खैरहनी । खैरहनी उद्योग वाणिज्य संघको अध्यक्षमा गुणराज श्रेष्ठ विजयी हुनु भएको छ । अध्यक्षका प्रत्यासी नवराज डल्लाकोटीलाई ११० मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो ।
मंगलबार राति सम्पन्न मत परिणामबाट कुल खसेको ४४२ मतमध्ये श्रेष्ठले २७५ मत प्राप्त गर्नुभएको थियो भने डल्लाकोटीले १६५ मतमात्र प्राप्त गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठलाई कांग्रेस र एमाले निकटका व्यवसायीको समर्थन रहेको थियो भने डल्लाकोटीलाई एमाओवादी र साना सात दल निकट व्यवसायीको समर्थन रहेको थियो ।
चुनावमा श्रेष्ठ प्यानलका अधिकांश सदस्यहरु निर्वाचित भएका छन् । संघको उद्योगतर्फ सदस्यहरुमा जगतबहादुर पाण्डेले २९२, कमलादेवी श्रेष्ठले २६१, चुणाबहादुर काकीले २५५, शिवहरि उप्रेतीले २५४, अशोक न्यौपानेले २४७, रामबाबु खरालले २०५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उद्योग तर्फ ६ जनाका लागि १२ जनाले उम्मेदवारी परेको थियो । त्यसैगरी वाणिज्यतर्फको सदस्यहरुमा रामचन्द्र डल्लाकोटीले २९१, चन्द्रप्रसाद सापकोटाले २८४, विनय सडौलाले २७८, शेषकुमारी सडौला ओलीले २७८, केदारनाथ बर्तौलाले २७७ कुमार खनालले २७६, जयराम ढकालले २६५, रामेश्वर बर्तौलाले २६४, बुद्विराज डल्लाकोटीले २२३ मत प्राप्त गरी विजयी भएका छन् ।
वाणिज्य तर्फको सदस्यमा ९ जनाका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो । एसोसियट सदस्यमा सीताराम डल्लाकोटी निर्विरोध निर्वाचित हुनुभएको थियो । खैरहनी उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष र सदस्य निर्वाचनबाट निर्वाचित भएर आउने र पछि निर्वाचित कार्यसमितिले सहमतिको आधारमा र सहमति जुट्न नसके समिति भित्रबाटै निर्वाचन गरी पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ । संघका पदाधिकारीमा प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष तथा महासचिव र कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।
Discussion about this post