सौराहा । माइकेनिया, वनमारा, जलकुम्भीजस्ता मिचाहा प्रजातिका झारले नेपालको संरक्षित र वन क्षेत्रमध्ये चितवन निकुञ्ज सवैभन्दा बढी प्रभावित भएको छ । कुल ९३२ वर्ग किलो मिटर क्षेत्रफल रहेको निकुञ्ज क्षेत्रमा माइकेनिया जताततै फैलिएको छ भने ताल र सिमसार जलकुम्भीले ढाकेको छ ।
माइकेनिया चाँडो फैलने गर्छ । सन् १९९८ मा पहिलो पटक चितवन निकुञ्जको पश्चिम क्षेत्र टाइगर टप्स होटलनजिक यो झार देखा परेको सो झारका बारेमा अध्ययन गरेका राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत नरेश सुवेदी बताउँछन् । अहिले निकुञ्जको १० प्रतिशतभन्दा बढी क्षेत्र यो झारले ढाकेको छ ।
माइकेनियालगायतका मिचाहा झारहरु देशैभर फैलिए पनि चितवन निकुञ्ज यस्ता झारको सबैभन्दा बढी चपेटामा परेको सुवेदी बताउँछन् । देश विदेशबाट धेरै आइजाइ हुने भएकाले झारको प्रकोप पनि यो निकुञ्जमा बढेको उनको निचोड छ । माइकेनिया ब्राजिललगायतका देशमा पाइने बनस्पती हो ।
त्यहाँ हाम्रोमा पाइने दुवो सिरूजस्तै सामान्य खालको झार मानिने माइकेनिया अन्यत्र भने मिचाहाको रूप लिएको छ । ब्राजिललगायतका देशहरुमा एक प्रकारको ढुसीले माइकेनियाको अनियन्त्रित वृद्धिलाई रोक्ने गरेको सुवेदीले बताए । जुन ढुसी अन्यत्र नपाइने भएकाले यो निकै रफ्तारमा फैलने गरेको छ ।
मिचाहा प्रजाति भित्रनै नदिन सजग हुनुपर्ने विज्ञहरु बताउँछन् । अध्ययता नरेश सुवेदी भन्छन् ‘अष्ट्रेलियामा क्वारेन्टाइन निकै कडा छ । जसका कारण २५ हजार प्रजातिका मिचाहा जीव र वनस्पति त्यो देश भित्रिनबाट रोकिएको पाइएको छ ।’ भित्रिएका प्रजातिहरु नियन्त्रणमा पनि व्यवस्थित रणनीति बन्न आवश्यक भएको उनले सुझाव दिए ।
मिचाहा झारले निकुञ्जको घाँसे मैदान ढाकेको छ । जुन घाँस गैंडा लगायतका दुर्लभ वन्यजन्तु मुख्य आहार हो, त्यो माइकेनियाले ढाकेपछि जनावरको वृद्धि रोकिने सुवेदी बताउँछन् । माइकेनियाको फैलावट नरोकिए चितवन निकुञ्जमा चार सयभन्दा धेरै गैंडा बस्न अफ्ठ्यारो हुने उनले बताए । निकुञ्जमा अहिले ५०३ गैंडा छन् ।
मिचाहा झारका कारण मृग हरिणको आहारामा पनि असर परेको छ । मृग हरिणमा असर पर्दा बाघ, चितुवाजस्ता जनावरहरुलाई समस्या पर्ने कोषको सौराहा कार्यालयका प्रमुख चिरिञ्जीवीप्रसाद पोखरेलले बताए । माइकेनियाले जनजीवनमा पार्ने असर पनि नोक्सानदायिक नै रहेको अध्ययनकर्ताहरुको निचोड छ ।
माइकेनियाजस्ता मिचाहा झार र जीवले चितवन र नेपालमात्रै होइन विश्वलाई नै सताएको छ । मिचाहा प्रजातिहरुका बारेमा ३० वर्षदेखि अध्ययन गर्दै आएका बेलायती नागरिक सन मर्फी मिचाहा प्रजातिका कारण विश्वव्यापी रूपमा कुल ग्राह्यस्त उत्पादनको पाँच प्रतिशत नोक्सान हुने गरेको जानकारी दिए ।
नेपालमा जीव र बनस्पती गरेर २०० मिचाहा प्रजातिहरु फैलिएका छन् । वन क्षेत्रमा फैलिएको माइकेनिया, कालो र सेतो वनमारा, कृषि जमिनमा गन्धे झार र जलासयहरुमा जलकुम्भी तथा जीवहरुमा ठूलो शंखेकीरा र नाइल टिलापिया माछा यहाँको मुख्य मिचाहा प्रजाति हुन् । जसले उपयोगी र रैथाने बिरूवा तथा जीवलाई फैलनबाट रोकेको छ ।
Discussion about this post