–दिपेन्द्र अधिकारी
कुमरोज । घाँसदाउराका लागि निकुञ्ज गएको बखत मध्यवर्ती आसपासका कतिपयले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउनुप¥यो । कतिपय जनावरको आक्रमणबाटै अङ्गभङ्ग भएका छन् । जङ्गलमा मानिसको चाप बढेसँगै जंगली जनावरसँगै द्वन्द्व बढेको बढ्यै छ ।
तर, निकुञ्जसँगैको चितवनको कुमरोज गाविसका स्थानीय भने गाउँमा गोवरग्यास प्लान्ट बनेपछि जङ्गल धाउन छाडेका छन् । जसले गर्दा एकातिर मासिँदै गएको वन जोगिएको छ भने अर्कोतर्फ जनावरबाट हुने मानिसमाथिको आक्रमण पनि घटेको छ । धुँवारहित वातावरणमा खाना पकाउन थालेपछि मानवीय स्वास्थ्यमा कम नोक्सान पुगेको छ भने भान्सामा हुने हिंसा पनि घटेको छ ।
‘जुन दिनदेखि गोवरग्यासमा खाना पकाउन थालियो, त्यस दिनदेखि छोरी बुहारीले सुख पाएका छन् । अव जङ्गल हरियाली बनाउन पाए हुन्थ्यो, हाम्रो गाउँमा पनि पर्यटन ल्याउन पाए हुन्थ्यो भन्ने लाग्छ’, स्थानीय रुपकुमारी गुरुङले भनिन् । अठार बच्चा जन्माएर दाउरामै पकाएर खुवाएँ । दाउरा खोज्दा–खोज्दै बच्चा जन्मे ।
जङ्गल जाँदा नातिनीलाई बाघले खायो । अर्को नातिनी बाघले घरबाटै लिएर गयो । बँदेल, गैँडा, चित्तल, जङ्गली हात्ती, बाघ आउँथ्यो,’ कुमरोजका रुपकुमारीजस्ता धेरै महिलाहरुको सुखको दिन सुरु भएको छ । जसको एउटै कारण हो घरघरमा गोवरग्यास प्लान्ट ।
अहिले कुमरोजका महिलालाई घाँस–दाउरा गर्न निकुञ्जमा जान पर्दैन । समयको बचत भएको छ । धुवाँबाट हुने स्वास्थ्य समस्याबाट मुक्ति मिलेको छ । यस गाविसमा १७ सय ५० घरधुरी छन् । बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुषालले केहीले सामुदायिक वनमा गएर घाँस ल्याउने गरेको र केहीले भने आफ्नै जग्गामा घाँस लगाएर समस्या टार्ने गरेको बताए ।
सौराहाबाट हात्तीमा कुमरोज घुमाउन ल्याउँछन् । तर हामी पछाडि छौँ, यस गाविसमा पर्यटकीय स्थल बनाउन लागिपरेको बताउँदै उनले अर्को वर्षमा होमस्टे सुरु गर्ने बताए ।’ यसका लागि गाउँका दराई महिला लागिपरेका छन् । होमस्टेका लागि ७ लाख ६० हजार जम्मा भइसकेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर चिरञ्जीवी पोख्रेल बायोग्यासको अवधारणा वनजङ्गलको संरक्षण गर्नका लागि आएको बताउँछन् । उनी भन्छन्– ‘निकुञ्जमा घाँस दाउराका लागि जाने मानिसहरुको चाप घटाउन यस्तो अवधारणा आएको हो ।’ यूएसएआइडी डब्लूडब्लूएफ, राष्ट्रिय प्रकृति संरक्षण कोष सामुदायिक वन उपभोक्ता समिति मिलेर गोवरग्यास निर्माण थालिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापा वन मास्नेभन्दा पनि वृक्षरोपण गरेर वन जोगाउने अभियानमा स्थानीय लागिपरेको बताउँछन् ।
कुमरोज गाविसलाई नमुना वायोग्यासको रुपमा अघि बढाइएपछि निकुञ्जमा मानिसहरुको चाप घटेको थापाले बताए । साथै उनले जङ्गली जनावर र स्थानीय बीचको द्वन्द्व पनि कम भएको बताए । निकुञ्जमा बढ्दो चोरी शिकारी पनि कम भएको थापाले बताए । ‘गोवरग्यासका लागि बस्तुभाउ पाल्नुपर्ने हुँदा घाँसका लागि जङ्गल जाने हुन्छन् । धेरै गाईबस्तु पाल्नु पर्दैन । उन्नत जातको २ वटा भए हुन्छ,’ थापाले भने ।
‘निकुञ्जमा घाँस दाउरा चोर्न जानुपथ्र्यो, कति पटक मान्छे पक्राऊ गरेर लान्थे, हसिया, नाम्लो सबै निकुञ्जका सेनाले लान्थे, स्थानीय रमिता चौधरीले भनिन् ।
श्रीमान जागिरे भएपछि स्थानीय स्वस्थानी कार्कीलाई हरेक बिहान खाना बनाउन हतार हुन्थ्यो । अहिले सजिलै र समयमै खाना तयार हुने गरेको उनको अनुभव छ । गोवरग्यास निर्माण कम्पनीकी सरस्वती खनाल गोवरग्यास बनाउने खाल्टो पहारिलो, घरको नजिकै र उचो भाग हुनुपर्ने सुझाव दिन्छिन् । एलपी ग्यासको तुलनामा जोखिम छैन । ‘ग्यास लिग भए खाना पकाउन पाइँदैन, खनालले भनिन्, ‘गोबरग्यासमा पड्किने खतरा पनि हँुदैन ।’
कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिरा गुरुङ गोवरग्यासले धेरै फाइदा पुगेको बताउँछिन् । सुझारिएको कम्पोष्ट मल तयार भएको, बालीनालीको उत्पादनमा सुधार आएकोे, चर्पी पनि जोडेकाले खुला दिसामुक्त क्षेत्र भएको अध्यक्ष गुरुङको भनाइ छ । गाविस सचिव राजेन्द्र मैनाली जनताले राहत महसुस गरेको बताउँछन् ।
गोवरग्यास निर्माण कम्पनी भरतपुरका प्रकाशचन्द्र श्रेष्ठ परिवारको संख्याभन्दा गाईबस्तुको संख्या हेरेर गोवरग्यास बनाउँदा सजिलो हुने बताउँछन् । उनका अनुसार एक व्यक्तिलाई एक घनमिटर चाहिन्छ भने ६ जनाको परिवारमा ६ घनमिटरको वायोग्यास चाहिन्छ ।
Discussion about this post