पश्चिम चितवनका दुई गाविसलाई हिंसामुक्त गाविस घोषणा गर्ने तयारी भइरहेको छ । गाविसको पहल, राजनीतिक दलको सक्रियता र विभिन्न संस्था एवम् जिल्ला विकास समितिको सहयोगमा हिंसामुक्त गाविस बनाउन कार्ययोजना बन्न लागेको छ । दिव्यनगर र जगतपुरलाई हिंसामुक्त गाविस घोषणाका लागि केयर नेपालको सहयोगमा कालिका महिला समूहले सञ्चालन गरेको रुपान्तरणका लागि महिला सशक्तीकरण कार्यक्रमले सहजीकरण गरिरहेको छ । हिंसामुक्त गाविस घोषणाका लागि मापदण्डसमेत पूरा गरिएको छ । घरेलु हिंसा बढी मादक पदार्थको सेवनबाट हुने निष्कर्ष निकाल्दै मादक पदार्थ सेवन गर्नेलाई दिव्यनगर गाविसमा पाँच सय रूपैयाँ जरिवाना लिने कार्य सुरूवात भइसकेको छ । जसका लागि गाविस तहमा पुरूषहरु सम्मिलित सहयोग समितिहरु निर्माण गरिएका छन् । लैंगिक समानताले मात्रै घरमा शान्ति ल्याउँछ भन्ने उद्देश्यले महिला–पुरूष समान हुने वातावरण सिर्जना गरी हिंसामुक्त गाविस घोषणाको अभियान सुरू गरिएको हो ।
हिंसामुक्त गाविस घोषणाका लागि अहिले लैंगिक समानता कायम गराउन गाविसमा विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । मनोसामाजिक समस्याले समाजमा हिंसा बढेकाले त्यस्ता समस्या समाधानका लागि पहल गरिएका छन् । मनोसामाजिक समस्यामा परेका मानिसलाई स्वास्थ्य संस्थामा ल्याउने र काउन्सिल गरेर उपचार गर्ने कार्यअन्तर्गत ७० जनाको उपचार भइसकेको छ । घरमा शान्ति भएमात्र समाजमा शान्ति स्थापना हुनसक्छ भन्ने मान्यताले घरघरबाट मनोसामाजिक समस्यामा परेका मानिसको खोजी गर्ने कामसमेत सुरू भइसकेको छ । यसबाट हिंसाको जड पत्ता लगाउन पनि थप सहयोग मिल्ने देखिएको छ । यो अभियानले घरघरमा समानताको वातावरण सिर्जना गरी समाजमा आमूल परिवर्तन ल्याउने विश्वास लिइएको छ ।
चितवनमा साढे दुई वर्षअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको छ । त्यसैलाई निरन्तरता दिँदै सरसफाइको दृष्टिले पनि नमुना जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । चितवनलाई साक्षर जिल्ला बनाउन विभिन्न गाविस तथा वडाहरुमा अभियान थालनी भइरहेको छ । साक्षर चितवन घोषणाकै सन्दर्भमा हिंसामुक्त क्षेत्र घोषणाको तयारी अघि बढेको हो । यस्तो सकारात्मक सोच पूरा गर्न प्रथमतः स्थानीयको भूमिका र राजनीतिक दलहरुको इच्छाशक्ति चाहिन्छ । केयर नेपालले परीक्षणका रुपमा चितवनका दुईसहित मकवानपुरको हर्नामाडी र कपिलवस्तुको गोटीहवा गाविसलाई पनि हिंसामुक्त गाविस बनाउने तयारी गरिरहेको छ । यसबाट महिला हिंसा न्यूनीकरण गर्न ठूलो मद्दत पु¥याउने छ । दिव्यनगर र जगतपुर गाविसमा लैंगिक समानता कायम हुन सक्यो भने त्यसले ३६ वटै गाविस र दुई नगरपालिकामा समेत सकारात्मक प्रभाव पार्नेछ, जसबाट हिंसामुक्त जिल्लाको परिकल्पनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post