–बसन्त पराजुली
भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको आँपटारी र रामनगरको वनक्षेत्रमा जथाभावी होडिङबोर्ड राखिए पनि त्यो हटाउनेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । राजमार्ग क्षेत्रमा रहेका होडिङबोर्डले सडकमा ओहोरदोहोर गर्ने वन्यजन्तुलाई प्रभाव पारेको भन्दै पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलबाट त्यस्ता होडिङबोर्ड हटाइए पनि आँपटारी र रामनगरमा भने ध्यान नपुगेको हो ।
‘सडकको छेउछाउमा राखिएका होडिङबोर्डले चालकको ध्यान खिचेपछि दुर्घटना हुने सम्भावना बढी हुन्छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी नायव निरीक्षक रामचन्द्र घिमिरेले भने, ‘टिकौलीमा जसरी नै आँपटारी र रामनगरका होडिङबोर्ड हटाउन जरुरी छ ।’
चोक र घुमाउरो बाटोमा होडिङबोर्ड राख्नाले दुर्घटनाको सम्भावना बढी हुने उनको तर्क छ । ‘ठूला ठूला होडिङबोर्डले त रातिमा गाडीको प्रकाशसमेत छेकिन पुग्छ’, दुर्घटनाको जोखिम औँल्याउँदै उनले भने, ‘वन जङ्गलभित्रको दुर्घटनामा बढी वन्यजन्तुलाई असर पर्ने गरेको छ ।’ आँपटारीबाट रामनगरहुँदै जुगेडीसम्मको वन क्षेत्र दुर्घटनाका दृष्टिले पनि जोखिम क्षेत्र रहेकाले त्यो वरपर रहेका होडिङबोर्डहरु त¤काल हटाउनुपर्ने उनको माग छ ।
टिकौलीमा एक हप्ता अघिमात्रै होडिङबोर्ड हटाइएको हो । होडिङबोर्डले वन्यजन्तु ओहोरदोहोरमा प्रभाव परेका, सडकमा रहेका जनावरलाई समेत सवारी साधनले ठक्कर दिने क्रम बढेको भन्दै होडिङबोर्डहरु हटाइएको हो । एक महिना यतामात्रै टिकौली वन क्षेत्रमा चारवटा मृगलाई गाडीको ठक्करबाट मृत्यु भएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालय चितवनले पत्र नै लेखेर र सार्वजनिक सूचना जारी गर्दा पनि होडिङबोर्ड नहटाइएपछि भरतपुर नगरपालिका, डिभिजन सडक कार्यालय, चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयको संयुक्त पहलमा सो क्षेत्रका होडिङबोर्डहरु हटाइएको थियो ।
‘टिकौली जस्तै रामनगर र आँपटारी वन पनि जोखिम क्षेत्र हो’, चितवनका जिल्ला वन अधिकृत गणेश झाले भने, ‘अव सबैको पहल रामनगर र आँपटारीको वन क्षेत्रभित्रका होडिङबोर्ड हटाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’
टिकौली र आँपटारी तथा रामनगरको वन क्षेत्र बरण्डाभार वन क्षेत्रकै भाग हुन् । चितवन राष्ट्रिय निकुञ्ज र महाभारत पर्वत श्रृंखला बीचमा वन्यजन्तुको करिडोर (आवतजावत गर्ने बाटो)का रुपमा बरण्डाभार वन क्षेत्रलाई लिइन्छ । झण्डै २४ हजार हेक्टर वन क्षेत्र ओगटेको यो वनमा बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तुहरु रहेका छन् । यो वन क्षेत्रमा ६८ प्रजातिका स्तनधारी जनावरहरु रहेका छन् । जुन राजमार्ग क्षेत्र हँुदै ओहोरदोहोर गरिरहेका हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवर चालकको लापरबाहीका कारण सडकमा रहेका वन्यजन्तुमाथि सवारी साधनले ठक्कर दिइरहेको बताउँछन् ।
‘वन क्षेत्रमा अलिकति सावधानी अपनाउन जरुरी छ । जनावरहरु ओहोरदोहोर गरिरहेका छन् भन्ने कुरा चालकले बुझ्न जरुरी छ’, कुँवरले भने । उनले वन क्षेत्रमा होडिङबोर्ड राख्न नै निषेध गर्नुपर्ने तर्क गरे ।
नगरपालिका क्षेत्रभित्र होडिङबोर्ड राख्दा सम्बन्धित नगरपालिकाको स्वीकृति लिनुपर्ने व्यवस्था छ । राजमार्ग वरपर राखिएका यस्ता होडिङबोर्डले पनि नगरपालिकाको स्वीकृति लिएका देखिन्छन् । वन क्षेत्रमा जथाभावी होडिङबोड राखिँदा त्यसले वन्यजन्तुलाई असर गर्छ भन्नेतर्फ नगरपालिकाको समेत ध्यान नपुगेको देखिन्छ ।
‘हामीले शुल्क लिएर होडिङबोर्ड राख्न स्वीकृति दिएका हाँै’, भरतपुर नगरपालिकाका करअधिकृत लीलाराज खरेलले भने, ‘यदि शुल्क नतिरेका होडिङबोर्ड रहेछन् भने हटाइन्छ ।’ आँपटारी र रामनगरको वन क्षेत्रभित्रका होडिङबोर्ड हटाउने सम्बन्धमा कुनै योजना नरहेको पनि उनले जनाए । ट्राफिक प्रहरी नायव निरीक्षक रामचन्द्र घिमिरे भन्छन्, ‘राजमार्गका होडिङबोर्ड जनावरसँगै यात्रु र बटुवाहरुका लागि समेत ज्यानमारा बन्दै छ । यदि सम्भाव्य दुर्घटना हुनबाट रोक्ने हो भने सडक छेउका होडिङबोर्ड हटाउनुपर्छ ।’
Discussion about this post