनाको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय चितवनले अनुसन्धान गरिरहेको भन्दै उनले अनुसन्धानको प्रतिवेदन पर्खन आग्रह गरेका थिए ।
यस्तै, भरतपुर महानगरपालिकामा भने ज्ञापनपत्रलाई महागरको भित्तामा टाँसिएको छ । महानगरपालिकामा ज्ञापनपत्र वुझाउन जाँदा महानगर प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी सम्पर्कमा नआएपछि ज्ञापनपत्र सचिवालयमा दर्ता गराई भित्तामा टाँसिएको गैरेले जानकारी दिए ।