डा. टीकाराम पोखरेल
पछिल्लो समय बाबुराम भट्टराईबाट आएको ‘नयाँ शक्तिको खाँचो’ भन्ने विचारले राजनीतिक बजार तताएको छ । उनको विचारमाथि टीका–टिप्पणी भनौँ वा उपलेखन भनौँ, आउने क्रम जारी छ । नाम कहलिएका लेखकको कोलमदेखि सर्वसाधारणले लेख्ने पाठकपत्रसम्ममा नयाँ शक्तिको खाँचोमाथि टिप्पणी भैरहेका छन् । पक्ष र विपक्ष दुवैमा ताली र गाली बर्सिरहेका छन् । विचारप्रधान उनको लेखले स्वयम् भट्टराईको पार्टी एमाओवादीभित्र मात्र भूकम्प गएको होइन, काङ्ग्रेस–एमालेलगायतका अन्य पार्टीका युवानेताहरुबीच पनि बहसको विषय बनिरहेको छ । जताततैबाट तर्कका पर्राहरु ओइरिरहेका छन् ।
हाम्रो देश केही समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ । देश अस्थिरताको दलदलमा भासिएको, राजनीतिक दलहरु अन्यौलमा रूमल्लिइरहेको र स्वयम् भट्टराईको पार्टी चुनावमा खुम्चिएको बेला आएको भट्टराईको यो विचारले राजनीतिक वृत्तमा चर्चा पाउनु स्वाभाविकै हो । त्यसो त, नयाँ शक्तिको आवश्यकतासम्बन्धी विचार पहिले पनि यदाकदा सुन्नमा आउँथे, तर ती विचारकहरु भट्टराईभन्दा अलि कनिष्ठ व्यक्तिहरु भएका हुनाले पनि तिनका विचारहरु त्यति चर्चाको विषय बनेनन् । यतिबेला भने देशको पूर्वप्रधानमन्त्री र एउटा शक्तिशाली पार्टीको उपाध्यक्ष मात्र नभएर लामो समयदेखि एउटा वैचारिक राजनीतिको बहस गर्दै सोही वैचारिक धरातलमा टेकेर दस वर्षे सशस्त्र द्वन्द्वमा नेतृत्वदायी भूमिका खेलेको नेताले नै नयाँ शक्तिको आवश्यकता ठानेकाले यो विषय बढी चर्चित बनेको हो । अरुले राखेका नयाँ शक्तिका विचार त्यति चर्चामा नआउनु, तर भट्टराईका विचारले सनसनी मच्चाउनुले हामीकहाँ विचारको भन्दा पनि व्यक्तिको बढी चर्चा हुँदोरहेछ भन्ने यो एउटा उदाहरण पनि हो ।
वर्तमान सन्दर्भमा नेपालमा नयाँ शक्तिको खाँचो छ त ? यो प्रश्नमाथि दुई कोणबाट बहस गर्न सकिन्छ । पहिलो, विद्यमान शक्तिहरु असफल भैनसकेकाले नयाँ शक्तिको खोजीको औचित्य छैन । दोस्रो, नयाँ शक्तिको आवश्यकता निरन्तर प्रक्रिया हो, यो जुनबेला पनि उदय हुन सक्तछ । विद्यमान शक्तिहरु असफल भएका हुन् कि होइनन् भन्ने पहिलो प्रश्नको बहस निकै लामो हुन्छ । अब रह्यो दोस्रो प्रश्न, जुनसुकै समय पनि नयाँ शक्तिको अपरिहार्यता निरन्तर रहिरहन्छ भन्ने विषय । संसार परिवर्तनशील भएकाले कुनै पनि शक्ति सधैँ स्थायी हुँदैन । त्यसैले, परिवर्तनको नेतृत्व गर्नका लागि समाज वा राष्ट्रले कुनै युग र कालखण्डमा मात्र होइन– वर्ष, महिना, दिन, घन्टा र सेकेन्ड–सेकेन्डमा समेत नयाँ शक्तिको अपेक्षा गरिरहन्छ । यसैले, नयाँ शक्तिको खाँचो छ÷छैन भन्ने कुरा बहस गरिरहनु पर्ने विषय नै होइन । बहस त यतिमा हुनुपर्ने हो कि त्यो नयाँ शक्ति कस्तो हुनुपर्दछ ?
त्यसो भए नयाँ शक्ति कस्तो हुनुपर्दछ त ? केही विद्वान्हरु भन्दा रहेछन्– ‘सिद्धान्तबिनाको राजनीति भनेको राजनीति नै होइन । त्यसैले, नयाँ विचार र सिद्धान्तसहितको नयाँ शक्ति जन्मनुपर्दछ ।’ सिद्धान्तसहितको शक्ति भन्ने विद्वान्हरुको कुरा सुन्दा मीठै लाग्दछ । तर, देश नबनाउने राजनीतिक सिद्धान्त के काम ? त्यसैले, बरू त्यो अराजनीतिक शक्ति नै किन नहोस्, केही छैन तर देश बनाउने शक्ति चाहिन्छ । यथार्थ यही हो कि देश बनाउन नीति, नियम र नेतृत्व सबल चाहिन्छ, न कि राजनीतिक दर्शन र सिद्धान्त ।
विश्वका जति पनि मुलुक प्रगतिको शिखरमा पुगेका छन्, ती राजनीतिक सिद्धान्तले होइन– नीति, नियम र नेतृत्वका कारण पुगेका छन् । विश्वको विकासको इतिहास हेर्ने हो भने जुनसुकै राजनीतिक सिद्धान्तमा टेकेर पनि मुलुक समृद्ध बनेका छन् र बिगे्रका पनि छन् । साम्यवादी चीन आर्थिक दृष्टिले त्यति माथि पुगिसक्यो, तर चीनजस्तै साम्यवादी मुलुक उत्तर कोरियाको हालत बेहाल छ । युरोप र अमेरिकाका प्रजातान्त्रिक मुलुकहरु धेरै माथि पुगिसके, तर त्यस्तै प्रजातान्त्रिक पद्धति अँगालेका एसियाली मुलुकहरुको हालत पतला छ । त्यसैले, सिद्धान्त र विचारभन्दा नीति, नेतृत्व र पौरख ठूलो हो भन्ने प्रस्ट हुन्छ ।
अबको नेतृत्व विचारको भन्दा पनि विवेकको हुनु जरूरी छ । नेतृत्वले आफूमा मेहनत, परिश्रम, लगनशीलता, पारदर्शिता, जवाफदेहिताजस्ता गुणको विकास गर्नु आवश्यक छ । यस्तो गुण भएको नेतृत्व नै नयाँ शक्तिको रुपमा उदाउन सक्तछ । यहाँ शब्दजालका तानाबाना बुनेर नेपाली जनताको आँखामा छारो हाल्ने नयाँ शक्ति कसैले पनि खोजेको छैन । खोजेको छ त जनताको दुःख–सुखमा सँगै बस्ने, सँगै हाँस्ने, सँगै रूने शक्ति खोजेको छ । देशलाई सधैँ प्रयोगशाला नै बनाउने अर्को कुनै गोलमाले सिद्धान्त बोकेको नेतृत्व अबको आवश्यकता होइन । अरु देश कसरी माथि उठे, त्यसबाट पाठ सिकेर आफ्नै पौरख र बुताले आफ्नो देश बनाउने नेतृत्वको अब आवश्यकता छ ।
अबको नयाँ नेपाल बनाउन कुनै कार्लमाक्र्स वा लेलिनहरुले सक्दैनन्, न त कुनै नवगान्धी र नवबुद्धहरु नै यसका लागि कामयाब हुन सक्लान् । सम्पत्तिको नाममा तीनवटा मोबाइल सेटमात्र भएका त्यागको नमुना भनिएका सुशील कोइराला पनि नयाँ नेपालका सारथि हुन सक्तैनन्, न त तिनले कुनै नयाँ शक्तिको नेतृत्व नै गर्न सक्लान् । कोइराला त्यागी हुन्, उनको त्याग सम्मानयोग्य पनि छ । तर, उनको साधु र त्यागी व्यक्तित्वलाई देशको कार्यकारी पद बोकाको मुखमा कुभिन्डो हुने निश्चित छ । प्रधानमन्त्री पद त्यागी र साधुहरुलाई दिइने पुरस्कार होइन, राष्ट्र बनाउने दूरदृष्टि भएका शक्तिशालीहरुले सम्हाल्ने पद हो ।
अब टालटुले नेतृत्वले देश बन्दैन, त्यसैले एउटा शक्तिशाली नेतृत्व यो देशमा उदाउनैपर्छ । चाहे त्यसलाई नेतृत्व नाम दिइयोस् वा शक्तिको नामले पुकारियोस् । अब उदाउने नयाँ शक्ति हिटलरजस्तो राष्ट्रवादी होस्, तर त्यो हिटलरझैँ नश्लवादी र तानाशाह नबनोस् । नयाँ शासक जङ्गबहादुरजस्तो शक्तिशाली होस्, तर उसले निरङ्कुशता नलादोस् । त्यो नेतृत्व अरविन्द केजरीवालजस्तो जनपक्षीय होस्, तर उसले कार्यकारी पदमा पुगेर पनि निरीह भएर आफँै सडकमा अनशन गर्नेजस्तो लुते काम गरेर दुनियाँ नहँसाओस् ।
बहस पनि अब सिद्धान्तको होइन, व्यवहारको हुनु आवश्यक छ । नेताका सिद्धान्तका बहस जनता जान्दैनन्, बुझ्दैनन् र रूचि पनि राख्दैनन् । जनताको ध्यान नेताको सिद्धान्तको बहसमा होइन– आफ्नो गाँस, बास र कपासमा छ । खाना, नाना र छानाको न्यूनतम आवश्यकता पूरा भएपछि अनि जनताको ध्यान राष्ट्र र राष्ट्रियताप्रति हुन्छ । तर, कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषय जनताको सरोकारको विषय होइन । त्यसमा दलका कार्यकर्ताबाहेक सर्वसाधारण जनतालाई त्यति रूचि पनि छैन । जनता राजनीतिक निरपेक्ष छन् भने चुनावमा जनताले कसरी भोट हाले त भन्ने प्रश्न नेताहरुले गर्लान् । जनता नेताजस्तो गैरजिम्मेवार छैनन्, दलहरुको क्रियाकलाप जतिसुकै चित्त नबुझे पनि जनताले आफ्नो कर्तव्य पूरा गर्छन् भन्ने प्रमाणित गर्न जनताले चुनावमा भाग लिएका हुन्, न कि कुनै अमूक पार्टीलाई सत्ताको भ¥याङ चढाउन ।
त्यसैले, नयाँ शक्ति जन्माउनुस् विद्वान् महोदयहरु ! यो समयको निरन्तर माग हो । तर, त्यो शक्ति कुनै सिद्धान्त र वादको पूजारी भएर होइन, कुनै सहकर्मीसँग बदला लिन वा चुनौती दिन पनि होइन, जनताको गाँस, बास र कपासको ग्यारेन्टी गर्न जन्माउनुस् । आमजनताको मानवअधिकारको प्रत्याभूतिका लागि नयाँ शक्ति बनाउनुुस् । देशको विकासका लागि नयाँ शक्ति सञ्चय गर्नुस् । अथवा यसरी बुझ्नुस्, तपाईं जनताको गाँस, बास, कपास र मानवअधिकारको प्रत्याभूतिका लागि काम गर्नुस्, देशलाई विकासको सगरमाथा चढाउनुस्, तपाईं आफूले नचाहे पनि नयाँ शक्ति हुनुहुने छ । अन्यथा, आजको आधुनिक राजनीतिमा इतिहासका दर्शन र सिद्धान्तको विभिन्न कोणबाट व्याख्या, विश्लेषण गर्दैमा कोही पनि नयाँ शक्ति हुन सक्तैन ।
Discussion about this post