भण्डारा । भण्डारामा रहेको शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुले वनमा ‘छपान कटान’ अर्थात् सढे, ढलेका काठ उपयोग गर्न नपाएकोले आफू मर्कामा परेको जनाएका छन् ।
विगत दुई वर्ष यता वनमा छपान कटानको काम नभएको उपभोक्ता समूहका अध्यक्ष केदारप्रसाद आचार्यले जानकारी दिनुभयो । सढे ढलेका काठ सामुदायिक वनले प्रयोग गर्न पहिला वन कार्यालयले ट्याग लगाउने अर्थात् छपान गर्ने काम गर्नुपर्दछ । तर , कार्यलयको बेवास्ताले छपान हुन नसकेकाले उपभोक्तालाई मर्का परेको अध्यक्ष आचार्यले बताउनुभयो ।
स्थानीय उपभोक्ताले समेत आवश्यक काठ प्राप्त गर्न नसक्दा तस्करहरुले काठ चोरी गरी महँगो मूल्यमा व्यापार गर्ने गुनासो समेत आउन थालेको वन समूहले जनाएको छ ।
सामुदायिक वनले प्रतिक्यूफिट १२ सयमा उपभोक्तालाई उपलब्ध गराउने गरेकोमा चोरीको काठ ४ हजार रूपैयाँ सम्म कालोबजारी भएको गुनासो आएको अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले कटान छपानको कार्य वनमा यथाशीघ्र सुरू गराउने वातावरण मिलाउन जिल्ला वनसँग आग्रह गर्नुभयो । सामुदायिक वनले एक बर्षमा सढे ढलेका ३ हजार ४१ क्यूफिट साल र २ हजार ३ सय क्यूफिट कूकाठ उपभोक्तालाई वितरण गर्न सक्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।
यद्यपी उपभोक्ताले काठ तस्करी नियन्त्रण गर्न आकस्मिक अनुगमन गर्ने गरेका छन् । एक वर्षको अवधिमा ७० क्यूफिट काठ बरामद गरी चोरी कार्यमा संलग्नलाई जिल्ला वनमा कारबाहीका लागि समेत बुझाइएको वन समूहका कार्यालय सचिव बद्रीप्रसाद खरेलले जानकारी दिनुभयो ।
सडे ढलेका काठ काट्ने अनुमति पाउनमा ढिलाइ हुँदा उपभोक्तालाई मर्का मात्र नभई तस्करको कालोबजारमा बढवा भएको भण्डारा–८ निवासी स्थानीय उपभोक्ता कृष्णबहादुर घिमिरेले बताउनुभयो ।
‘हामीलाई अत्यन्त समस्या परेको छ, काठ दाउराको उपयोग गर्न पाइएन, तस्करहरुको व्यापार मौलायो’ घिमिरेको गुनासो छ । वनमा बढेको चोरी र अतिक्रमणले समुदायमा प्रत्यक्ष मार परेको छ । वनमै रहेको कुसुम खोलाको मुहान सुक्दा स्थानीयलाई खानेपानीको समेत समस्या परको उपभोक्ता ठाकुर तामाङ बताउनुहुन्छ ।
बेलुका एकछिन आउने पानीले गाउँ धानिनु पर्ने भएको छ । चोरी नियन्त्रण गर्न र अतिक्रमणबाट जोगाउन वन समूहले कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । वनको आकस्मिक अनुगमन र ४ हजार वृक्षरोपण गरिएको वन समूहका अध्यक्ष केदारप्रसाद आचार्यले जानकारी गराउनुभयो ।
भण्डाराको ७ , ८ , ९ कोराकको ७ र पिप्लेको ९ को गरी ४९३ हेक्टर जमिन सो वन क्ष्ँेत्रमा रहेको छ । स्थानिय १ हजार ३ सय घरधुरी उपभोक्ता रहेको वन समुहले जनाएको छ ।
Discussion about this post